विराटनगरमा ६ लेन सडक बनाउँदा गुणस्तरहीन काम भएको पुष्टि भएको छ । विराटनगर क्षेत्रभित्र ६ लेन सडक हेर्दा धेरै ठाउँमा विग्रिएको छ । बढी मुनाफा कमाउन काममा गलत सम्झौता गर्दै निर्माण गर्दा धेरै ठाउामा खाल्डो परेको, धसेको, उक्किएको छ । नगर क्षेत्रभित्रको ६ लेन सडक कहिँकतै सद्दे छैन ।
६ लेन सडकको निर्माण कार्य शुरू भएपछि विदेशको जस्तो बाटो बन्ने भयो भनेर खुसी बनेका थिए । तर यो खुसी धेरै टिक्न सकेन । ६ लेन सडकले कतिपय वस्तीलाई डुबानमा पारेको छ । अध्ययन र अनुसन्धानबीना कमिसनको लोभमा हतारो गरी थालिएको ६ लेनको सडक निर्माणले सडक छेउका कैयौं वस्ती डुबानमा परेका छन् । अवैज्ञानिक विधिले सडक निर्माण गरिँदा पानीको निकास थुनिएको र सडकभन्दा होँचो वस्ती हुन पुग्दा डुबानको पीडा विराटनगरवासीलाई थपिएको हो ।
६ लेन सडकको प्रशंसा गर्ने कहिँकतै ठाउँ छैन । ६ लेन सडक विभिन्न ठेकेदार निर्माण कम्पनीहरूले भाग–भाग गरी निर्माण गरे । बजेट करोडौं खर्च भयो तर, गुणस्तर काम भएन । सेटिङ्गमा ठेकेदार कम्पनीको चयन गरिनु, अपरिपक्वलाई परियोजनाको साँचो जिम्मा लगाउनु, मोटो रकमको व्यापक चलखेल हुनु र सडक निर्माणप्रति अपनत्व वहन नगर्दा ६ लेन सडकको दुर्दशा भएको छ ।
०६९÷०७० मा विराटनगरको रानीदेखि धरानसम्मको सडक ३० मिटर चौडा पार्ने गरी ६ लेनज सडकको काम थालिएको थियो । ६ लेन बनाउने गरी शुरू सडक परियोजना ७ वर्षमा तयार गरिने भनिए पनि कछुवा तालमा निर्माण जारी छ । ठेकेदार कम्पनीहरूको परियोजना पदाधिकारीसँगको मिलिभगतमा परियोजनाको समय लम्ब्याउने, रकम थप गराउने र मोटो रकम गोजीमा हाल्ने खेलमा लाग्दा ६ लेन सडक खिइँदै गएको छ ।
रानीदेखि पहडगछसम्मको ६ लेन सडक धेरै ठाउँमा भाँसिएको छ । सडकको किनारमा घाँस र झारपात उम्रदै गएको छ । सडकमध्ये ४ लेनमात्र जेनतेन काम चलाउ छ । २ लेन सडकमा पुरै धुलो जमेको छ र पार्किङ गर्ने ठाउँ बनेको छ ।
६ लेनका केहि ठाउँमा भासिएको र धसेको सडकमा अलकत्राको लेपन गरिए पनि त्यो बालुवामा पानी खन्याए सरह बनेको छ । सडक निर्माण गर्दा उचित गहराईसम्म माटो नखन्दा र माटो र गिट्टीलाई दरिलो गरी रोलरले दरो गरी नथिच्दा सडक धस्ने र भासिने हुँदै गएको छ । सडकमा प्रयोग गरिने अलकत्रा पनि न्यून ग्रेडको हुँदा सडकको पकड फितलो छ ।
मोटो रकमको यो परियोजनामा सडक मापदण्डलाई ख्याल नगरिँदा ६ लेनको सडकको दुरावस्था भएको हो । खारजीस्थित विराटनगर प्रवेशद्वारदेखि रानीसम्मका ६ लेन सडकलाई आहा ! भन्ने ठाउँ छैन । ठेकेदार निर्माण कम्पनीले सम्वद्ध पदाधिकारीकहाँ नजराना नबुझाई ठेक्का प्राप्त गर्न नसक्ने सूत्रको दावी छ । ठेक्का प्राप्त गर्न चढाएको नजराना असुल उपर गर्न न्यून मूल्य र सस्तोमा काम सक्ने ठेकेदारको चाहना हुन्छ । जुन चाहना ठेकेदार कम्पनीहरूले ६ लेन सडकमा दिल खोलेर पुरा गरेका छन् ।
सम्बन्धित पदाधिकारी पनि गुन तिर्न जस्तो सुकै काम हुँदा समेत अनुगमन समेत नगरी कानमा तेल हालेर बसेका छन् र, राज्यलाई समेत ठगेका छन् । परियोजना सम्वद्ध पदाधिकारी–पदाधिकारी र ठेकेदार–ठेकेदारबीचको असमन्वय र असमझदारीले ६ लेन सडक अन्तर्गतको बरगाछीचौकको ५० मिटर बाटो पीच हुन सकेको छैन । ५० मिटर पीच गर्न बाँकी ग्राभेल रोडमा दिनहुँ दुर्घटना हुनु सामान्य बनिसकेको छ ।
गुणस्तरहीन सडक निर्माणको विरोध सर्वसाधारणले समेत गर्न थालेका छन् ।
यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।