
भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । शुक्रबार विहान उहाँ भक्तपुरको थिमि चोक पुगेर नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गर्नुभएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको बताए ।
२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको हो ।