हिपमत डटकम

मंगलबार, बैशाख ०६, २०७९ || 527  पटक पढिएको
गोमा नेपाल

कम्युनिस्टहरूले, त्यसमाथि पनि नेकपा एमालेले गत आमनिर्वाचनमा पाएको जनम्यान्डेट चरम दुरुपयोग गरेका कारण अब पालो नेपाली कांग्रेसको हो । नेपाली कांग्रेसले अवलम्वन गर्ने रणनीतिले मुलुकको राजनीतिमा यतिबेला ज्यादै ठूलो अर्थ राख्छ । जनताको निराशालाई कसरी आशामा बदल्ने ? भन्ने प्रश्नको उत्तर दिने हैसियत यतिबेला नेपाली कांग्रेसले मात्रै राख्न सक्छ । यतिबेला नेपाली कांग्रेस ‘जागरण, एकता, उत्साह र रूपान्तरण’ को नारासहित चुनावी मैदानमा छ ।

नेपाली कांग्रेसको मुख्य सामथ्र्य भनेकै आन्तरिक एकता हो । जुनबेला नेपाली कांग्रेसमा आन्तरिक एकता बलियो भएको छ, त्यो बेला नेपाली कांग्रेसले चुनाव हार्नु परेको छैन । चुनावी तालमेल कांग्रेसको दोस्रो सामथ्र्य हो । आन्तरिक एकताविना चुनावी तालमेल गर्नुको कुनै अर्थ छैन, झन् प्रत्युत्पादक हुन्छ । भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको जस्तो ।

आन्तरिक एकता बलियो बनाउनका लागि पहिलो सर्त हो, उम्मेदवार चयनमा बेइमानी हुँदैन भन्ने विश्वास पार्टी पंक्तिलाई दिलाउनु । भर्खर महाधिवेशन सम्पन्न भएका कारण आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न मनमुटावको धङधङी केही न केही बाँकी छ । त्यसैले उम्मेदवार चयन गर्दा मेरिटलाई भन्दा गुटलाई र चन्दा–फन्दाको मामिलालाई प्राथमिकता दिइएको महसुस कार्यकर्ता तथा मतदाताले गरे भने, जतिसुकै बलियो पार्टीसँग तालमेल गरे पनि कांग्रेसको उम्मेदवारले चुनाव जित्दैन । यदि मेरिटलाई आधार बनाइयो भने अवाञ्छित रूपमा महत्वकांक्षा राख्नेहरू आफैँ चाउरी पर्छन् । केवल टिकट दिएर पनि भएन । कस्ताले टिकट पाए त्यो महत्वपूर्ण छ । जसले टिकट पाए उनीहरू कसरी चुनाव जित्न खोज्दैछन् त्यो पनि त्यत्तिकै विचारणीय छ । केही यस्ता पनि टिकटका अपेक्षा राख्नेहरू छन् जो घुक्र्याउँदै हिँड्छन्, मैले टिकट पाइनँ भने म पार्टीलाई हराइदिन्छु । पार्टीप्रति निष्ठा नराख्ने केबल पदकै भोका हुनेलाई टिकट दिने कि नदिने ? यसबारे पनि सोच्नुपर्छ ।
आन्तरिक स्पर्धालाई थाति राखेर विपक्षीसँग मुकाविला गर्नुपर्ने बेला हो यो । जहाँजहाँ नेपाली कांग्रेसका स्थानीय सरकारहरू छन्, त्यहाँ त्यहाँ भ्रष्टाचार कम भएका छन्, बजेटको दुरुपयोग कम भएको छ । ओली नेतृत्वको सरकारले कानुन नै नबनाई, कर्मचारी नै नपठाई तीन÷तीन वर्षसम्म अनेक व्यवधान उत्पन्न गराउँदासमेत कांग्रेस नेतृत्वका स्थानीय सरकारहरूले धेरै राम्रा र लोकप्रिय काम गरेका छन् ।

