
पहिले नेता हुनका लागि हरेक क्रियाशिलबारे जानकार हुनुपथ्र्यो । क्रियाशिल र, नेताबीच प्रत्यक्ष सम्वन्ध थियो र, बनाउनु पनि पथ्र्यो ।

उदाहरणकै लागि विराटनगरमा कांग्रेसको सभापति र अन्य पदमा खडा हुन चाहनेले १९ वटै वडाका क्रियाशिलसित प्रत्यक्ष परिचित हुनुपथ्र्यो । कुन क्रियाशिलको घर कहाँ हो ? के काम गर्छन् ? हरेक मिहीन कुराको जानकारी नेतृत्वलाई हुन्थ्यो ।
यसले नेता र कार्यकर्ताबीचको सम्वन्ध प्रगाढ बनाएको थियो । क्रियाशिल पाउनका लागि केही प्रक्रिया थिए, भलै केही अपवाद बाहेक । क्रियाशिल भएकोमा गर्व महसुस हुन्थ्यो ।
तर, यसपटकको विधान र नयाँ व्यवस्थाले क्रियाशिलसित नेतृत्वको दूरी बढाएको छ । अर्थात् सभापतिमा उठ्नेले अब क्रियाशिल होइन क्षेत्रीय प्रतिनिधि खोज्ने अवस्था आयो । क्रियाशिलको ठाउँ क्षेत्रीय प्रतिनिधि र बुथ वडा सभापतिले लिएका छन् ।
उदाहरणकै लागि विराटनगरमा झण्डै १० हजार क्रिायशिलकहाँ आकांक्षीहरू पुग्नै परेन । मात्र ७ सयभन्दा केही बढी क्षेत्रीय प्रतिनिधि र बुथ सभापतिकहाँ पुग्दा हुने भयो । यसले नेतृत्वलाई तल्लो तहबाट टाढा गराएको छ । सम्वन्धबाट दूरी बढाएको छ ।
बुथको निर्वाचन सकिएपछि क्रियाशिलको भूमिका लगभग आउँदो १५ औं महाधिवेशनसम्म सकियो । उनीहरूको भूमिका यत्ति नै हो । वा पार्टीले सक्रिय भूमिकाका लागि अरू केही सोचेको छ ?
कांग्रेसमा नेता हुन सीमित घेराले पुग्ने भयो अब । यो घाटा नेतालाई भयो कि क्रियाशिल सदस्यलाई ? जवाफ आफै खोज्नुहोस् है ।