
बिहीवार परराष्ट्रमन्त्री डा. नारायण खड्का सहितको टोली स्वदेश फर्किएका छन् । उनी सहितका टोली संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर स्वदेश फर्किएका हुन् ।

मन्त्री खड्का स्वदेश फर्किए संगै विमानस्थलमा पत्रकाहरुलाई बैठकमा उठाइएको विषयबारे जानकारी गराएका थिए । उनले महासभाको बैठकमा कोभिड–१९ महामारीको प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रलाई खोप, औषधि उपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताए ।
उनले सम्बोधनको क्रममा जलवायु परिवर्तनले नेपालको हिमालय श्रृंखलामा भएको परिवर्तनबारे विश्वलाई सचेत हुनुपर्ने र दीगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय उठाएको बताए ।
त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरू हातहतियारको होडबाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोतसाधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रूपमा उठाएको पनि उनले जानकारी दिए ।
परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति मिसन पठाउने चौथो ठूलो राष्ट्र भएको हुनाले नेपालका सिपाहीलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्ने कुरा उठाएको बताए ।
उनले भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्र मन्त्रीहरूसँग द्विपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदानप्रदान गरेको पनि बताए । मन्त्री खड्काले नेपालले सशक्त र जोडदार रूपमा मुद्दाहरू उठाएको भन्दै ती मुद्दाहरू संयुक्त राष्ट्रसंघमा अभिलेखित हुनेमा विश्वास व्यक्त गरे ।