
१ नं. प्रदेशका एक होनहार युवा नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि काठमाडौं गएछन् बधाई दिन र भेटघाट गर्न । बुढानिलकण्ठस्थित निवासमा धेरै कार्यकर्तामाँझ घेरिएका देउवालाई उनले भेटेछन् र, बधाई पनि दिएछन् ।

कोइराला खेमाका ती युवा नेताले देउवालाई आश्वस्त बनाएछन, ‘मैले विगतका महाधिवेशनमा तपाईंलाई दुईपटक मत दिएको छु । त्यसैले मलाई पनि अब तपाईंले सहयोग गर्नुप¥यो । म तपाईंकै हो, तपाईंको लाइनभन्दा दायाँवायाँ गर्दिनँ ।’
देउवाले मुसुक्क मुस्कुराएर धन्यवाद भने । विगतभन्दा उनलाई हेर्ने दृष्टिकोण फरक महसुस हुने गरी कुराकानी गरे ।
यो कुरा भनेको एक दिन आन्तरीक बैठकमा देउवाले कुरा खोले । फलानो त मेरो मान्छे, उसले मलाई दुईपटक महाधिवेशनमा मत दिएर सहयोग गरेको छ, उसलाई मैले केही त गर्नुपर्छ । मेरो भक्त नै रहेछ ।
देउवाको कुरा सुनेर त्यहाँ पुगेका देउवाका एक अन्धभक्त चार छक्क परेछन् । यसअघि तीन छक्क परेका उनी यो कुराले चार छक्क परेका हुन । उनले पोल खोल्दिए, ‘तपाईंलाई जसले दुईपटक महाधिवेशनमा भोट हालेको गफ दियो त्यो व्यक्ति त अहिलेसम्म पार्टीको महाधिवेशन प्रतिनिधि भएकै छैन, महाधिवेशन प्रतिनिधि नभएको व्यक्तिले कसोरी भोट दियो ?’ देउवाको मुख नै बन्द भयो ।
महाधिवेशनमा होइन निर्वाचनमा सहयोग गरेको होला ! १ नं. प्रदेशका मतदाता कसोरी डडेल्धुरा पुगेर मत दिए होलान् ? गफ पनि पत्याउने, पचाउने तरिकाले दिनु र पो हुन्छ । हाजमोला खोज्नुपर्ने गफ त दिन भएन नि !