भारतको नयाँ दिल्लीमा विधानसभा निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहानदेखि मतगणना सुरु भएको हो ।प्रारम्भिक मत परिणामले दिल्ली विधानसभामा आम आदमी पार्टी फेरि सत्तामै रहने संकेत गरेको छ । अर्कोतिर भारतीय जनता पार्टीले पनि अघिल्लो विधानसभा निर्वाचनको तुलनामा राम्रै नतिजा ल्याउने देखिएको छ ।यही परिस्थितिका बीच दुवै पार्टीका मुख्यालयमा मंगलबार बिहान नयाँ पोस्टर टाँसिएका छन् । आम आदमी पार्टीको मुख्यालय बाहिर पार्टी नेता अरविन्द केजरीवालको तस्वीरसहित टाँसिएको पोस्टरमा लेखिएको छ, ‘राम्रो हुनेछ पाँच साल, दिल्लीमा त केजरीवाल ।’
यो पोस्टरमा विधानसभा निर्वाचनमा आम आदमी पार्टीको जित निश्चित रहेको प्रष्ट सन्देश दिइएको छ ।
अर्कोतर्फ भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी नेता अमित शाहको तस्वीरसहितको पोस्टर टाँसिएको छ, जसमा पराजय स्वीकार गरिएको सांकेतिक सन्देश छ ।
पोस्टरमा लेखिएको छ, ‘विजयबाट हामी अहङ्कारी हुने छैनौँ र पराजयबाट हामी निराश हुने छैनौँ ।’
प्रारम्भिक मत परिणामले दिल्ली विधानसभामा भारतीय जनता पार्टी दोस्रो ठूलो दल हुने देखिएको छ । २०१५ को विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६७ सिटमा जित हासिल गरेको थियो भने भारतीय जनता पार्टीले बाँकी तीन सिटमा जित हासिल गरेको थियो ।
अहिले आम आदमी पार्टीले अघिल्लो निर्वाचनको तुलनामा केही सिट गुमाउने र भारतीय जनता पार्टीले केही सिट बढाउने अनुमान गरिएको छ ।