विराटनगरमा भदौ १५ गते निकालिने श्रीराधाकृष्ण रथयात्रा तयारीको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । यसपल्ट पनि रथयात्रा निस्कने छैन ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्राको साटो निकालिने खटयात्राको समयतालिका पनि गोप्य राखिएको छ । मोरङका प्रजिअ कोषहरि निरौला, जिप्रका मोरङका प्रमुख एसपी जनार्दन जिसी र विराटनगरका मेयर भीम पराजुलीसँग गरेको छलफलपछि श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समिति र रथयात्रा आयोजक समितिले कोभिड–१९ महामारी तथा डेल्टा प्लस भाइरसका कारण २०७८ सालको रथयात्रा महोत्सवको सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जानकारी गराएको छ ।
कोभिड–१९ महामारीको कारण देशमा लकडाउन जारी रहेको बेला अघिल्लो वर्ष ०७७ सालको रथयात्रा खटयात्राको रूपमा निस्किएको थियो । त्यसबेला युगल जोडी भगवान राधाकृष्णको मूर्तिलाई खटमा राखेर गाडीमा नगर परिक्रमा गराइएको थियो ।
यस वर्ष पनि रथयात्राको ठाउँमा खटयात्रा निस्कने छ । आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले भने, ‘तर खटयात्राको समयतालिका गोप्य राखिएको छ ।’ विराटनगर–१ पोखरिया स्थित श्रीराधाकृष्ण मन्दिरमा गेट लगाएर खटको पूजापाठ गरेपछि गाडीमा हालेर जुनसुकै बेला नगर परिक्रमा गराउने अध्यक्ष ओझाको भनाई छ । अघिल्लो वर्ष लकडाउन जारी रहेको बेला खटयात्राले नगर परिक्रमा गर्दा सर्वसाधारणले थाहै नपाउँदा उत्साहप्रद भएन ।
यस वर्ष मोरङ प्रशासनले नगरक्षेत्रमा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञाकाबीच बजार खुल्ला छ । बजार खुल्ला भएको कारण खट्यात्राको अवलोकन गर्ने श्रद्धालु भक्तजनको संख्या बढ्ने देखिन्छ । जसलाई नियन्त्रण गर्न मोरङ प्रशासनलाई हम्मेहम्मे पर्ने आँकलन गरिएको छ । रथयात्रा आयोजक समितिले युगल जोडी भगवान राधाकृष्णको मूर्तिलाई ५० वर्ष अघिको खटमा राखी गाडीमा स्पीडका साथ नगर परिक्रमा गराउँदा श्रद्धालु भक्तजनले छुन नपाउने हुनाले संक्रमणको खतरा नहुने उपाध्यक्ष नन्दकिशोर राठीले बताए ।
राठीले भने, ‘हामीले खट्यात्राको प्रचार–प्रसार गोप्य राखेका छौं, खट्यात्रा निकाल्ने समयतालिका गोप्य नै रहन्छ ।’
रथयात्रा निस्कनु अघि विराटनगरका विभिन्न ११ जना विशिष्ट व्यक्तिहरूले विशेष पूजा गर्ने चलन थियो । यो चलनमा रोक लगाइएको छ । कोभिड–१९ महामारीको संक्रमितको संख्या र मृत्युदरको अवस्थालाई हेरेर खट् राखेको गाडीको गति निर्धारण गरिने छ ।
विराटनगर–१ पोखरियाको श्रीराधाकृष्ण मन्दिरबाट खट् सवार निस्कने गाडी नगरक्षेत्रको कुनै ठाउँमा नरोकी एकैपटक मन्दिर प्रवेश गराउने गरी तयारी भइरहेको उपाध्यक्ष राठीले बताए । कोभिड–१९ महामारी जारी हुनु अघि विराटनगरको पोखरियाबाट निस्किएको रथ नगरको विभिन्न ठाउँको परिक्रमा गरेर ४ घण्टापछि पुनः मन्दिरमा पुग्ने परम्परा थियो । ४ घण्टामा नगर परिक्रमा गर्ने रथ खट्यात्रामा परिणत भएको र बढिमा ३० मिनेटभित्रमा पुनः मन्दिर प्रवेश गर्ने छ ।
श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समिति पोखरियाले श्रीराधाकृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा भव्य कार्यक्रम गरेर ऐतिहासिक रथ यात्रा निकाल्ने गरेको थियो । विराटनगरको श्रीराधाकृष्ण रथयात्रालाई दक्षिण एसियाकै जगन्नाथ पुरी पछिको ठूलो रथयात्रा महोत्सव मानिएको हो । जुन ऐतिहासिक रथयात्रा महोत्सवको नेपाल र भारतका सबै जात, जाती, वर्ग, लिङ्ग, समूदाय गरेर ५ लाखभन्दा बढि श्रद्धालुजनले प्रत्यक्ष अवलोकन गर्ने गरेका थिए ।
वैदिक हिन्दू परम्पराअनुसार सर्वशक्तिमान परमेश्वरप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्न विस. १९८८ सालदेखि विराटनगरमा खट्यात्राको आरम्भ भएको थियो । खट्यात्रालाई ०२५ सालदेखि विशाल रथयात्रा निर्माण गरी निरन्तर रथयात्रा गरिँदै आइरहेको छ ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।