चर्चित दक्षिण भारतीय अभिनेत्री जयन्तीको सोमबार बिहान बेंगालुरुमामा निधन भएको छ। उमेरजन्य समस्याका कारण घरमा सुतिरहेको अवस्थामा उनको निधन भएको इन्डियन एक्सप्रेसले जनाएको हो। उनी ७६ वर्षकी थिइन्।
कन्नड, तेलुगू, मलयालम, तामिल र हिन्दी भाषाका सयभन्दा बढी फिल्ममा अभिनय गरेकी उनले सन् १९६३ को कन्नड सिनेमा जेनु गुडुबाट अभिनय यात्रा सुरु गरेकी थिइन्।
उनी दक्षिण भारतीय सुपरस्टारहरुसँग अभिनय गर्ने थोरै अभिनेत्रीहरुमा पर्छिन्। उनले एनटी रामाराव, एमजी रामचन्द्र, राजकुमार र रजनीकान्तजस्ता सुपरस्टारसँग धेरै फिल्ममा महत्वपूर्ण फिल्म खेलेकी छन्। उनले जेमिनी गणेशन, एमजिआर र जयललिताजस्ता दिग्गजसँग पनि काम गरिन्।
पेदारायुदु, स्वाथी किरानम, कोदाम सिंहम, जस्टिस चौधरी र कोन्दाविती सिंहम उनका प्रमुख फिल्म हुन् जसले उनलाई तेलुगू दर्शकमाझ पहिचान दिलाएको थियो। उनी १९६० देखि ८० को दशकमा सक्रिय सुन्दर र प्रतिभावान अभिनेत्री हुन्।
उनले हिन्दी भाषाका ‘तीन बहुरानियाँ’, ‘तुमसे अच्छा कौन है’, ‘गुन्डा’मा समेत अभिनय गरेकी छन्।
सशक्त अभिनयका लागि एडाकाल्लू गुड्डा मेले, मन्शान्तरेथ मंगलय्या, धर्म दारी थप्पिठु लगायत फिल्मका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी उनी ‘अभिनय शारदे’ उपाधिबाट सम्मानित छन्।