हिपमत डटकम

बुधबार, माघ ०५, २०७८ || 377  पटक पढिएको

बिराटनगर। प्रदेश १ को प्रदेश सभा बैठक आगामी माघ २० गतेभित्र सुचारु गर्न प्रदेश सरकारले बैठक दलहरूसँग छलफल थालेको छ । सरकारले सभामुखसँग छलफल गरिसकेको छ भने र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि प्रदेश सभा बैठक सुचारु गर्ने विषयमा छलफलको तयारी भइरहेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए ।

‘प्रदेशसभा बैठक चाँडो सुचारु गर्न सरकारमा सहभागी दलहरू एकमत भएका छन्’मुख्यमन्त्री राईले भने,‘प्रदेश सभा बैठक सुचारु गर्न बारेमा एमालेसँग पनि कुरा गरेर सरकार अगाडी बढ्छ।’ उनले प्रदेश सभाको २० गते बस्ने बैठकमा सरकारले बिजनेसका रूपमा प्रदेशको नामकरणलाई प्रवेश गराउने पनि बताए । प्रदेश सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा बैठक बस्न सकेको थिएन ।

मुख्यमन्त्री राईले प्रदेश १ को नामकरण प्रदेश सभाको माघ २० गतेबाट जारी हिउँदे अधिवेशनमा प्रक्रियाका लागि प्रस्ताव सरकारको तर्फबाट लैजाने पनि बताए । प्रदेश सभाले नामकरण टुङ्गो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईको दाबी छ ।

पाँच दलीय गठबन्धनको सरकार निर्माणपछि प्रदेश सभा बस्न सकेको छैन । एकीकृत समाजवादी पार्टीको नेता राजेन्द्रकुमार राईको नेतृत्वमा बनेको प्रदेश सरकारमा काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत) समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धन बनेको छ ।

देशभरका सात प्रदेशमध्ये ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको टुङ्गो लगाएका छन् । प्रदेश १ मा भने प्रदेशको नामको विषयमा अझै पनि सहमति जुट्न सकेको छैन । तत्कालीन नेकपाको नेतृत्वको सरकार दुई तिहाइ बहुमतमा थियो । त्यसबेला उक्त दलले नाम सम्बन्धी प्रस्ताव ल्याउनै सकेन ।

राजधानीको प्रस्ताव जसोतसो पारित गरेको भए पनि नाम पहिचानको आधारमा गर्ने कि भूगोलका आधारमा वा अन्य कुनै आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच बेमेल छ ।

तत्कालीन नेकपाका दुई तिहाइ सदस्य पहिचानका आधारमा नाम राख्नुपर्छ भन्ने पक्षमा थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको आधारमा नाम राख्नु हुँदैन भन्ने अडान लिएपछि सो प्रक्रिया रोकिएको थियो । अहिले प्रदेश २ अर्थात् मधेस प्रदेशले आफ्नो नाम र राजधानीको विषय सहजताका साथ त्यहाँको भावना अनुसार टुङ्गो लगाएपछि प्रदेश १ तिर देशभरको नजर परेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले मङ्सिर १ मा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । त्यसयता प्रदेश सभा बैठक स्थगित छ। सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभामा ‘अर्को सूचना जारी नभएसम्म’ भन्दै मङ्सिरको १ गतेदेखि बैठक स्थगित गरेका थिए । प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारले संसद् छल्न खोजेको भन्दै तत्काल प्रदेश सभा बैठक आव्हान गर्न माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!