म बाठो छु, मैले जति जानेको छु अरू कसैले छैन । म हरेक कुरा जित्न सक्छु । मबाहेक कसैले मेरो निर्णयलाई जित्न सक्दैन । म किमार्थ ‘लाटो’ छैन, कुनै पनि कुरामा लाटो छैन । तर, के यस्तो सोच्ने व्यक्ति सधै सफल हुन सक्छ ?
जीवनमा कहिल्यै सफलता नै सफलता पाइन्न । सफलता, असफलताको मिश्रण नै जीवन हो । सफलता पाउँदा मात्तिने र असफलता हात लाग्दा आत्तिने मनुवाले समाजमा प्रगति गर्न सक्दैन ।
जोसित दिमाग छ उ नै सबैभन्दा बलियो हो । जो स्वास्थ्य छ उ नै सबैभन्दा सम्पन्न हो । समाजमा कसैले कसैलाई बाठो सम्झिएर हेपाइती नगर्नु । कोही कम बोल्छ भनेर लाटो नसम्झनू ।
एउटा कथा स्मरण भयो । यो कथा ठाउँ विशेषको जाति विशेषसित सम्वन्धित छ । यसलाई केबल एक कथाका रूपमा ग्रहण गर्न आग्रह गर्दछु ।
भारत बर्षमा राजस्थानी, गुजराती र पंजावीबीच को बाठो, अब्बल र दिमागवाला भनेर स्पर्धा नै भल्छ ।
राजस्थानी मारवाडी, गुजराती र पंजावको एक सरदारबीच को बाठो ? को मनकारी ? को दिल खोलेर खर्च गर्न सक्छ भनेर स्पर्धा चलेछ । एउटा मञ्चमा तीनैबीच स्पर्धा चलेछ । आयोजकले यो स्पर्धालाई रोचक बनाउने कोसिस गरे ।
सरदारले ५ सय भारूको नोट निकालेर त्यसमा तम्वाखु हालेछन् । सलाई मागेर सयौंको सामुन्ने धुवा उडाएछन् र, भनेछन, ‘मजस्तो दिल खोलेर कसैले यसरी पैसा उडाउन सक्छ ?’
दर्शक दीर्घामा रहेका छक्क परे–बाफरेवाफ ! ५ सयको नोटको बिंडि बनाएर फुक्यो सरदारजीले ?’ दर्शक दीर्घाबाट ताली बज्यो । सरदारजी जिन्दावादको नारा लाग्यो । सरदारजी मख्ख परेर मंचमा बनाएको आसनमा फर्किए ।
पालो आयो गुजरातीको । गुजराती पनि के कम ?
दर्शक दीर्घामा रोमाञ्चकता पैदा भइरहेको थियो आखिर गुजरातीले के गर्छन् ? छोटो समयमा पूरै राज्यलाई कायापलट गर्नेमा संसारमै चिनिन्छन् गुजरातीहरू । गुजराती त मेहनती हुन्छन् नै उनीहरू श्रममा धेरै नै विश्वास गर्छन् । प्रगतिका लागि उनीहरू अहोरात्र खट्छन् । फजुल खर्च गर्न, दान गर्न पनि कम छैनन् । तर, मञ्चमा स्पर्धा चलिरहेको थियो । सरदारजीभन्दा कम त देखिनु भएन नि !
उनले गोजीबाट रातो रंगको दुई हजारको नोट निकाले । सलाई मागे र, तम्वाखु हालेर धुँवा उडाए । सरदारजीलाई गिज्याउँदै गुजरातीले धुँवा उडाए । सरदारजी हेरेको हे¥यै । दर्शक दीर्घामा रहेकाहरूमा मौनता छायो । केहीबेरमा गुजरातीको यो साहसको कदर गर्दै दर्शक दीर्घाबाट परररर ताली बज्न थाल्यो र, नारा लाग्यो, ‘गुजराती जिन्दावाद ।’
आम दर्शकमा प्रतिक्षा थियो अब राजस्थानी मारवाडीले के गर्छन् ?
पालो आयो मञ्चमा आएर देखाउने अवसर राजस्थानी मारवाडीको । ५ सयको नोट सरदारजीले फुकिसके । २ हजारको नोट गुजारातवालाले फुक्यो । भारतमा त्यो भन्दा बढी नोट नै छैन । राजस्थानी मारवाडीलाई लाग्यो–दुई हजारका ३ नोट बेरेर फुँकु कि क्या हो ? तर, यसो गर्दा फरक शैली हुने छैन । केही नयाँ गरौ र, आम रूपमा सबैको मन जितौं भन्ने ध्याउन्न मारवाडीको थियो ।
उनले तत्कालै जुक्ति निकाले । आफुसित रहेको झोलाबाट बैंकको चेक निकाले । ५ लाखको चेक काटे । हस्ताक्षर गरे अनि तम्वाखु हालेर सलाई कोरे । सरदारजी, गुजराती हेरेको हे¥यै भए । दर्शक दीर्घामा रहेकाहरू सबै आसनबाट उठेर सलाम गरे र, राजस्थानी मारवाडीको दिमागको खुबै जमेर तारिफ गरे ।
त्यसैले हरेक कुरामा को व्यक्ति कहाँनेर अब्बल हुन्छ यकिन हुन्न । नसोचेको दिमागको रचना आउन सक्छ । मैं हुँ भन्नेहरू एउटै निर्णयबाट सकिने अवस्था पनि आउन सक्छ ।
अर्थात् यो भारत बर्षको रोचक कथाको सार के हो भने कसैले कसैलाई कमजोर नठान्नु । सरदारले गुजरातीलाई कमजोर ठाने र, उनीबाट हार खानु प¥यो । गुजरातीले राजस्थानीको दिमाग बुझ्न सकेनन् र, २ हजारको नोट सल्काए पनि अब्बल बन्न सकेनन् । एक पैसा खर्च नगरिकन राजस्थानी मारवाडी सबैको नजरमा अब्बल, दिमागवाला देखियो ।
यो खबर न्यु सृष्टिमा प्रकाशित छ।