फिल्म ‘आमा’ सेन्सर पास भएको छ । मंगलबार चलचित्र सेन्सर बोडले फिल्मलाई युनिभर्सल प्रमाण पत्र दिँदै प्रदर्शनका लागि खुल्ला गरेको छ । फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । सेन्सर बोडले फिल्मको बिषयबस्तु र मेकिङको प्रशंसा गर्दै सेन्सर पास गरेको निर्देशक खनालले जानकारी दिए ।
स्वदेशसहित अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आउने फिल्म फागुन ९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो । फिल्म अमेरिकाको लागि एट्ट्रा प्रोडक्सन र अष्ट्रेलियाका लागि एएसएपी इन्टरटेनमेन्टले प्रदर्शन ल्याउन लागेको हो ।
आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको यो फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । काठमाडौं र रामेछापमा खिचिएको फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो ।