नेगेटिभ कमेन्ट

वाह क्या बात !

हिपमत डटकम

बुधबार, आश्विन २०, २०७८ || 569  पटक पढिएको
भरत गुरागाईँ बर्बरीक

मदन भोट जाने नै भयो । साथीहरूको उलेमालेमा लागेर भनूँ वा धन कमाउने इच्छाले भनूँ एक डफ्फा केटाहरू ल्हासा तिर केही महिना र बर्षका लागि जाने भए । गरिबीका विरुद्धमा मदनले आफ्नो मनलाई जवाफ दिएको थियो, ‘ल्हासा जाऊँला, व्यापार गरुँला, जेजति कमाइ हुन्छ लिएर आऊँला, चिटिक्क परेको सानो घर बनाऊँला, एउटा दुधालु गाई किनौँला , बूढी भएकी आमालाई दूधभात ख्वाऊँला, मुनाको लागि खँदिलो सुनको बाला ल्याऊँला’ यस्तै यस्तै ।

मदन परदेशिने बेलामा भक्कानिएको मुटु लिएर मुना बाटोको तगारो बनिन् । बरु खोलेफाँडो खाएर बसौँला, त्यो पनि नभए भोकलाई पटुकीले कसौँला, तर विदेश जाँदै नजानू भनिन् । तर मदनलाई परदेशी धनले चुम्बकले फलामलाई जस्तै आकर्षण गरिसकेको थियो ।
उसले नगई नछोड्ने कुरा बतायो । यथास्थितिमा गरिबी पिएर बाँच्न नसकिने कुरा बतायो मदनले । केही नलागे पछि मुनाले बालहठ देखाइन् – कि तपाईं नजानुस् कि म पनि जान्छु । तर मदनले टेरेन, फलतः भर्खरै दुलही बनाएर भित्रयाइएकी मुनालाई अनि मृत्यु पर्खिँदै गरेकी सेतै फुलेकी बुढीआमालाई चटक्कै छोडेर आँखाभरि प्रेम र कर्तब्यका आँसु बोकेर मदन दुर्गम पहाडी जङ्गलको बाटो हुँदै परदेशियो । माफ गर्नुहोला, तपाईँलाई मुनामदनको अद्योपान्त कथा थाहा छ, म चाहिँ कथाको अंशलाई प्रसङ्गवश उठाइरहेछु ।

महाकवि देवकोटाले मुनामदन लेखिरहँदा देख्नुभएको नेपाली समाजको चित्र र अहिलेको चित्रमा कति समानता र कति असमानता होलान्– त्यो महत्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई । देवकोटा यतिबेलासम्म जिवितै हुनुभएको भए मुनामदन भाग–२ कस्तो हुन्थ्यो होला । बित्थामा म यस्तो कल्पना गर्ने गर्छु ।

मलाई लाग्छ, समाज रुपान्तरणको एक महत्वपूर्ण कारण राजनीति हो । सत्ताले अपनाउने नीति अनुसार नै समाजको निर्माण र सन्चालन हुन्छ । सत्ताको नीतिलाई मन नपराएर नै बेलाबेलामा राजनीतिक विप्लब , बगावत र परिवर्तनहरु हुने गर्दछन् । २००७ सालदेखि अहिलेसम्मका परिवर्तन सामाजिक कारणले नै भएकाछन् ।

हामी गणतान्त्रिक युगमा प्रवेश गरेका छौँ । अब हामी निर्भयका साथ फल्न र फुल्न पाउने भएका छौँ । यो हामीले नै चाहेर ल्याएको व्यवस्था हो , अरु कसैले थोपरिदिएको होइन । सिद्धान्ततः हामी आफ्नो मनको मालिक हुन पाएका छौँ । मैले यसो भनिरहँदा तपाईं असहमत हुन पाउनुहुन्छ र चित्त दुखाउन स्वतन्त्र हुनुहुन्छ तपाईं ।

तपाईँलाई थाहा छ, आज म नेगेटिभ कमेन्ट गर्न बसेको छु । धेरै धेरै दृश्य देखिसके पछि मेरो हालत यस्तो भएको छ कि म सकारात्मक सन्देश दिनै सक्दिनँ । म हिजोआज आफैँलाई प्रश्न गर्ने गर्छु–हामीले ल्याएको भनिएको राजनीतिक व्यवस्था हाम्रै विचारको उपज हो कि हामी अरुले प्रयोग गर्ने गरेका बुद्धू भेडा हौँ ?

