हिपमत डटकम

मंगलबार, कार्तिक १६, २०७८ || 512  पटक पढिएको

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख प्यासीले केही बेरअघि नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट दुई, र अन्य दलबाट एकएक जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका हुन् ।

राजेन्द्र राई, मुख्यमन्त्री
नेकपा एमालेमा जब केपी शर्मा ओली नेतृत्वमा उदाए, नेता राजेन्द्र राईका लागि सम्भावनाका धेरै ढोका बन्द जस्तै भए । उनीभन्दा धेरै जुनियरहरुले अनेकौं जिम्मेवारी पाए । तर, ओलीले राईलाई लगभग भूमिकाविहीन तुल्याए । एमाले अखिलको दुई पटकसम्म सफल नेतृत्व गरेका राईलाई फरक मत राखेकै आधारमा ओली र उनको टिमले सधैं पाखा लगाउने प्रयास गर्यो ।

गएको भदौ ९ मा एमाले विभाजित बनेपछि राजेन्द्र ओलीको छायाँबाट मुक्त मात्रै बनेनन्, त्यसको दुई महिनापछि प्रदेश १ को मुख्यमन्त्री पनि बन्दैछन् । भीम आचार्यलाई विस्थापित गरेर मुख्यमन्त्री बनेर सपथ लिएका छन् ।

प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्ने तयारीमा रहेका राईको जन्म वि।सं। २०२७ असार १५ मा भोजपुरको (किमालुङ गाविस) हाल षडानन्द नगरपालिका १० सुर्केमा भएको थियो ।

बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका ४ सन्तानमध्ये कान्छा सदस्य उनले स्कुलबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए । स्कुलको अखिल इकाई सचिवबाट सुरु भएको उनको राजनीतिक यात्रा त्यही संगठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म तन्किएको छ ।

२०४३ मा एसएलसी उत्तिर्ण गरेपछि लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका उनले हालसम्म ३७ वर्ष पूर्णकालीन राजनीतिमा बिताइसकेका छन् ।

एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उनी पहिलोपटक २०५७ मा अखिल अध्यक्ष बनेका थिए । पहिलो कार्यकाल २०५९ मा सिध्याएका उनी ०५९ देखि ०६१ सम्म पुनः अखिल अध्यक्षमा दोहोरिएका थिए । २०४९ मा रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति बनेका उनी अध्यक्ष हुँदा एमाले अखिल स्ववियु निर्वाचनमा सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको थियो । उनकै नेतृत्वको अखिलले केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनबाट गणतन्त्रमा जानुपर्ने माग गरेको थियो ।

राजा ज्ञानेन्द्रको शासनकालमा विद्यार्थी आन्दोलनको अगुवाई गरेर सडक तताएका राई एमालेमा केपी ओलीको उदयसँगै किनारामा पारिएका थिए । एमालेमा छँदा उनलाई नजिकैबाट चिन्नेहरुका अनुसार ओली र उनको टिमले सधैं पूर्वाग्रहपूर्वक पाखा लगाउने प्रयास गरेका नेता हुन् राई ।

लामो समय अखिल राजनीतिमा सक्रिय उनी पहिलोपटक २०६८ मा केन्द्रीय सदस्य मनोनित भएर पार्टीमा सक्रिय बनेका थिए । २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उनी पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका उनी २०७४ को प्रदेशसभामा निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका थिए । पञ्चायतकालमा ७ महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका उनले शाहीकालमा पनि ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी दिन व्यतित गरेका थिए ।

२०६० सालमा माओवादीले भोजपुरको घरैबाट अपहरण गरेर एक हप्ता कब्जामा राखेका राई १८ वर्षपछि माओवादीकै सक्रिय समर्थनमा मुख्यमन्त्री बनेका छन् ।

मन्त्रीहरूको सामान्य परिचय
इन्द्रबहादुर आङ्बो, मन्त्री आर्थिक मामिला तथा योजना
आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा नियुक्त आङ्बो बाहेक अन्य सबै नयाँ अनुहार हुन् । नेकपाको सरकार हुँदा पनि आङ्बोले सोही मन्त्रालयको जिम्मेवारी निभाएका थिए । आङ्बोलाई त्यसबेलाको सफल मन्त्रीको रुपमा हेरिने गरिएको छ । आङ्बोले झण्डै ३ वर्षको अवधि आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा भूमिका निर्वाह गरेका छन् । उनी पाचथरको निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

हिमाल कार्की, मन्त्री भौतिक पूर्वाधार विकास
यस्तै भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त भएका कार्की कांग्रेस संसदीय दलका उपनेता हुन् । उनी उदयपुरको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद हुन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकटका मानिन्छन् । मन्त्रीको रुपमा कार्कीले पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएका हुन् ।

केदार कार्की, मन्त्री आन्तरिक मामिला तथा कानून
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नियुक्त भएका केदार कार्की कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् । भाषणबाजका रुपमा चिनिएका उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (२)बाट निर्वाचित सांसद हुन् । महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी आन्दोलनबाट उदाएका कार्की कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन् । मन्त्रीको रुपमा कार्कीले पनि पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएका हुन् ।

जयराम यादव, मन्त्री सामाजिक विकास
यस्तै सामाजिक विकास मन्त्रीमा नियुक्त यादव जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलका नेता हुन् । मोरङ क्षेत्र नम्बर ५ (२) बाट प्रत्यक्ष निर्वाचित यादव स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् । उनी मधेश आन्दोलनबाट उदाएका युवा नेता हुन् । उनी पहिलो संविधानसभा सदस्य समेत हुन् । मन्त्रीको रुपमा यादवले पनि पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएका हुन् ।

विष्णुमाया तुम्बाहाम्फे, राज्यमन्त्री सामाजिक विकास
यस्तै संयुक्त लोकतान्त्रिक मञ्चकी एक्लो सांसद विष्णुमाया तुम्बाहाम्फे ताप्लेजुङ निवासी हुन् । उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । पहिचान र लिम्बूवान राज्यको मुख्य एजेण्डा लिएर संघर्ष गरिरहेको कुमार लिङ्देनले नेतृत्वको गरेको पार्टीको नेताको रुपमा पनि तुम्बाहाम्फेले परिचय बनाएकी छिन् । मन्त्रीको रुपमा तुम्बाहाम्फेले पनि पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!