ती कामको मूल्यांकन गरेर हामीले व्याख्या गर्नुपर्छ । जोड, घटाउ, गुना र भागाको समीकरणलाई पार्टीको ऊर्जा बनाउनुपर्छ । मैले टिकट पाए जित्छु, अर्को साथीले पाए हेरौँला कसरी जित्दोरहेछ भन्ने आत्मकेन्द्रित विचारले आफू र संगठन कमजोर बनाउँछ । पार्टी आफ्नै बिर्ताजस्तो गरेर वर्षांै पद ओगटिरहने र आज उम्मेदवारीका आकांक्षी साथीहरूलाई सत्तोसराप गाली गर्ने व्यक्ति भोलि आपूm उम्मेदवार बनिहाले पनि कसरी ती साथीहरू समटेन सकिएला ? भन्ने प्रश्नलाई मूल मन्त्र बनाउनु जरुरी छ ।

स्थानीय चुनावमा उम्मेदवार दावी गर्नुअघि आफूले आफैंलाई केही प्रश्न गर्नु जरुरी छ । के म उम्मेदवारको लागि सच्चिकै योग्यवान व्यक्ति हो कि चाहना मात्रै हो ? वा अरू घोडा चडे भनेर धुरी चढ्न लाग्न लागेको ? पार्टीमा लागेर मैले के कति योगदान गरेको छु ? टिकट पाउने आधार के हो ? मैले सामाजिक क्षेत्रमा के के योगदान पुर्याएको छु ? र मैले सामाजिक जिम्मेवारी प्राप्त गरी सफल भयो कि भएन ? मैले भ्रष्टाचार नगरिकन मासिक २० हजारको हाराहारीमा सरकारले दिने सेवा सुविधाले म र मेरो परिवार चलाउन सक्छु त ?
यसैगरी चुनावमा अन्य पार्टीले आफ्नो आलोचना गर्दा के म त्यो आलोचना सहन सक्छु ? मलाई जनता र कार्यकर्ताले रुचाएको छ कि म कसैको हनुमान मात्रै हुँ ? मैले जित्ने स्पष्ट जनाधार के के छ ? निर्वाचित भइसकेपछि मेरो काम कर्तव्य र अधिकार के के हो थाहा छ ? र मैले त्यो भूमिका बहन गर्न सक्छु ?

मेरो गाउँ ठाउँ विकासका लागि मसँग के कस्ता योजना, भिजन के के छ ? मेरो हार भएमा मैले त्यो हार स्वीकार्न सक्छु ? के यसको जवाफदेही म हुन सक्छु ? यदि हारें भनें हारेको भोलिपल्टैदेखि गाउँमा बसेर आफूलाई आएको मतको संरक्षण गरेर अर्कोपटक जित्ने वातावरण बनाउन सक्छु ? आफू निर्वाचित भएपछि जनमुखी काम गर्ने आधारहरू के के छ ? आफूले आफैंलाई यी प्रश्नहरू सोधौं । सके अरूलाई पनि सोधौं, नसके श्रीमान्, श्रीमती या छोराछोरीलाई सोधौं । अनि मात्रै उम्मेदवारीको दावी गरौं ।

युद्ध जित्न कुशल रणनीति चाहिन्छ । निर्वाचन भनेको ‘ब्यालेट’ को माध्यमबाट लडिने युद्ध हो । चुनावी हार जितका लागि एउटा मतको पनि धेरै ठूलो महत्व हुन्छ । कहिलेकाहीं त यस्तो परिस्थिति बन्छ कि एउटा मात्रै मत पनि निर्णायक हुन्छ । टाढा जानु पर्दैन । गण्डकी प्रदेशसभामा सत्ता गठबन्धन र प्रतिपक्षको मत बराबर छ । स्वतन्त्र सांसद दीपक मनाङे जता लाग्छन्, उतैको पल्ला भारी हुन्छ ।

त्यसैले पहिले एमालेलाई साथ दिएर रोजेको मन्त्रालय प्राप्त गरेका मनाङेले यतिबेला कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिएर रोजेको मन्त्रालय पाएका छन् । उनको छवी तथा पृष्ठभूमि विवादास्पद छ, तर उनी नभए गण्डकी प्रदेशमा सत्तागठबन्धनको ४९ प्रतिशत सिटको कुनै अर्थ रहन्न ।

