पछिल्लो समय सेयर खरिद बिक्रीका नाममा चलखेल बढेको छ । सर्वसाधारणको लगानी आकर्षण यसमा बढेको बेला केही सेयर माफियाहरू बजारलाई अनियन्त्रित बनाउन चलखेलमा उत्रेपछि यसबारे गंभीर बहस सुरु भएको छ ।
धितोपत्र ऐन २०६३ को दफा ९६ अनुसार कुनै पनि लगानीकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र किन्न वा बेच्न प्रभाव पार्नुका साथै कम्पनीको मूल्य घटाउने÷बढाउने कार्य गरेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसका साथै १ वर्षसम्म कैद पनि हुने उल्लेख छ । त्यस्तो कारोबारले कसैलाई हानी–नोक्सानी गरेमा भर्पाइ पनि दिनुपर्छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का सहप्रवक्ता रुपेश केसीले लगानीकर्तालाई प्रभावित गर्ने कुनै पनि किसिमको कार्य गर्न नपाइने बताए । ‘सेबोनले त्यस्तो गतिविधि बारे अनुसन्धान गरिरहेको छ, कुनै पनि लगानीकर्तालाई प्रभावित गरेर सेयर किन बेच गरेमा तत्कालै कारवाही हुन्छ’ उनले भने ।
कोरोना महामारीले चलायमान धेरै व्यवसाय ठप्प भएको बेला सेयर खरिदबिक्रीमा सर्वसाधारणको उत्साह निकै बढेको छ । आम रुपमा धेरैको लगानी बढ्न थालेपछि बजारलाई प्रभावित पार्ने खेलसमेत भइरहेको देखिन्छ ।