पुस्तक समीक्षा
विराटनगर–३ मोरङलाई कर्मथलो बनाउदै समाजसेवा तथा साहित्यमा रमाउने कुशल गृहिणी मञ्जु घिमिरे दाहालको ‘मेरो प्रतिक’ कवितासङ्ग्रह बजारमा आएको छ । पुस्तक आज मेरो हात परेको छ । यसैका बारेमा चर्चा गर्न गैरहेको छु । कभरबाहेक ७६ पेज, कभर राम्रो देखिन्छ । पुस्तक पसलमा उपलब्ध छ ।
प्रकाशक खेमनाथ दाहाल विराटनगर, आवरण चित्र गोपाल ‘कलाप्रेमी’, लेआउट अशोकनारायण पण्डित, मुद्रक अपरिचित छापाखाना, बालाजु, काठमाडौँ, मूल्य १००।– छ । समर्पण दुर्गादेवी दाहाल यो सासूआमाप्रतिको सम्मान हो । बुबा कृष्णप्रसाद घिमिरेलाई कविले श्रद्धासुमन भन्नुभएको छ ।
शुभकामना भनि प्राज्ञ विवश पोखरेल, सफलताको कामना भनी डम्बरजंग डाँगी, सम्पादकीय प्रमुख, गोरखापत्र विराटनगर प्रकाशन, स्रष्टा र साहित्यका कुरा भनी ममता श्रेष्ठ, नारी स्रष्टा समाज, विराटनगर, मेरो प्रतिक भित्रको कवित्व भनी कवि तथा समालोचक हरिप्रसाद बराल, कवि र कविताका कुरा भनी साहित्यकार रामबाबु दाहाल समेतले एघार पेज लेख्दै सार गर्भित तवरले कविता बारेमा राम्रो मूल्याङ्कन गर्दै बधाई दिनुभएको पाइन्छ । स्वयम् कविले दुई पेज लेख्दै थुप्रै अग्रजलाई धन्यवाद दिनुभएको छ ।
‘मेरो प्रतिक’ कवितासङ्ग्रहभित्र जम्मा ३९ वटा कविता छन् जुन पढौँ–पढौँ लाग्नेछ । पहिलो कविता ‘मेरो बालापन’ छ भने अन्तिम कविता ‘लगाएको पिरती तिमीले’, यस सङ्ग्रहको भाग्यमानी तेस्रो कविता ‘मेरो प्रतिक’ छ । जबाट यस पुस्तकको नामकरण गरिएको छ ।
सायद कविको छोराको नाम प्रतिक हुन सक्तछ । भाषा सरल छ, कविता भनेको कविको मनमस्तिष्कबाट प्रस्फुटित भावना हो, कविले आफ्नो वालापनका भावना व्यक्त गरेकी छिन्, जीवनको सुखदुःख छचल्किछ, ममतासँगै चाडपर्वको बिम्ब प्रस्तुत गरिएको छ, बुबाको याद, छोरीको पीडा, देशलाई समेत कविताको माध्यमद्वारा माया गरेकी छिन् ।
यस सङ्ग्रहमा आफ्ना विचारलाई कलात्मक रुपले कविताको माध्यमबाट पस्किएको छ, नारी दृष्टिकोण झल्किन्छ, आफूले भोगेका कुरा आएको छ, कवितामा संस्कृति बोलेको छ, इतिहास बोलेको छ, अग्रजहरुप्रति सम्मान छ, वर्तमानमा देखिएका पीडाप्रति विरोध छ, उनको आफ्नै जीवनको सेरोफेरोमा रुमलिएको कविताहरु छन् ।
मुक्त शैलीले भावनाका डुङ्गा तै¥याउन सक्ने सकुशलता यिनमा टड्कारो पाइन्छ । उनको चार लाइन कविता हेरौँ–
‘युग हाँक्न सक्ने शक्ति उसको हातमा
विकास र विनाशको चावी उसको माथमा
बोकी हिँड्छ विजयको ध्वजा आफ्नो काँधमा
शिखर चढ्ने योग्यता उसको साथमा ।’
यसप्रकार मञ्जुको कविता अघि बढेको छ । यिनमा काव्यचेत प्रखर छ, बिम्ब चयन, सङ्कथन सटिक र सङ्क्षिप्त छ । शैली शिल्प स्वनिर्मित छ, शब्द चयन सरल छन्, भाव स्पर्शमा साना पङ्क्ति पोटिला रसिला छन् र सम्प्रेषणमा कौमार्यता छ, मिहिन लय छ, अझै मेहनत गरेर साधना गरी सृजना तयार गर्नुपर्छ कविको काव्य यात्रामा थकाइ नलागोस् ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।