शुक्रबार, साउन ०८, २०७८ || 785  पटक पढिएको

 

कारोना महामारीसँगै चेनब्रेकका लागि लगाएको निषेधाज्ञा अवधिमा आत्महत्या बढेका छन् ।
०७८ असारमा मात्रै १८ पुरूष, १२ महिला, २ बालक र १ बालिका गरी ३३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जारी साउनमा १ महिला र १ पुरूषले झुण्डिएर आत्महत्या गरे ।

विष सेवन गरेर १ पुरूष र १ महिलाले आत्महत्या गरे । तथ्याङ्कलाई विस्तृत रूपमा केलाउँदा ०७७ सालको साउन १२, भदौ १२, असोज १८, कात्तिक ११, मंसिर २२, पुष २८, माघ १३, फागुन ३१, चैतमा २० जनाले झुण्डिएर आत्महत्या गरे । ०७८ साल बैशाखमा १४ जना, जेठ २८ जनाले झुण्डिएर आत्महत्या गरेकाछन् ।

०७७ सालको साउनमा ७, भदौ ४, असोज १, मंसिर १, पुष २, माघ ३, फागुन ११, चैत २, बैशाख १, जेठ ४ र असारमा २ जनाले विष सेवन गरेर आत्महत्या गरे । ०७६ साल बैसाख १८ गतेदेखि शनिबार मध्यरातदेखि मोरङमा निषेधाज्ञा लागु गरिएको थियो । सीमित व्यवसायलाई निश्चित समयका लागि छुट दिइए पनि अधिकांश कारोबारलाई भने पूर्ण निषेध गरिएको थियो ।

निषेधाज्ञाको अवधि बैशाखदेखि साउन ७ गतेसम्मको आत्महत्याको संख्या केलाउँदा मोरङमा ८२ जनाले आत्महत्या गरिसकेका छन् । मोरङमा जारी निषेधाज्ञाको अवधिमा भएको आत्महत्याको संख्याले चिन्ता बढाएको छ ।
निषेधाज्ञाका कारण भविष्य जोखिममा पर्न गई डिप्रेसन मौलाएको छ । आत्महत्याको प्रमुख कारणमध्ये दिक्दारी (डिप्रेसन) एक हो । जिल्ला प्रहरी कार्यालय मोरङका महिला तथा बालबालिका शाखामा कार्यरत प्रहरी निरीक्षक एल्जिना राईले आत्महत्या गर्ने अधिकांशमा डिप्रेसन भएको बताइन् । उनले हरेक व्यक्ति डिप्रेसनले ग्रसित भएको तर डिप्रेसनको स्तर भने फरक फरक रहेको तर्क गरिन् ।

मुद्दा शाखाका प्रहरी निरीक्षक मिलन थापाले आत्महत्यामा महिला तथा घरेलु हिंसा र तनावले महत्वपूर्ण भू्रमिका खेल्ने बताए । निषेधाज्ञाका बेला नोकरी गुमाएर घरै बस्ने श्रीमान्ले श्रीमतीलाई रक्सी सेवन गरी दिनहुँ कुटपिट गरिरहँदा तनावमा आएर श्रीमतीले आत्महत्या गरेको पनि पाइएको छ ।
निषेधाज्ञामा घरका सदस्यको नोकरी गुम्न गई आम्दानी रित्तिँदा दिनहुँको झैंझगडा, कलह, अन्धकार भविष्य, परपुरूष र परस्त्रीसँगको अफेयर सार्वजनिक, शारीरिक अशक्ततता , नकारात्मक सोच, मोबाइलको दुष्प्रभाव, ब्लेकमेलिङ्ग, आर्थिक कारोबारका कारण डिप्रेसन हुँदा आत्महत्याको बाटो रोजेको देखिन्छ ।
नोबेल मेडिकल कलेजका डिपार्टमेन्ट अफ साइक्याट्रिक एण्ड मेन्टल हेल्थका कन्सल्टेन्ट साइकियाट्रिस्ट डा. मुक्ति आचार्यले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै कोरोना महामारी र निषेधाज्ञाले भविष्य अनिश्चित भएको बेला आफूलाई दिक्दारीमुक्त बनाउन बिहानै उठ्ने, नियमित व्यायाम गर्ने, कर्णप्रिय संगीत सुन्ने, किताब उपन्यास पढ्ने र सकुञ्जेल सकारात्मक मात्र सोच्ने सुझाव दिए ।

दिक्दारी , मनोरोगलाई आफैं परास्त गर्न सकिने र सकेसम्म तनावबाट टाँढा रहने कोशिश गर्ने, एक्लै नबस्ने वा एक्लोपन महशुश नगर्ने र नकारात्मकतालाई बढि हावी हुन नदिएर समस्या समाधानतर्फ उन्मूख हुन सके आत्महत्याको भावनाबाट टाढै बस्न सकिन्छ ।

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!