
बिराटनगर। साहित्यकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजलसङ्ग्रहको आज एक समारोहका बीच विमोचन गरिएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठानले सुनसरीको धरानमा आज आयोजना गरेको कार्यक्रममा संघीय सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, धरान वडा नम्बर १३ का अध्यक्षसमेत रहनु भएका प्रतिष्ठानका संरक्षक नेत्र काफ्ले, प्राध्यापक कविराज न्यौपाने, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठलगायतले संयुक्त रुपमा गजल संग्रहको विमोचन गरेका हुन ।
विमोचित कृतिका बारेमा अग्रज साहित्यकार मधु पोखरेलले समीक्षा गगरेका थिए । समीक्षक पोखरेलले संग्रहमा सबै स्वाद र विषयका गजलहरु समावेश भएको बताए । त्यस्तै कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित, गजलकार लीला अनमोल, विनोद विवश, दीपा वाग्ले, हेमन्त निरौला, किरण चापागाईंलगायतले विमोचित कृतिभित्रका गजलहरु वाचन गरेका थिए ।
सोही अवसरमा पत्रकार समेत रहनु भएका धनकुटाका साहित्यकार रमेशचन्द्र अधिकारी, नुवाकोटीकी सुमित्रा कार्की, मोरङका युवराज ठकुरी, सुनसरीका एकराज थापा, श्रीभवानी नेपाललगायतलाई सम्मान गरिएको थियो ।