
बालकोटमा केपी ओलीलाई भेटेर भीम आचार्यले ‘बहुमत सिद्ध गर्छु’ भन्ने दावी पेस गरे । आचार्य माधव नेपालसित भेट्न कोटेश्वर निवास पनि पुगे र, सहयोगको याचना गरे । ओलीले आफ्ना विश्वासपात्र शेरधन राईलाई संसदीय दलको नेताबाट राजिनामा दिन भने र, बिहिबार एक महिनाभित्र बहुमत सिद्ध गर्ने गरी मुख्यमन्त्रीको सफथ लिए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद छन् । यसमा एक सांसद फरार सूचीमा छिन् भने सभामुखले मत दिन पाउँदैनन् । आचार्यलाई संसदीय दलको नेता चुनिँदा २६ सांसदले समर्थन गरेका छन् । एमाले समाजवादीले राजेन्द्र राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।
यो समिकरण हुने वित्तिकै ओली कित्तामा लागेकाहरू माधव नेपालतर्फ आउने देखिन्छ ।
विहीबार विराटनगरमा बसेको संसदीय दल बैठकमा २४ जना सांसदले सहभागिता जनाउँदै आचार्यलाई संसदीय दलको नेता छनौट गरे । प्रदेश प्रमुखको कार्यालयमा थप २ जना सांसदले आचार्यलाई संसदीय दलको नेतामा समर्थन गर्दै हस्ताक्षर गरे ।
प्रदेश संसदको गणितलाई हेर्दा आचार्यले बहुमत सिद्ध गर्न फलामको च्युँरा चपाउनुपर्ने छ । नेकपा एमाले समाजवादीमा ८ जना सांसद मात्र गए पनि आचार्यले बहुमत पाउन सक्दैनन् । समाजवादी एमालेले कम्तिमा १५ सांसद आफ्नो पार्टीमा रहेको दावी गरिरहेको छ ।
अब आचार्यले ३० दिनभित्र प्रदेशसभामा मुख्यमन्त्री पदमा कायम रहिरहन बहुमत सावित गर्नु पर्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सावित गर्न ४७ सांसद चाहिन्छ जुन आचार्यले मिलाउन सक्ने अवस्था रहन्न ।
आचार्य पुनः एमालेमा फिर्ता हुँदा नेपाल समूहका ८ सांसदलाई लिएर फिर्ता भएका हुन् । आचार्यले जीवन घिमिरे, बलबहादुर सामसुहाङ, लिलाबल्लभ अधिकारी , यशोदा अधिकारी, लक्ष्मण तिवारी, सावित्री जोशी र होमकुमारी सावालार्ई आफूसँगै एमालेमा राख्न सफल भएका छन् । तर, बुहमत सावित गर्न यो संख्या नै पर्याप्त हुन्न ।
विपक्षी गठबन्धनतर्फ कांग्रेस २१, माओवादी केन्द्र १५, जसपा ३ गरेर ३९ सांसद एक ढिक्का छन् । एमाले समाजवादीले ८ सांसद मात्र सुरक्षित राखेको अवस्थामा आचार्यले बहुमत सिद्ध गर्न सक्दैनन् ।
निवर्तमान मुख्यमन्त्री राईसँगको स्पर्धामा संसदीय दलको नेतामा झिनो मतको अन्तरले पराजित भएपछि आचार्य माधव नेपाल समूहमा लागेका थिए । पछिल्लो समय नेपालको साथ छाडेर पुनः केपी शर्मा ओलीको नेकपा एमाले कित्तामा उभिएपछि आचार्यले उपहार स्वरूप मुख्यमन्त्रीको कुर्सी प्राप्त गरेका छन् ।
मुख्यमन्त्री आचार्यलाई बहुमत सावित गर्न फलामको च्यूरा चपाएजस्तै हुने विपक्षी गठबन्धनका एक सांसदले बताए । पार्टीको कोटामा प्रदेश प्रमुख भएका सोमनाथ अधिकारीको भूमिकाप्रति पनि विपक्षीले प्रश्न उठाएका छन् ।
नवनियुक्त मुख्यमन्त्री आचार्य यसअघि संघीय सरकारका पर्यटन मन्त्री भइसकेका छन् । उनी एमालेका केन्द्रीय सचिव र प्रदेश इन्चार्ज हुन ।