
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन जिल्ला सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर भरतपुरको मेयर माओवादी केन्द्रलाई दिनुपर्ने अवस्था आएको बताएका छन् । गठबन्धन बचाउनका लागि जिल्लाको निर्णय बदलेर सहयोग गर्न देउवाको आग्रह छ ।

प्रधानमन्त्री एवं सभापति देउवाले बोलाएपछि खनाल सोमवार बालुवाटार पुगेका थिए । खनालसँगको भेटमा सभापति देउवाले पाँच राजनीतिक दलको गठबन्धनमा भएको छलफल जानकारी गराउँदै भरतपुरको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएकाले सहयोग गर्न भनेका थिए ।
‘सभापतिसँग भेट भयो । उहाँले काठमाडौं, भरतपुर र विराटनगरमध्ये एउटा महानगरपालिका माओवादी केन्द्रलाई छाड्नुपर्ने भयो । तपाईंले भरतपुर माओवादी केन्द्रलाई छाड्ने वातावरण बनाइदिएर मलाई सहयोग गर्नुपर्यो भन्नुभयो’, देउवासँगको भेटपछि खनालले भने, ‘मैले पार्टीका तर्फबाट गर्ने सबै सहयोग गर्छु, तर निर्णय बदल्न सक्दिनँ भनें ।’
चितवनका कांग्रेसका नेता कार्यकर्ता विद्रोह गर्ने अवस्थामा रहेको उनले प्रधानमन्त्री एवं सभापति देउवालाई जानकारी गराएका छन् ।
चितवन कांग्रेसले भरतपुरको मेयरलाई प्रतिष्ठाको विषय बनाइरहेको छ ।
आज साँझसम्म पाँचदलीय गठबन्धनमा महानगरपालिका बाँडफाँडको निर्णय आउने र त्यसपछि चितवन कांग्रेसले छलफल गरेर निर्णयमा पुग्ने खनालले बताए ।
‘गठबन्धनको निर्णय आएपछि भरतपुरमा के गर्ने भन्नेबारे साथीहरूसँग छलफल गरेर निर्णयमा पुग्छौं’, खनालले भने ।
देउवाले कास्की जिल्ला सभापतिलाई पनि काठमाडौं बेलाएका छन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले दाबी गर्दै आएको छ ।