हिपमत डटकम

शनिबार, भाद्र १९, २०७८ || 1273  पटक पढिएको

आसन्न कांग्रेसको अधिवेशन लहरले छोपेको छ समाजलाई । मोरङमात्र होइन देशभर निर्वाचनको माहौलले कोरोना महामारीलाई कमजोर बनाउन थालेको भान हुन्छ । भलै मुखमा मास्क लगाएजस्तो गरिन्छ तर, राजनीतिक गतिविधि यतिधेरै बढेको छ लाग्छ कोरोनाले अब केही नाप्दैन ।

मास्क लगाएर चिया पसलमा चिया पिउन सकिन्न ।
कांग्रेसको निर्वाचनमा खडा हुने हरेक क्रियाशिलको अधिकार हो । उम्मेदवार हुन पाउने नैसर्गिक अधिकारमाथि कसैले धावा बोल्न सक्दैन । माथि शिर्षक पढेर विरोध गर्ने भनेर झट्टै प्रतिक्रिया नजानाउनुहोला । यदि जनाउनु भयो भने त्यो हतारो हुनेछ । पूरै आलेख पढ्नुस् ।
कांग्रेसमा खासगरेर अहिले सर्वाधिक उम्मेदवारी क्षेत्रीय प्रतिनिधिहरूको देखिन्छ । क्षेत्रीय प्रतिनिधि महत्वपूर्ण पद ठानिएको छ । बुथ र नगरका उपसभापति, सचिव, कोषाध्यक्ष, सदस्यहरू जस्ता पद ओझेलमा परेका छन् । सबैको चाहना नै क्षेत्रीय प्रतिनिधि हो ।
आखिर के हो क्षेत्रीय प्रतिनिधि ? के गर्छ यो पद प्राप्तिले ?

क्षेत्रीय प्रतिनिधिले नगर र जिल्लाको नेतृत्वका लागि मतदान गर्छ । नगर र जिल्लाको नेतृत्व चयन भएपछि यो पदको कुनै काम छैन । जसरी अहिले क्षेत्रीय प्रतिनिधि बनाउन क्रियाशिल सदस्यहरूको भूमिका छ, नगर र जिल्लाको नेतृत्व चयन गरेपछि क्षेत्रीय प्रतिनिधिहरूको महत्व पनि क्रियाशिल सरह हुनेछ । क्रियाशिलले भोलि गएर सांसद हुन नपाउने होइन । क्षेत्रीय प्रतिनिधि नै हुनुपर्छ भन्ने छैन ।

पछिल्लो समय स्थानिय तहका हरेक वडामा क्षेत्रीय प्रतिनिधिको उम्मेदवारीले चर्चा पाएको छ । यो पदका लागि कतिपय हैसियत नभएकाहरू पनि उम्मेदवार बनेका छन् । नबन्दा हुने, बुथ र नगरमा सीमित हुँदा पनि हुने खालका व्यक्तिलाई पनि क्षेत्रीय प्रतिनिधि चाहिएको छ । क्षेत्रीय प्रतिनिधि आकाशको फल ठान्न थालिएको छ । तर, कुरा यसो पनि होइन ।

क्षेत्रीय प्रतिनिधिमा ती व्यक्ति चयन हुनुपर्छ जसको पार्टीमा निरन्तर लगाव छ । सक्रियता छ । अनुशासनहीन, उम्मेदवार हुनकै लागि उम्मेदवार हुनेहरूलाई क्रियाशिलले चिन्नुपर्छ । हो, अन्तर पार्टी निर्वाचनमा कसैलाई प्याट्ट बोल्नु हुँदैन तर, अहिले पनि समय छ । अग्रजलाई सम्मान गर्दै, नयाँ पुस्तालाई समेत माया गरेर प्रतिनिधिको चयन हुनुपर्छ ।

कसैले लहडमा लागेर उम्मेदवारी दिनु बेग्लै कुरा हो । चर्चा कमाउनकै लागि, समय कटाउनकै लागि उम्मेदवारी दिनु बेग्लै कुरा हुनसक्छ । तर, क्षेत्रीय प्रतिनिधि भएर निर्वाह गर्ने भूमिका के हो ? कांग्रेस भनेको के हो ? मैले कांग्रेसलाई के दिन सक्छु ? भन्ने सामानय जानकारीसमेत नभएकाको उम्मेदवारीको कुनै अर्थ छैन । हुनसक्छ निर्वाचनको महासागरमा डुबुल्की मार्दा कतिपय पत्याउनै नसकिने अनुहारहरू विजय हुनसक्छन् । हार खान्छन् भनेर सोच्दै नसोचेका व्यक्तिहरू पराजित हुन सक्छन् । निर्वाचन एक प्रजातान्त्रिक परिपाटी हो र, यसलाई सबैले स्वीकार गर्नुपर्छ ।

अहिले पनि समय छ । समय कटाउनकै लागि उम्मेदवारी दिएको हो भने, कसैलाई मेख मार्न, समाजमा म पनि छु भनेर उपस्थित देखाउन खोज्नेको उम्मेदवारी रहर हुनसक्छ । उनीहरूलाई उम्मेदवारी फिर्ता लिनुस् भनेर कसैले भन्ने आँट गर्दैन । तर, यसमा आफैले विचार गर्ने कुरा हो ।

सकिन्छ भने सहमति र सहकार्यको राजनीति गरौं । असल व्यक्तिलाई, पार्टीप्रति निरन्तर खटिने विभिन्न क्षेत्रका व्यक्तिलाई चुनेर निर्वाचित गरौं । एउटै परिवारले कांग्रेस धानेको छैन र धान्ने पनि छैन । एउटै परिवारबाट उम्मेदवारको लहर आउने तर, अरूले दर्शक भएर बस्नुपर्ने, अरुले विजय गराउनु पर्ने अवस्था पक्कै पनि आम कार्यकर्ताका लागि पाच्य नहुन सक्छ ।
कांग्रेसका उम्मेदवारले त्याग गर्ने बेला आएको छ । सशक्त उम्मेदवारका लागि बाटो छाड्न सकिन्छ । सकिन्छ भने पछि हट्नुस् । यो त्यागले पार्टीलाई झनै बलियो बनाउने छ । एकतावद्ध पार्ने छ ।

यसमा कुनै करकाप, जवरजस्ती छैन । तर, उम्मेदवार नै हुनुनपर्ने खालका व्यक्ति चुनावमा होमिनुलाई पक्कै पनि तपाईंले सहज तरिकाले हेर्नु भएको छैन होला । यस्तै मौकालाई समय कटाउने मेलो पाएकालाई यो अवस्था रोमाञ्चकारी हुनसक्छ तर, कांग्रेसको अधिवेशन रोमाञ्चक विषय होइन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!