राजनीतिक दलले सत्ता स्वार्थलाई सर्वोपरी राख्नु उचित हो वा होइन ? भन्ने सन्दर्भमा आआफ्नै व्याख्या हुन सक्छन् । दृष्टिकोण फरकफरक हुन सक्छन्, तर चुनावमा होमिनुको मुख्य उद्देश्य भनेको सत्ता प्राप्ति नै हो । चुनाव जिते मात्रै सत्ता पाइन्छ । त्यसमा पनि स्थानीय निर्वाचन अझ पृथक हुन्छ । संसदीय निर्वाचनमा चुनाव पछि पनि सत्ता प्राप्तिका विकल्प बाँकी रहन्छन्, तर स्थानीय निर्वाचनमा भने चुनाव नै फाइनल खेल हो । चुनाव जित्ने मुख्य आधार बनेको संगठन हो । सामान्यतः सबैभन्दा ठूलो संगठन भएको पार्टीको उम्मेदवारले चुनाव जित्छ, तर सानो संगठन भएका पार्टीहरू एकआपसमा तालमेल गरे भने ठूलो संगठन भएको पार्टीको उम्मेदवारलाई सजिलै चुनाव हराइदिन्छन् ।
कुशल रणनीति अपनाउन सकेको अवस्थामा सानो संगठन भएको पार्टीका उम्मेदवारले पनि चुनाव जित्ने अवस्था रहन्छ भने, कुशल रणनीतिको अभावमा ठूलो संगठन भएको पार्टीले पनि चुनाव हार्न सक्ने संभावना रहन्छ ।

यो उदाहरण हेर्न टाढा जानु पर्दैन । गत आमनिर्वाचन हेरे पुग्छ । समानुपातिक तर्फको मत परिणाम हेर्दा नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा तीन गुणा ठूलो देखियो । तर, प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली कांग्रेसले जम्मा २३ सिट जित्दै गर्दा माओवादी केन्द्रले ३५ सिट जित्यो । १२ प्रतिशत मत भएको माओवादी केन्द्रले ३५ सिट कसरी जित्यो ? ३६ प्रतिशत जनमत भएको नेपाली कांग्रेसले किन २३ सिटमा मात्रै चित्त बुझाउनु पर्यो ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने फेरि पनि चुनावी रणनीतिसँग जोडिन्छ ।

गत आमनिर्वाचनको समानुपातिक मत परिणम हेर्ने हो भने नेकपा एमाले ७७ निर्वाचन क्षेत्रमा अगाडि छ । नेपाली कांग्रेस ५३ निर्वाचन क्षेत्रमा अगाडि छ । माओवादी केन्द्र ११ निर्वाचन क्षेत्रमा अगाडि छ । तर चुनावचाँही एमालेले ८० वटा निर्वाचन क्षेत्रमा जित्यो, माओवादी केन्द्रले ३५ निर्वाचन क्षेत्रमा जित्यो, नेपाली कांग्रेसले जम्मा २३ निर्वाचन क्षेत्रमा जित्यो । कडा स्पर्धाका चुनावमा दुई÷चार भोटको पनि ठूलो महत्व हुन्छ । बास्तवमा चुनावी राजनीतिको अंक गणित ज्यादै विचित्रको हुन्छ । कहिलेकाहीँ १ मा १ थप्दा ११ हुन्छ । तर, कहिलेकाहीँ १ मा १ थप्दा २ मात्रै हुन्छ । कुन ठाउँमा ११ हुन्छ ? कुन ठाउँमा २ मात्रै हुन्छ ? पार्टी संगठनको नेतृत्वकर्ताले विचार पुर्याउनुपर्ने भनेको यहीँनिर हो ।

उसले कुशलता प्रदर्शन गर्ने भनेको पनि यहीँनिर हो । जबसम्म एक्लै चुनाव जित्ने स्पष्ट अंक गणित पुग्दैन, तबसम्म तालमेलका लागि लचिलो हुनुबाहेक अर्को विकल्प रहँदैन । उदाहरणका लागि प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट थियो, तर प्रधानमन्त्री केपी शर्मा ओली लचिलो बन्न नसक्दा सत्ता गुम्यो । जम्मा ६३ सिट भएको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । विगतमा २० सिट भएको राप्रपालाई ८५÷८५ सिट भएका कांग्रेस र एमालेले पालैपालो सत्ताको नेतृत्व सुम्पिएका उदाहरणहरू पनि छन् । अहिलेको संविधानले त सामान्य अवस्थामा एक पार्टीले बहुमत ल्याउनसक्ने व्यवस्था नै गरेको छैन ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!