हिपमत डटकम

मंगलबार, भाद्र ०१, २०७८ || 1180  पटक पढिएको

मोरङ कांग्रेसको विभिन्न तहको निर्वाचनका लागि उम्मेदवार हुने क्रम बढे पनि यो जिल्लासित प्रत्यक्ष सरोकार राख्ने केन्द्रीय नेताहरूले स्पष्ट लाइन दिने सबालमा मौनता साधेका छन् ।

उनीहरूले आफुकहाँ आउनेलाई हुन्न पनि भनेका छैनन्, हुन्छ भनेर आश्वासन पनि दिन सकेका छैनन् । आकांक्षीहरू आफुखुसी प्रचारमा सक्रिय छन् । तर, एउटै गुटबाट आकांक्षी थपिएपछि भने एउटै गुटमा समेत मिलाउन निकै हम्मेहम्मे पर्ने देखिएको छ ।

मोरङको राजनीतिमा शक्तिशाली हैसियत राख्ने केन्द्रीय नेताहरूको मौनतापछि आकांक्षीहरू काठमाडौं दौडधुपमा ‘लाइन’ पाउन पुगेका छन् । खासगरेर मोरङ कांग्रेसको राजनीतिमा जिल्ला समिति र विराटनगर महानगरको नेतृत्वका लागि रस्साकस्सी बढी देखिएको छ ।
देउवा पक्षबाट जिल्ला सभापतिमा दिलीप गच्छदार, रमेशजंग रायमाझीमध्ये को भन्ने स्पष्ट भएको छैन ।

पुरानो सस्थापन पक्षबाट यदु बिष्टको नाम चर्चामा छ। तर विष्ट आफुलाई कुनै पक्षको भन्न रुचाउँदैनन् । उनी अमृत अर्याल सभापति हुँदा सचिव थिए ।

अर्को पक्षबाट सभापतिमा डिगबहादुर लिम्बू, नागेश कोइराला, निरञ्जन रिजालको नाम आएको छ । लिम्बू सभापति भए भने उपसभापतिमा सचिव मोदराज घिमिरे र नागेश कोइरालामध्ये एक कसलाई ल्याउने भनेर केन्द्रीय नेता खुलेका छैनन् ।

सचिव घिमिरेले उपसभापतिमा दावी प्रस्तुत गरेर प्रचारमा सक्रिय भइसकेका छन् । कोइरालाको दावी पहिले सभापतिमा थियो र, लिम्बूले नछाडे उपसभापतिमा चित्त बुझाउने उनको प्रयास छ । पहाडे समुदायबाट दुई उपसभापति हुन सक्ने अवस्था छैन र, एक उपसभापति मधेसी, थारु, मुस्लिम, आदिवासी–जनजातिमध्ये एकलाई मिलाउनु पर्ने हुन्छ ।

विराटनगरको सभापतिमा आधा दर्जन आकांक्षी देखिएका छन् । कार्यवाहक सभापति अरुण न्यौपाने, कृष्ण कार्की, दीपक चापागाईं, सन्तोष न्यौपाने, प्रकाश दाहाललगायतको नाम आएको छ ।

मोरङको राजनीतिमा प्रभुत्व जमाउने अमृत अर्याल, डा. शेखर कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. डिला संग्रौला, आमोदप्रसाद उपाध्याय, गुरूराज घिमिरेहरू खुलेका छैनन् । यी नेताहरू नै कुन–कुन कित्तामा जाने हुन स्पष्ट भएको छैन र, यसैले पनि उम्मेदवार छनौटमा सकस परेको छ ।

‘केन्द्रीय नेताहरूको लाइन नपाइकन चुनाव जित्ने अवस्था रहँदैन तर,’ नगर सभापतिका एक आकांक्षीले न्यू सृष्टि दैनिकलाई भने, ‘तर, नेताहरू कहाँ गयो, कुरा गर्दा हुन्न भन्दैनन्, हुन्छ पनि भन्दैनन्, छलफल गरौ न भनेर कुटनीतिक जवाफ दिइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!