एजेन्सी । ताइवानको हवाई सुरक्षा क्षेत्र (एडीआईजी) मा चीनले रेकर्ड संख्यामा सैन्य जहाज पठाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गरेका छन् । ताइवानका अधिकारीहरुले चीनसँग सम्बन्ध ४० वर्ष यताकै खराब स्थितिमा रहेको बताएका छन् ।
मंगलबार ताइवानमा चीनको ‘उक्साहट’ बारे एक पत्रकारको प्रश्नमा राष्ट्रपति बाइडेनले यस विषयमा उनी र राष्ट्रपति सीबीच छलफल भएको बताए । ‘मैले सीसँग ताइवानबारे कुरा गरेको छ, ह्वाइट हाउसमा उनले भने, ‘हामी ताइवान सम्झौतालाई अंगिकार गर्छौँ भन्ने हामी एकमत थियौँ र हामीले पनि चीनले सम्झौतालाई पालना गर्नेबाहेक अन्य कुरा गर्नुहुँदैन भन्ने कुरा स्पष्ट राख्यौँ ।’
शुक्रबार चीनको राष्ट्रिय दिवसको दिनबाट चिनियाँ सैन्य जहाज ताइवानको हवाई सुरक्षा क्षेत्रमा प्रवेश गर्न सुरु गरेको थियो । सोमबार अहिलेसम्मकै धेरै ५६ वटा चिनियाँ जहाज एडीआईजीमा प्रवेश गरेको र जवाफमा आफूले पनि लडाकू विमान पठाएको ताइवानले जनाएको थियो ।
बेइजिङले ताइवानले आफ्नै क्षेत्र मान्दछ । यो वर्ष त्यसकेन्द्रीत आफ्ना गतिविधिहरु बढाएको छ । सन् २०२० को तुलनामा त्यस्ता गतिविधिहरु यो वर्ष दुई गुणाले बढ्ने अपेक्षा गरिएको छ । बुधबार ताइवानका रक्षा मन्त्री चिउ कुओ–चेङले संसद्मा दुई देशबीचको तनाव ४० वर्ष यताकै खराब अवस्थामा रहेको बताएका थिए । बेइजिङले सन् २०२५ भित्र टापुमा पूर्णरुपमा आक्रमण गर्न सक्ने उनले चेतावनी पनि दिएका थिए ।
मंगलबार ‘फरेन अफेयर्स’ नामक चर्चित जर्नलमा एक लेख प्रकाशित गर्दै ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो देशको प्रजातन्त्र र जीवनलाई चुनौति दिए त्यसको रक्षा गर्न आफूहरुले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएकी थिइन् ।
उनको लेखको जवाफमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले राष्ट्रपति र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानको प्रजातन्त्रलाई अतिवादी सिद्धान्ततर्फ डो¥याइरहेको आरोप लगाएको छ । आफ्नो सम्पादकीयमा ताइवानलाई चीनबाट अलग गर्न खोज्ने शक्तिहरुको भविष्य सुरक्षित नरहेको चेतावनी दिँदै ताइवान एकीकृत बनाउनबाट चीनलाई कसैले रोक्न नसक्ने बताएको छ ।
अलजजिरा