नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी प्राइभेट कम्पनीमा परिणत भएपछि एक चरणमा गएर पतन रोक्न नसकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता रावलले भने, “व्यक्तिको सनकमा चल्ने पनि पार्टी हुन्छ र ? पार्टी हो भने संस्थागत निर्णय र पद्धतिमा चल्नुपर्ने होइन ? अध्यक्ष केपी ओलीले केन्द्रीय समितिमा मनपरी मान्छे राख्नुभएको छ । मापदण्ड नपुगेको मान्छे पनि राख्नुभएको छ । मनपरी चयन गर्ने कुरामा मेरो सहमति छैन । पार्टी यसैगरी प्राइभेट कम्पनीमा परिणत भएपछि एक चरणमा गएर पतन रोक्न सकिँदैन ।”
तपाईंलाई अध्यक्ष ओलीले केन्द्रीय सदस्य र स्थायी समितिमा राख्नुभएन, अब पार्टी सदस्य मात्र भएर बस्नुहुन्छ, नयाँ धार पार्टी खोल्नुहुन्छ या नेकपा (एकीकृत समाजवादी) मा जानुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “मैले व्यक्तिगत रुपमा केपी ओलीको विरोध गरेको होइन, उहाँका गलत क्रियाकलापको विरोध गरेको हुँ । मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ, उपाध्यक्षमा टीका लगाउन खोजेको होइन । पार्टीको महाधिवेशन समापनका बेला शुभेच्छा प्रकट गर्न मैले समय माग्नुपर्ने ? ओली मसँग त्रसित भएर बस्नुभएको प्रमाण ‘माधव नेपाल र भीम रावल मुक्त एमाले’को नारा लगाउनु नै हो नि । पार्टीमा फरक मत या आलोचना गर्न नसक्नु मार्क्सवाद हो र ?”
उनले प्रतिनिधिसभामा एमालेको अवरोध औचित्यहीन रहेको पनि आरोप लगाए । रावलले भने, “प्रतिनिधिसभामा अवरोध केका लागि ? कानुन, बजेट, विधेयकलगायत सरकारको काम कारबाही खुरुखुरु गर्न दिने, राष्ट्र र जनताका विषयमा बोल्न नदिईकन नारा लगाएर नाटक गर्ने ? कतै यो एमसीसी पारित गर्ने षड्यन्त्र त होइन ? केपी ओली यसबारे बोल्नै चाहनुहुन्न । यो शक्तिराष्ट्रको चाकरी त होइन ? कि सरकारको काम बन्द गर्नुस्, नत्र औचित्यहीन नीति नलिनोस् । यो राष्ट्र, जनता र बहुदलीय जनवादको विपरीत क्रियाकलाप हो । भन्ने कुरा एउटा कुरा, गर्ने अर्को हुँदाखेरि तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु भनेजस्तो त होइन ?”
तपाईं पार्टी बैठक फेस गर्न नसकेर अछामतिर भाग्नुभएको हो भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा रावलले भने, “म केपी ओलीको मुख हेरेर यो पार्टीमा लागेको होइन । म उहाँको केन्द्रीय सदस्य हुँ र भाग्ने ? म ५० वर्षदेखि राजनीतिमा छु । कोअर्डिनेसन केन्द्र हुँदै एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष भएँ । पटक पटक सांसद निर्वाचित भएँ । अहिले पनि अछाम क्षेत्र नं १ को सांसद छु । गृहजिल्लामा व्यापक छलफल गरिरहेको छु । नेकपा एमालेमा यति लामो समय काम गरेको हुनाले भोलि संगठनमा समस्या पर्ला भनेर त्यहाँभित्रका ज्यादतीलाई बाहिर ल्याएको छैन । निश्चित बिन्दुमा गएपछि के हुन्छ अनि सोच्छु । अहिले मैले केही पनि सोचेको छैन ।”