
मिति अन्योलमै छ यद्यपि उम्मेदवारी घोषणा गर्दै घरदैलो गर्ने क्रम तिब्र छ । चोके, चिया पसले बैठकहरूलाई कसले जित्यो, कसले हा¥यो ठोकुवा गरिसक्यो । यो संसदीय निर्वाचन होइन, अन्तर पार्टी निर्वाचन हो भन्ने हेक्का धेरै थोरैलाई मात्र भएको भान हुन्छ ।

यस्तै सक्रिय र एकतावद्ध कांग्रेस हुने हो भने कुनै पनि निर्वाचनमा यो पार्टी पराजित नहुनुपर्ने हो । सान्दार विजयको सट्टा सान्दार पराजय किन भोग्नुपर्छ कांग्रेसले ? किनभने कांग्रेसले कांग्रेसलाई विश्वास गरेको अवस्था हुन्न । जब विश्वास संकटमा पर्छ तब समस्या आउँछ नै । अहिले कांग्रेसमा मपाईतन्त्र हावी भएको छ । यो पराजयको मानसिकता नै हो ।
हो, निर्वाचनमा समूह हुन्छन, गुट बन्छन् तर, अन्तर पार्टी निर्वाचनमा यस्ता प्रक्रिया सामान्य हुनुपर्ने हो । हात धोएर कसैको समर्थन र कसैको विरोध गर्नुपर्ने अवस्था पक्कै हुन्न । निर्वाचन हो, सामान्य प्रक्रियाअनुसार चल्नुपर्छ । कसैलाई खुइँल्याउने काम गर्नुहुन्न ।
पक्कै पनि घरदैलो अभियानले कांग्रेसलाई सक्रिय बनाएको छ । तर, यो सक्रियता किन लामो समयसम्म रहन्न । निर्वाचन सकिएपछि एक कांग्रेसीले अर्को कांग्रेसीलाई देख्यो भने बोल्नै नपरोस्, हेर्नै नपरोस् भन्ने सोचाई किन बढुछ ? यो सत्रुता किन ?
कसैलाई काखा, कसैलाई पाखा गर्ने निर्वाचन हुनुहुन्न कांग्रेसको अधिवेशन । कसैलाई सत्तोसरासप गर्ने अनि कसैलाई भगवान नै सम्झने हनुमाने प्रवृत्ति पनि पार्टीका लागि घातक हुने निश्चित छ ।