
नेपाली काँग्रेस सभापतिको लागि दोस्रो चरणको मतदान भई रहेको छ । दोस्रो चरणको निर्वाचनमा पहिलो चरणका तीन उम्मेदवार बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेका छन् । उनीहरुले समर्थन गरेपनि डा. शेखर कोइराला र देउवाबीचको कडा प्रतिष्पर्धा कायमै रहेको छ ।

पहिलो चरणको नतिजा सर्वाजनिक भएको केहीबेरमै बिमलेन्द्र निधीले देउवालाई समर्थन गरेका थिए । पछि अर्का उम्मेदबार प्रकाशमान सिंह र कल्याण गुरुङले पनि देउवालई समर्थन गर्ने घोषणा गरे ।
पहिलो चरणको निर्वाचनमा विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार पहिलो चरणमा ४६७९ मत खसेको थियो । खसेको मत मध्ये सभापतिको लागि २३४० मत चाहिन्थ्यो । देउवाले सर्वाधिक २२५८ मात्र पाएका थिए ।
पहिलो चरणको नतिजा अनुसार देउवालाई सभापतिमा निर्वाचित हुन ८२ मतको मात्र आवश्यकता थियो । तर, दोस्रो चरणको निवार्चनमा समर्थन गरेका तीनै उम्मदेवारले पाएको कुल मत ६४३ भएपनि देउवा सभापतिमा निर्वाचित हुने नहुने आशंका कायमै रहेको छ ।
निधि, सिंह र गुरुङलाई आफ्नो मत दिएका मतदाताहरुले उनीहरुको समर्थनलाई नै स्वीकार गर्यो भने देउवा एतिहासीक विजय हासिल गर्ने छन् । तर, “उनीहरु देउवालाई नै मत दिन्छ भने छैन । अब फेरी समिकरण बदलिन्छ” जानकारहरु बताउँछन् ।
पहिलो चरणमा शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका थिए । उनलाई विजयी हुन ६३८ मतको आवश्यकता थियो । अब दोस्रो चरणको मतदानमा कोइराला र देउवा विरुद्ध मतदान गरेका ६४३ मतदातको मत कतातिर जाने र कसले बाजी मार्ने आँकलन मात्र गर्न सकिन्छ ।