हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 1116  पटक पढिएको
तस्बिर -जनआस्था

नेपालीमा एउटा उखान प्रचलित छ – बाघ बूढो र स्याल तन्नेरी कहिल्यै हुँदैन । यो उखानलाई व्यक्तिको अनुभव र निर्णय क्षमतासँग जोडेर हेर्ने हो भने एमालेको तत्कालीन माधव नेपाल समूहका १० जना स्थायी कमिटी सदस्यका हकमा मज्जैले लागू हुने देखिन्छ ।

अध्यक्ष केपी ओलीसँगको लामो अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएका र अन्तिम समयमा एमालेमै अडिएका १० भाइ अहिले ‘न यता न उता’को अवस्थामा पुगेका छन् । त्यसैले त १० बुँदे सम्झौता गरेर एमालेमै रहने निर्णय गरेका उनीहरुलाई अहिले माधवको एउटा भनाइ झल्झली याद आएको हुनुपर्छ ।

१० बुँदेका नाममा एमालेमै रहने उनीहरुको मनस्थिति बुझ्नुभएका नेपालले त्यतिबेलै प्रष्ट भन्नुभएको थियो – ओलीले बहुमतको बलमा पेल्छन्,त्यसैले म १० बुँदेका कुरामा सहमत हुन सक्दिन । माधवले भनेजस्तै अहिले ओलीको बहुमतको पेलाइमा परेका उनीहरु मलिन अनुहार लिएर पहिलो विधान महाधिवेशनको हलबाट निस्किन बाध्य भएका छन् ।

विधान महाधिवेशनमा फरक मत राख्ने निर्णयमा पुग्नुभएका घनश्याम भुसाल अन्तत: आफ्नो निर्णय पुनर्विचार गर्ने बिन्दुमा पुग्नुको कारण माधवले भनेजस्तै बहुमतले पेलिने डर नै हो । पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठकमा भुसालले ओलीको प्रतिवेदनविरुद्ध फरक मत राख्ने बताउनुभएको थियो । तर,गोदावरीमा भुसालले त्यो आँट नगर्नुको एकमात्र कारण पार्टीको बहुमत ओलीतिर हुनु हो ।

१० बुँदेको सन्दर्भमा माधवको तर्क थियो – ओलीले सम्झौता कार्यान्वयन गर्दैनन्,यदि बाध्यताबस गरिहाले पनि फरक विचारलाई बहुमतका आधारमा पेल्छन् । त्यसैले म ओली संग सँगै रहन सक्दिन । एमालेमै रहेर ओलीसंग अन्तरसंघर्ष गर्ने अठोट लिएर माधव छाडेकाहरु अहिले हिजोको माधवको भूमिकामा आइपुगेका छन् ।

१० बुँदेको चिर्कटो खल्तीमा हालेर विधान महाधिवेशन हलमा छिर्दा सायद घनश्यामलाई माधवको त्यो भनाइ पटक-पटक याद आएको हुनुपर्छ । सुदूरपश्चिम र १ नम्बर प्रदेशमा १० बुँदे लागू हुन नसकिरहेका बेला गोदावरीमा घनश्यामहरुले भनेजस्तो फरक मत राख्ने अवस्था थिएन । त्यसैले फरक मत राख्ने निश्कर्ष निकालेर गोदावरी पुग्नुभएका घनश्याम त्यहाँबाट निस्किँदा संख्या नपुग्ने भएकाले ब्याक हुनुपर्ने निश्कर्षमा पुग्नुभएको हो । निकटस्थहरुलाई उहाँले बहुमतले अस्वीकार गर्ने भएकाले फरक मत नराखेको सुनाइसक्नु भएको छ ।

त्यसो त,एमालेको विधान महाधिवेशनमा ओलीलाई बा भन्नेहरु पहिलो दर्जाको र तत्कालीन माधव समूहका नेताहरु दोस्रो दर्जाको जस्तो हैसियतमा देखिन्थे । महाधिवेशनको प्रसारप्रसार त्यसैगरी गरिएको थियो । हलभित्र र बाहिरको चहलपहल हेर्दा यस्तो लाग्थ्यो, ओलीबाहेक एमालेमा अरु कोही पनि नेतृत्वका लागि तयार छैन ।

सडकको पोलमा टाँसिएका ओलीका ठुल्ठूला फोटोअंकित ब्यानर र महाधिवेशन हल बाहिर राखिएको स्ट्याचुले पनि ओलीलाई थप शक्तिशाली बनाउन खोजेको थियो । पार्टीमा ओलीविरोधी क्याम्पलाई मनोवैज्ञानिक त्रास दिन महाधिवेशनलाई ओलीमय बनाइएको थियो । फरक मत राख्न कस्सिएर गोदावरी पुग्नुभएका घनश्याम ओलीका भाषण सुनेर फर्किनु पर्ने अवस्था सृजना हुनुको अनेकमध्ये सायद यो पनि एउटा कारण होला ।

१० बुँदेमा सहमत गराउन अरुजस्तै दौडधुप गर्नुभएका घनश्यामलाई माधवको प्रश्न हुन्थ्यो – अहिले सहमत भएर जाउँला भोलि ओलीले बहुमतको आडमा पेले के गर्ने ? पार्टीमा ओलीसंग बहुमत हुने भएकाले आफूहरु कर्नरमा पर्ने र लामो समयसम्म पार्टी ओलीको कब्जामा जाने माधवको विश्लेषण थियो । महाधिवेशनमा गरिएको ओलीको ‘देवत्वकरण’ र उनकै लागि भनेर विधानमा ७० वर्षे उमेर हदको नयाँ ब्याख्या गरिनुले पनि पार्टीमा ओलीले एकछत्र नेतृत्व गर्ने संकेत आइसकेको छ।

ओली आफैंले पनि एक कार्यकाल आफैँ नेतृत्व गर्ने बताइसक्नु भएको छ । एउटै कक्षामा दोहोर्याएर नपढ्ने बताउँदै आउनुभएका उहाँले हिजो विधान महाधिवेशनमा सहभागी ६ हजार बढी प्रतिनिधिलाई सम्बोधन गर्दै ‘मधुकैटवले पनि हल्लाउन नसक्ने एमाले बनाएर मात्र नेतृत्व हस्तान्तरण गर्छु’ भन्नुभएको छ । यसको प्रष्ट सन्देश हो – आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा म नै एमालेको अध्यक्ष बन्छु ।

सायद त्यतिबेला पनि भीम रावल र घनश्यामहरुलाई संख्या पुग्ने छैन र ओलीका विरुध्द उम्मेदवारी दिन आँट गर्नुहुने छैन ।
यो खबर लोकप्रिय अनलाईन जनआस्थामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!