रौतहट। रौतहट जिल्लाको सदरमुकाम गौर स्थित शिवांगी पेट्रोल पम्पको उत्तरपट्टी खडा गरिएको ट्रकबाट लागू अौषध गाँजा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
आज बिहानै प्रहरीले सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.४ गढवा टोल स्थित गौर-चपुर सडक खण्डमा रोकी राखेको ना.६ ख-५९४३ नं.को आईचर ट्रक चेकजाँच गर्ने क्रममा लागू अौषध गाँजा सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जनाएका छन् ।
ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोका १८६ किलो लागु औषध गाँजा फेला परेको हो।
गाँजा संगै पक्राउ परिएको ट्रक चालक मकवानपुर जिल्लाका थाहा नगरपालिका वडा नं.१२ वस्ने भिम बहादुर गोलेको २५ बर्षीय छोरा सुरेन्द्र गोले ट्रक चालक र सोही ठाउँमा वस्ने ईन्द्रमान तामाङको १९ बर्षीय छोरा रित्तम तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।
रौतहटको दक्षिणी भेगमा यस्तो घटना पहिला पल्ट भएको स्थानीयले जनाएका छन्।