हिपमत डटकम

शुक्रबार, पौष १६, २०७८ || 710  पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राजतन्त्रको एजेन्डा छोड्ने संकेत गरेका छन्। आगामी पुस २७ गतेबाट ‘नयाँ अभियान’ सुरू गर्दै उनले राजतन्त्रको एजेन्डा छाड्ने तयारी गरेका छन्।

थापाले त्यो अभियान हिन्दु राष्ट्रको पक्षमा हुने बताएका छन्। उनले हिन्दु राष्ट्रको एजेन्डा लिएर पुस २७ गतेबाट देशव्यापी अभियान सुरू गर्ने तयारी गरिरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि राख्दै आएका छन्। उनले पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न लिङ्देनलाई लिखित रूपमै पत्र दिएका छन्।

उनले मंसिर २७ मै पठाएको उक्त चिठीबारे लिङ्देनले अहिलेसम्म कुनै निर्णय दिएका छैनन्। लिङ्देन थापाको चिठीमाथि कारबाही गर्ने पक्षमा छैनन्।

थापा अहिले पोखरामा छन्। पोखरामा भइरहेको लनलटेनिस प्रतियोगितामा सहभागी बन्न उनी गएका हुन्।

उनी शनिबार काठमाडौं फर्किँदैछन्। काठमाडौं फर्किएपछि आफ्नो अभियानबारे बताउने उनले सेतोपाटीलाई जानकारी दिए।

‘म के गर्दैछु, मेरो अभियान कस्तो हुन्छ, सक्रिय राजतन्त्रको एजेन्डा के हुन्छ भन्नेबारे म काठमाडौं आएपछि भन्नेछु,’ थापाले भने।

थापाले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘२०६३ को जनआन्दोलनपछि देशमा राजसंस्थालाई निषेध गरियो, अपमान र तिरस्कार गरिएको थियो, त्यो मुद्दालाई आजसम्म शिरमा कफन बाँधेर मैले छलफल र बहसमा ल्याएको थिएँ। आज कम्तीमा राजसंस्थालाई तिरस्कार र अपमान गर्ने गरिएको छैन। तर, आज त्यही संस्थाले मेरो पार्टीको आन्तरिक चुनावमा हस्तक्षेप गरी मेरो राजनीतिक भविष्य समाप्त पार्न खोज्छ भने मैले नैतिक रूपमा त्यो मुद्दा बोकेर हिँड्न सक्दिनँ।’

तर, आफूले उठाउँदै आएकोमध्ये हिन्दु राष्ट्रको मुद्दा भने नछोड्ने उनले टेलिभिजन अन्तर्वार्तामा बताएका थिए।

‘पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर म अभियान चलाउँदैछु,’ उनले भनेका थिए।

राप्रपा भने नफुटाउने उनले बताए। तर, राप्रपामै सक्रिय हुने नहुनेबारे भने लिङ्देनको कदमबाट टुंगो लाग्ने उनले बताएका थिए।

थापाले सडक आन्दोलनबाट राजसंस्था नफर्किने पनि बताए। ‘निर्मल निवासले जुन खालको सोच राखेर सडक आन्दोलनबाट राजसंस्था फर्कन्छ भन्ठानेर पात्र चयन गरेको छ, त्यसरी राजसंस्था फर्किन सक्दैन, मैले त्यो गर्न नसक्ने देखेपछि निर्मल निवासले चुनावमा हस्तक्षेप गर्‍यो,’ थापाले अन्तर्वार्तामा भनेका छन्।

थापा पक्षले लिङ्देनलाई त्यो पत्रबारे छानबिन समिति गठन गर्न नै दबाब दिइरहेका छन्।

‘हामीले जुन माग उठाएका छौं, त्यसमा छानबिन भएन भने परिस्थिति अर्कै हुन्छ,’ थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘पूर्वअध्यक्षज्यूले अभियान चलाउँदै हुनुहुन्छ, त्यो अभियान कस्तो हुन्छ हामी विस्तारै बाहिर ल्याउँछौं।’

थापा निर्वाचनमा पराजयपछि पार्टी कार्यालय गएका छैनन्। आफूले पठाएको पत्रबारे कारबाही नभएसम्म पार्टी कार्यालय नजाने पनि उनले बताएका छन्।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्थापनाको माग गर्दै राजनीति गरिरहेको पार्टी हो। तर, उसले भनेको राजसंस्था कस्तो हो भन्ने यकिन छैन।

थापा पञ्चायतकालपछि राप्रपाको राजनीतिमा सक्रिय थिए। बहुदल आएपछि पञ्चायतका हस्ती सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले पार्टी स्थापना गरेपछि थापा राप्रपामा छन्।

पार्टीमा लामो उतारचढाव आयो, थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरे। त्यसयता उनी राप्रपाको नेतृत्वमा १५ वर्ष थिए।

थापा लिङ्देनले के गर्लान् भनी पर्खेर बसिरहेका छन्। लिङ्देनको कदम आफ्नो पक्षमा नचल्ने चाल पाइसकेका थापा हिन्दु राष्ट्रको अभियानको तयारीमा लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!