लाखौँ लाख मदनहरू पचास डिग्री तापक्रममा शरीर सेकाएर सपनाको सुन्दर महल बनाउँदा बनाउँदै रातो बाकसमा भरिएर आउँछन् । यता दृष्टिकोणविहिन अविवेकी सत्ता तिनका आफन्तहरूको आँसु पिएर तिनै माथि निर्विवेक शासन गरिरहेछ । समाजवादको खोल ओढेर लुटतन्त्र मच्चाइरहेछन् अवसरवादी हुँडारहरू । चुनावको प्रपन्च रचिन्छ–हामी रक्सी र मासुमा बिक्छौँ,झुम्छौँ र तिनका समाजवादी भाषणको नशामा लट्ठिएर फेरि तिनैलाई आफ्नो जीवन तहसनहस पार्ने शासक बनाउँछौँ ।

तपाईं बाँचिरहेको समाजमा फर्किएर हेर्नुस् त–मदन विदेश गैसकेपछि के के हुन्छ । होला, सबैमा मैले भन्न खोजेको तर्कले काम नगर्ला, तर चाहे मुना होस् वा मदन ; एउटा निकै ठूलो हिस्सा विकृत पहाडको चाङ लगाउन अभ्यस्त हुन्छ ।

लोग्नेले विदेशी भूमी टेक्न पाएको हुँदैन यता स्वास्नीको मनमा तरङ्गित हुन थाल्छन् रङ्गिन तरङ्गका सपनाहरु । बल्ल स्वास्नीको सपनाको बाटो फराकिलो बन्न पुग्छ , बल्ल पो उसले चाहेको स्वर्णीम जिन्दगीको शुरुआत हुनथाल्छ । विदेश पुग्ने बित्तिकै लोग्नेले पसिना बेचेर कमाएको पैसा पठाउँछ । स्वास्नीले आफूभन्दा ठूलो आकारको मोबाइल किन्छे, सपिङ्ग मलबाट प्रशाधनका सामग्री ल्याउँछे अनि शुरु हुन्छ मनको राजासँग बार , रेस्टुरेन्ट वा बनबिहारको यात्रा । फेरिँदै जान्छन् बिस्तराहरू ; र शुरु हुन्छ यौनसुखको झड्केलो जिन्दगी । स–साना बच्चाहरूलाई सडकको जिम्मा लगाएर पंख फिँजार्दै हिँड्छे र निर्लज्ज भएर सुनाउँछे समाजलाई सतित्व र पतिभक्तिको भद्धा पुराण ।

उता लोग्ने चाहिँ सुन्दर भविष्यको सुन्दर कल्पना गर्दै विदेशी भूमिमा नुर गिराएर तापिरहेको हुन्छ पचास डिग्रीको घातक आगो ।
आउनुस् , एकछिन विदेश तिर पनि छिरौँ । मान्छेको नियतको न कुरा हो । जतिसुकै काम गर्नु परे पनि आफ्नो स्वतन्त्रताको उडान भर्न कम हुँदैन लोग्ने । समुद्री तटमा होस् , बार र रेस्टुरेन्टमा होस् वा रेडलाइट एरियामा होस् , लुट्दै र लुटिँदै जान्छ ऊ पनि । आफ्नी स्वास्नी बालबच्चा, परिवारको दुःखलाई चटक्क बिर्सिएर खुरुखुरु छिर्छ अँध्यारो यौनिक सुरुङ्गमा ।

हामी कुन संस्कार र धरातलमा छौँ ? कता जाँदैछौँ हामी ? किन भैरहेकोछ यस्तो ? के पृथ्वीको गति सुल्टै छ ? कि हामी उल्टो हिँडिरहेकाछौँ ? मलाई लाग्छ यी सबै समस्याजनित विषयहरुको मुल कारण राजनीति हो , राष्ट्रको राजनीतिक सत्ताले नै धेरै धेरै मुद्धाहरुको फैसला गर्छ , राजनीति नै यस्तो कुरा हो जसले एक हिसाबले चलिरहेको समाजलाई सुगति वा अधोगति दिन्छ । ४० बर्ष जति भएछ – म यिनै आँखाले राजनीतिले छरेको भ्रम र सत्ताको उद्दण्डता टुलुटुलु हेरिरहेछु ।

देवकोटाको मदनमा कुनै खोट जन्मिएन । आमा र मुना माथिको कर्तव्यबाट अँहँ ऊ रत्ति पनि बिचलित भएन , तसर्थ काललाई पन्छाउँदै भए पनि ऊ घर फर्कियो । यता देवकोटाकी मुना भित्रको सतित्व र पवित्रता बिल्कुल डग्मगाएन । उनले मदनकी अर्धाङ्गिनी र सासूकी बुहारी हुनुको महान आदर्श र कर्तब्य भित्र कुनै कीटपतङ्ग छिर्न दिइनन् बरु मृत्युको बाटो सजिलो लाग्यो उनलाई । अनि आजका मुनामदन नि ?
फेरि चुनाव आउँछ । फेरि पनि हामी , हामी भित्रको विचार र बिद्रोहलाई सम्मान गर्ने छैनौँ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!