हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 526  पटक पढिएको

विराटनगरमा छाडा छाडिएका घर पालुवा सुँगुरले आतंक मच्चाउँदा किसानको मोटो रकम बराबरको उखु खेती नष्ट भएको छ ।
विराटनगरका दर्जनौ किसान छाडा छाडिएका सुँगुरलाई नियन्त्रण गर्न माग गर्दै महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । महानगरपालिका सुँगुर नियन्त्रणप्रति उदासिन बनेपछि उखु किसान पालैपालो छाडा सुँगुरलाई धपाउने अभियानमा लागेका छन् ।

मोरङ–सुनसरीको सीमाना विराटनगर–६ स्थित केशलिया नदि किनार रिङ्गरोडको ब्रह्मपुरा क्षेत्रमा लगाइएको उखु खेतीमा सुँगुरले आतंक मच्चाउन थालेपछि घरजग्गा बैंकमा धितो राखेर ऋण लिएका किसानहरूको उठिवास हुने अवस्था सृजना भएको छ ।

महानगरपालिका फोहरको व्यवस्थापनको जिम्मा लिएको वेष्ट म्यानेजमेन्ट कम्पनीले केशलिया नदिको किनारामा फोहर विसर्जन गर्ने गरेको छ । विराटनगरको घरघरबाट निस्कने फोहरजन्य दुषित पदार्थ खुवाउन स्थानिय डोम समूदायले सुँगुरलाई छाडा छाड्ने गरेका छन् । केहि समय सुँगुर नुनिलो फोहर पदार्थ खाइसकेपछि गुलियो खाना नजिकै उखु बारीमा उखु भाँच्दै खान थालेपछि विगाहाका विगाहा उखु नष्ट हुन थालेको छ ।

मंसिरमा किसानले रोपेको उखु पुषमा काटेर बिक्री गर्ने गरेका छन् । यतिखेर उखु परिपक्व नभइसकेकोले सुँगुर भटाभट उखुलाई भाच्दै खाने गरेको छ र उखु खाएर अघाएका झुण्डका झुण्ड सुँगुर त्यहि खेतमा शौच गर्ने, पल्टिएर सुत्ने हुनाले र हुलैमा विरूवा टेक्दै भाग्ने गरेको हुनाले विगाहाका विगाहा उखु नष्ट हुँदै गएको छ । विराटनगर–६ का मदनकिशोर कामतको जग्गा ठेक्कामा लिएर २ वर्षदेखि उखु खेती गर्दै आएका स्थानिय वरिष्ठलाल चौधरीले दुई विगाहा खेतीमा लगाएको उखु सुँगुरले पूर्णरूपमा नष्ट गरिदिएपछि ऋण लिएर उखु खेती गरेका चौधरीको अवस्था नाजुक बन्दै गएको छ ।
मनसुन सुरू भएपछि धान खेतीमा व्यस्त रहेका चौधरी एक महिनापछि उखु हेर्न जाँदा झुण्डका झुण्ड सुँगुरले आफ्नो खेतीको उखु खाएर सिध्याएको देखेपछि उनको शारीरिक र मानसिक अवस्था खल्बलिएको छ । मोरङ सुनसरीको सीमाना केशलीया नदि किनारको रिङ्गरोड क्षेत्रमा चौधरीमात्रै होइन धेरै किसानले विगाहाका विगाहा उखु खेती लगाएका छन् र कुनै खेत सुँगुर आतंकबाट बच्न सकेको छैन ।

विराटनगर–११ स्थित केशलिया रोडमा डोम समुदायको बाक्लै वस्ती छ । डोम समुदायले सयौं घरेलु सुँगुर पालनलाई पेशा बनाएका छन् । एकाविहानै सुँगुरलाई खोरबाट छाडा छाडिदिँदा केशलिया रोडको विभिन्न घरमा सुँगुर पसेर शौच गरिदिने, पुजा कोठामा पसिदिने, चोख्याएको भाडा सुघ्ने र चाटिदिँदा नगरबासी त्रसित छन् । स्थानियवासी डोम समूदायसँग के मुख लाग्ने भन्दै महानगरपालिकामा पटक–पटक ध्यानाकर्षण गराएका छन् ।
महानगरपालिका छाडा छाडिएका सुँगुर नियन्त्रण गर्न उदासिन छ ि। यसरी सुँगुर पालन गरिरहेको सयौं डोम समूदाय फोहर विसर्जनका लागि सरकारी जागिरेको रूपमा कार्यरत छन् । यसरी सरकारी जागिरे डोम समूदायलाई पाल्ने गरेको सुँगुरलाई नियन्त्रण गर्न खोजे उनीहरू महानगरपालिकामाथि नै जाई लाग्ने र नगरक्षेत्रको फोहर नउठाइदिने हो की भन्ने पीरले महानगरपालिका तै चुप मै चुप छ ।

महानगरवासी सुँगुर आतंकबाट पीडित रहेको अवस्थामा अब उखु किसानदेखि करेसाबारी गर्नेसम्म आतंकित बनेका छन् । उखु किसान चौधरीले गुनासो गरे, ‘दुई विगाहामा उखु खेती लगाएको थिए जसमध्ये ७५ प्रतिशत उखु सुँगुरको आहरा बन्यो, अब बाँकी २५ प्रतिशत छ,
यसमा पनि महानगरपालिकाले सुँगुर नियन्त्रण गरेन भने त्योपनि सिध्याइदिन्छ ।’

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा ब्रह्मदेव यादवले लेख्नु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!