मनको जून जोहो गरेको छु
अँध्यारो निष्पट्टतामा
रात आफैँ चकमन्न होस्
तर उमङ्ग राखेको छु
जीवनका बेस्वादका तमतम्याइला सम्बन्ध
टुटून्, तर म फेरि टूट्ने छैन
काँचको प्यालाझैँ फुट्ने छैन
एउटा सग्लो मान्छे भएर हिँडेको छु
बाटामा घोचुन् काँडाहरुले
पीड़ा खेप्न सिकेको छु
अलिकति बिझायो होला भूलले
पाइला कतै बिराए
जानु सँगै थियो, साथ हिँडेँ
डोर्याए ताते गर्दै नवागत बटुवा सम्झी
फाँटमा अल्मलियौ कि ?
कतै कुनै निसाना थिएन
त के भयो ?
प्रश्न तेर्सिन्छ कठै !
अन्जानमा ठेसले लड्यौ
पथमा सहस्र ईष्यासँग टकरायौ
र, मनको जूनसँग मुस्कुरायौ
आफैमा सहस्र चोइटिएको मनसँग
एकतमास रिसायौ
आवेगमा फेरि अलिकति जोहो पनि त छ
यत्नका प्रयासहरू
मनैमन गुटमुट्यायौ
आफैँमा कम्पित मन
ओहो ! जसरी जे भयो
एउटा बिश्वास डगमगायो
भयातुर मन क्रुद्ध भयो
र, नै त एउटा अभिशप्त मन
विचलित पीड़ा अचेलको पाहुना भएको होला
तर मन मेरो घर
यिनै पङ्गतिको छानामा धुरी भएर
एउटा कविता लेखिएको छ ।