साउथ सुपरस्टार यशलाई फिल्म ‘केजिएफ’ को सफलताले करिअरको उचाइँमा पुर्याएको छ । आफ्नो सानदार अभिनयले संसारभर जबर्जस्त फ्यान फलोइंग बनाएका उनले कयौं कन्नड फिल्ममा अभिनय गरेका छन् । उनै, यश शनिवारबाट ३६ वर्षका भएका छन् । ८ जनवरी १९८६ मा भारतको हासन जिल्लामा जन्मिएका उनको वास्तविक नाम भने नवीन कुमार गौडा हो ।
‘रकिङ स्टार’ को रुपमा चिनिने उनले फिल्म ‘मोग्गिना मानसु’ बाट आफ्नो अभिनय करिअरको सुरुवात गरेका थिए । त्यसयता उनले ‘राजधानी, ड्रामा, गुगली, राजा हुली, मिस्टर एन्ड मिसेज रामाचारी, मास्टरपीस’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । लामो समयदेखि उनी अभिनीत फिल्म ‘केजिएफ २’ को प्रतिक्षा भइरहेको छ । उनी साउथका ‘हाइएस्ट पेड’ एक्टर हुन् ।
एउटा फिल्मका लागि ३० करोडसम्म पारिश्रमिक बुझ्ने गरेका यशका पिता अरुण कुमारले भने ‘बिएमटिसी ट्रान्सपोर्ट सर्भिस’ मा बस ड्राइभरको काम गर्दै आएका छन् । यशका पितालाई आफ्नो काम असाध्धै मनपर्छ । यसकारण छोरा सुपरस्टार भए पनि उनले ड्राइभरको पेशा छाडेका छैनन् । यशकी आमा भने गृहणी हुन् । उनकी एक बहिनी पनि छिन्, जसको नाम नन्दिनी हो ।
मैसूरमा आफ्नो बाल्यकाल विताएका यशले पढाई सकाएपछि अभिनय सिक्नका लागि ‘बिनाका थिएटर ट्रूप’ ज्वाइन गरेका थिए । यसपछि उनले टिभी सिरियलमा काम गरे र २००८ मा उनलाई पहिलो फिल्म मिलेको थियो । जसमा उनको अपोजिटमा राधिका पन्डित थिइन् । फिल्ममा काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए र २०१६ मा बिहे गरेका थिए । उनीहरुका दुई सन्तान छन् ।