विराटनगर । अप्पन ब्राह्मण समाज विराटनगरद्वारा आयोजित त्रिदिवसीय काली पुजा सम्पन्न भएको छ । बिहीबार लक्ष्मीपुजाको मध्यरात देखि शुरु भएको पुजा शनिबार मूर्ति बिसर्जन संगै सम्पन्न भएको हो ।
शुक्रबार पुजाको दोस्रोदिन समाजले आयोजना गरेको माता कालीको दर्शन पुजा, प्रसाद ग्रहण तथा साँस्कृतिक कार्यक्रमको अवसरमा विराटनगरका दुईजना उच्चपदस्थ व्यक्तित्वले जग्गा प्रदान गर्ने प्रतिबद्धता गरेको समाजले जनाएका छन् । प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री जयराम यादव तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काली पुजाको लागि अप्पन ब्राह्मण समाजलाई जग्गा प्रदान गर्ने प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा समाजका अध्यक्ष कुमुद मोहन झाले उहाँहरुलाई स्वागत गर्दै कालीपुजाको लागि जग्गा उप्लब्ध गराई दिन आग्रह गरेका थिए । उनले हाल काली पुजा कसैको नीजी जग्गामा भई रहेको जानकारी गराएका थिए । अध्यक्ष झाले भोलीका दिनमा काली पुजा कहाँ हुने अन्यौलता रहेकोले जग्गा उपलब्ध गराईदिन आग्रह गरेका थिए ।
दर्शनपुजा तथा प्रसाद ग्रहण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दे मेयर पराजुलीले काली पुजाको लागि अप्पन ब्रह्मण समाजलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले अप्पन ब्रह्मण समाजद्वारा आयोजित काली पुजाले धार्मिक तथा साँस्कृतिक रुपमा समाजलाई जोडने प्रयास गरेकोमा प्रसन्नता समेत व्यक्त गरे ।
मेयर पराजुलीले काली पुजा धार्मिक अनुष्ठान मात्र नभई समाजिक र साँस्कृति रुपमा समाजलाई जोडने भएकोले जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको समाजका उपाध्यक्ष अमरकुमार झाले हिपमत डटकमलाई बताए । मेयर पराजुली आफु विराटनगरलाई धार्मिक आध्यात्मिक तथा साँस्कृति नगरी बनाउने पक्षमा रहेको बताए । उनले विराटनगरको २५ सय वर्ष पुरानो इतिहासबारे चर्चा समेत गरेका थिए ।
त्यसैगरी सामाजिक विकास मन्त्री जयराम यादवले आफ्नो बुवाको नाउँको जग्गाबाट कालीपुजाको लागि अप्पन ब्रहमण समाजलाई जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने “मेयर साहेबले जग्गा दिने प्रतिबद्धता त गर्नु भयो तर, अब उहाँको कार्य अबधी नै सकिन लागेको छ । उहाँ संग अब थोरै समय (केही महिना) मात्र बाँकी रहेको छ । यदि यो समयमा मेयर साहेबले जग्गा उपलब्ध गराउन सक्नु भएन भने म आफ्नो बुवा स्व. बुर्जु यादवको नाउँको जग्गाबाट काली पुजाको लागि समाजलाई जग्गा प्रदान गर्ने छु ।”
मन्त्री यादवले ब्रह्मण कुनै जात नभएर ब्रह्मलाई जान्ने नै ब्रह्मण भएको बताए । उनले ब्रह्मणहरुमा दारु मासुको प्रचलन बढी रहेको प्रति ईशारा गर्दै अहिले जातजातीहरुले आफ्नो जात अनुसारको कर्म गर्न छोडेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता राजेश गुप्ताले कालीपुजामा हरेक प्रकारले सहयोग गर्ने बताए । उनले काली पुजाले सामजमा धार्मिक कार्य प्रति उत्साहको वातारवरण सृजना गरेको बताए । नेता गुप्ताले काली पुजा समाजलाई एकताको सूत्रमा समेत बाध्ने धार्मिक साँस्कृति कार्य भएको जिकिर गरे ।
समाजका सहसचिव सुजित कुमार झाका अनुसार हजार भन्दा बढी श्रद्धालु भक्तजनहरु माता कालीको दर्शनपुजा तथा प्रसाद ग्रहण गरेका थिए । यस वर्षको काली पुजा समाजका सल्लाहकार बिरेन्द्र कुमार झा (बिरु सर) को संयोजकत्वमा सम्पन्न भएको हो ।