सोमबार, भाद्र ०७, २०७८ || 915  पटक पढिएको

५ दिन चल्ने झुलन महोत्सव कोरोना महामारीले खल्लो हुन पुगेको छ । विराटनगरमा कोरोना अघिको झुलन महोत्वस रंगारंग र धुमधामका साथ मनाइने गरिन्थ्यो ।

युवायुवती कहिले झुलन आउला र समूहमा भगवान श्रीराधाकृणको प्रतिमा सवार झुल्ना झुलाउँदै हिँडुला भनेर झुलन कुरेर बस्ने गर्थे । झुलनका बेला बालबालिका अत्याधिक संख्यामा मन्दिर बाहिर रहने बेलुनवालासँग बेलुन किन्न ललायित बन्ने गरेका थिए ।
चौक–चौकमा टेन्ट र त्रिपाल टाँगेर झुलन मनाउँदै प्रसादी खानलाई होडबाजी नै चल्ने गरेको थियो । तर कोरोनाको प्रत्यक्ष असर झुलन महोत्सवलाई पनि परेको छ ।

कोरोनाको कारण रंगीचंगी झुलन महोत्सव फिक्का बन्दै गएको छ । केवल विधिको लागि झुलन मान्न थालिएको छ । मोरङ प्रशासनले निशेधाज्ञा लागु गरेर बेलुकी ६ बजेसम्म बजार चल्न दिने आदेश जारी गर्नाले पनि साँझमा मन्दिर मन्दिर घुमेर झुला तान्ने सर्वसाधारणमा झुलनलाई लिएर आकर्षण कम बनेको छ । विराटनगरमा पुत्रदा एकादशीदेखि पूर्णिमासम्म ५ दिन झुलन मनाइने गरिएको छ । विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिरमा ५ दिन भव्य उत्सवका साथ मनाइने झुलन महोत्सव विधिमा मात्र सिमित हुन पुग्यो । साधारण तवरबाट सिमित व्यक्तिको उपस्थितिमा मन्दिर प्रवेश द्वारमा सटर लगाएर झुलन कार्यक्रम गरिएको थियो ।

मन्दिरका मुख्य पुजारी गोपाल पौडेलले झुलन ५ दिनसम्म मनाउने चलन भएपनि कोरोना जोखिमलाई मध्यनजर गर्दै मास्क लगाएर सीमित व्यक्ति सहभागि गराई विधिमात्र गरेर सम्पन्न गरिएको बताए ।

अन्य मन्दिरमा पाँचै दिन झुलन मनाइएपनि कोरोनाका कारण झुला तान्ने भक्तजनको अभाव छ । विराटनगर–२ स्थित विराटेश्वर शिव मन्दिरका पुजारी नारायण झाले पहिला पहिलाको झुलनमा पाँचै दिन मन्दिरमा अवेर रातसम्म भारी भीड लाग्ने गरेको स्मरण गरे । उनले अघिल्लो वर्षदेखि झुलनको रौनकता हराएको जिकिर गरे । झाले भने, ‘विराटनगरवासी कहिले झुलन सुरू हुन्छ भनेर दिन गनेर बस्ने गरेका थिए । साँझ थकान र तनाव मेट्न मन्दिर मन्दिर पुगेर धर्म कमाउन भगवान विराजमान झुला झुलाउने गरेका थिए । तर अब झुला तान्ने भक्तजन छैनन् । सबै उजाड भयो ।’

श्री राधाकृष्ण रथ यात्रा समितिले कोरोनाका कारण रथयात्राको साटो खटयात्रा निकाल्ने बताएको छ । तर समय भने गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!