हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 813  पटक पढिएको

बिराटनगर महानगर कांग्रेसको निर्वाचनमा दीपक चापागाईं पराजित भएको भए नागेश कोइराला कमजोर हुने थिए जसरी अहिले भीम पराजुली र केदार कार्कीबारे सोचिएको छ । चापागाईंको सान्दार विजयले नागेशलाई मोरङ कांग्रेसमा शक्तिशाली नेताका रूपमा अघि ल्याएको छ । किनभने दीपकलाई महिनौदेखि उम्मेदवार बनाउनुपर्छ भनेर उनी एकोहोरो तरिकाले लागे । कुनै एक व्यक्तिको समर्थनमा जसरी नागेश उभिन्छन् त्यो महत्वपूर्ण खुबी मान्नुपर्छ ।

पार्टीका धेरै फ्याक्टरहरूलाई संगठित बनाउन सके उनले । युवा र, विभिन्न समूहलाई उनले एकिकृत गरे । अन्तर पार्टी संघर्षका क्रममा भिड्ने भनेकै आफ्नासित हो । अन्य दलसित भिड्ने मैदान होइन अन्तर पार्टी निर्वाचन । तर, आफु र आफ्नोसित भिड्ने भन्दैमा इगोपूर्ण राजनीति पनि त गर्न भएन नि !

नागेशले आफुलाई सफल युवा नेताका रूपमा उँभ्याएका छन् तर, उनका सामू धेरै चुनौती छन् । यो विजयको खुसीयालीलाई उनले धेरै कुरामा ‘क्यास’ गर्न सक्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा उनले डा. शेखर कोइरालाको साथ पाइरहनुपर्छ । डा. शेखरलाई उनले सर्वोच्च मानेर हिड्नु पर्छ र, उनको सामिप्यता पाइरहनुपर्छ । किनभने मोरङमा राजनीति गर्ने हो भने अहिलेको समुल अवस्था हेर्दा देउवा पक्ष कमजोर भइसकेको छ ।

नागेशले आउँदो राजनीतिमा आफुलाई सशक्त तरिकाले उभ्याउने धेरै चुनौती तेर्सिएका छन् । पहिलो उनी आफैले सबैलाई (कांग्रेसका हकमा) एकै तरिकाले हेर्ने खाका कोर्नुपर्छ । अमृत अर्यालहरूसित कसैको असल सम्वन्ध छ भने उसलाई अमृत अर्याल गुटको भनेर हेपाइती गर्न छाड्नु प¥यो ।

उनले कुनै पनि कुरा प्याट्ट बोल्ने होइन सम्हालिन सक्नुपर्छ । राजनीतिमा हरेक सत्य कुरा गलत बोली र निर्णय हुनसक्छ । हरेक कुरामा लाइन मात्र दिएर कसैको चित्त दुखाउनु भन्दा समग्रतामा सोच्नुपर्छ । मैले समर्थन गरेको व्यक्ति कांग्रेस हो भने मैले नरुचाएको व्यक्ति पनि कांग्रेस नै हो भन्ने मानसिकता बनाउनुपर्छ । किनभने नेताले सोच्ने भनेकै समग्रतामा हो । समग्रतामा सोच्नेको राजनीति दीर्घकालिन हुन्छ ।
हो, उनले छोटो समयमै यो प्रभाव जमाउन धेरै मेहनत गरेका हुनसक्छन् । तर, कांग्रेस भनेको कुनै एक समूहमात्र होइन । उनी भोलि गएर कुनै निर्वाचन लड्नु प¥यो भने अहिले कायम रहेको समूहको मतले मात्र विजय हुने सम्भावना रहन्न । राजनीतिमा कुन मनुवा कुन बेला काम लाग्छ पत्तै हुन्न । आज काखामा राखेको व्यक्तिले छुरा रोपन खोज्छ अनि पाखा गरेको व्यक्ति सबैभन्दा निकटको हुनसक्छ । राजनीतिमा यो खेल चलिरहन्छ र, यस कुरालाई नागेशले गंभीरतापूर्वक हेर्नुपर्छ, बुझ्नु पर्छ ।

नागेशका लागि उद्धव कोइराला, निश्चल अर्याल भाइजी, दामोदर कोइरालाको साथले मात्र पुग्दैन । उनलाई कृष्ण कार्की, अरुण न्यौपाने र सन्तोष न्यौपानेको पनि साथ चाहिन्छ । मोरङ जस्तो कांग्रेसको किचलोपूर्ण राजनीतिमा कुन बेला कसको पल्लाभारी हुन्छ र, कसको साथ चाहिने हो यकिन हुन्न । एउटा महानगर समिति र दीपक चापागाईं एक्लैले केही गर्न सक्दैनन् । उनको एकल सिफारिसमा आधारमा कसैको राजनीति अघि बढ्ने र घट्ने पनि होइन ।

राजनीतिक यात्रा नागेशका हकमा चरणवद्ध छन् । उनी टपक्क टिपेर होइन सुस्तरी अघि बढेका छन् । उनी पहिले तरुण दलमा थिए । त्यसपछि मोरङ कांग्रेसको कोषाध्यक्ष भए । सचिवमा निर्वाचित भए । अहिले उपसभापतिका आकांक्षी छन् । उपसभापतिमा त उनी सहजै जित्छन् नै । तर, १५ औं महाधिवेशनमा मोरङ कांग्रेसको सभापति हुनका लागि उनले अहिले गरिरहेको राजनीतिलाई केही फराकिलो बनाउनै पर्छ ।

नागेशले केही कुरामा त्याग गरेका छन् । उनी लामो समयसम्म शेरबहादुर देउवाको साथमा रहे । हिजो कार्यसमितिका सदस्यसमेत विभिन्न पदमा पुगेको बेला नागेशलाई केही दिइएन । देउवाले जहिल्यै ‘तेरो कोइराला’ भने । अब तेरो कोइराला भन्छन् भने पक्कै पनि देउवाको साथ दिएर केही फाइदा देखेनन् । उनले राजनीतिमा लाइन परिवर्तन गरे । जे गरे उनले ठिक गरे ।

उनी जुन तरिकाले अघि बढेका छन् त्यो सही छ । यसलाई विभाजित गर्ने होइन फक्रयाउने र फुलाउने काम गर्नुपर्छ । नागेशले केही सस्ता झुण्डको कुरा सुन्न छाड्नु पर्छ र, सबैको नेता हुनेतर्फ अघि बढे उनको राजनीतिक भविष्य उज्ज्वल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!