हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 684  पटक पढिएको

ॐ स्वप्रकाश आनन्द—स्वरूप भगवान शिवलाई नमन । चैतन्य आत्मा हो । ज्ञान बंध हो। योनीवर्ग र कला शरीर हो । उद्यम नै भैरव हो । शक्ति चक्रको माध्यमबाट विश्व संहारको मार्गमा जान सक्दछ । शिव सूत्रमा उल्लेखित यो श्लोकले व्यक्तिको आत्मजागरण र चैतन्य स्वरूपको बोधलाई स्मरण गराउँछ ।
अर्थात भनिन्छ–
ॐ नमः श्रीशंभवे स्वात्मानन्दप्रकाशवपुषे ।
चैतन्यमात्मा, ज्ञानं बन्ध ः ।
योनीवर्ग ः कलाशरीरम् ।
क्समो भैरव ः शक्तिचक्रसंधाने विश्वसंहार ः ।

श्रावण अर्थात साउन महिनालाई शिवको आराधना गर्ने, अझ श्रावणको सोमबार महिलाले भगवान शिवको ब्रत बसी आफ्ना श्रीमान्को स्वास्थ्य र दीर्घायुको कामना गर्ने संस्कारको रूपमा मान्ने गरिएको छ ।
आजकल श्रावण भन्नासाथ महिलाहरूको हातमा मेहन्दी लगाउने, हरियो, पहेँलो पहिरन र शृङ्गारले सु–सज्जित हुने महिनाको रूपमा प्रचलित हुँदै आएको छ । यसले प्राकृतिक रुपमा हरियाली भएको मौसम, सांस्कृतिक र धार्मिक रूपमा भगवान शिवको महत्व दर्साउँछ । तर, आध्यात्मिक पाटोलाई हाम्रो अभ्यासबाट छुटाउन मिल्दैन ।
मानिसको जीवन बहुआयामिक पक्षबाट चलेको हुन्छ । जसमा सांसारिक, भौतिक, सांस्कृतिक, धार्मिक र सामाजिक मान्यतासँगै आध्यात्मिक बोध पनि जोडिएर आएको हुन्छ । बोध विनाको कुनैपनि प्रचलनको अर्थ रहँदैन ।
वास्तविक बोध, संस्कार र मर्यादा त ध्यान नै हो जुन मनुष्यलाई बचाई राख्न र पृथ्वीलाई जीवित राख्न आवश्यक छ । ओशोले आफ्ना हरेक प्रवचनमा र विशेष गरी शिव सूत्रमा भगवान शिव र शिवले दिएका ध्यान विधि र मानिसको जीवनमा ध्यानको महत्व बारे बताउनुभएको छ ।

जीवनमा सत्य खोज
भगवान शिवको देशनालाई आधार मानेर ओशो बताउनुहुन्छ–सत्यको खोज गर्ने दुई मार्ग हुनसक्छन्एक आक्रमण, हिंसा र होडबाजीको मार्ग । अनि दोस्रो–समर्पण र प्रतिक्रमण मार्ग । त्यसैले विज्ञान, तर्क र प्रयोगात्मक अभ्यास आक्रामक माध्यम बन्न सक्दछ ।
अस्तित्वले धर्म, व्रत, समर्पण र प्रतिक्रमणको मार्गको रूपमा महिला स्वभावलाई चुनेको हुन्छ । त्यसैले त पुरुषले महिलाको लागि व्रत बस्ने, धर्म संस्कारको पालना गर्ने भन्ने प्रसंग कतै आएको छैन । पुरुषले गरेको व्रत, उपासना उसको आफ्नै स्वास्थ्यको लागि हुने । तर, महिलाले गरेको व्रत उपासनाले पुरुषको जीवनमा सुख, स्वास्थ्य र समृद्धिको महत्व राख्छ भने यसमा आपत्ति मान्नुपर्ने पनि छैन ।
प्रार्थना, उपासना र समर्पण स्त्री गुण हुन् भनेर व्याख्या गरिएपनि यी गुण पुरुषमा हुँदैनन् भन्ने छैन किनकि यो त व्यक्तिबाट भन्दा पनि समर्पणको भावबाट फलित हुने गुणवत्ता हो । प्रेमपूर्ण, विनम्रता र प्रार्थना त हृदयबाट प्रस्फुटन हुने गुण हुन् ।

मस्तिष्क मात्र सक्रिय हुने बुद्धिमानीबाट प्रार्थना सम्भव छैन । धैर्यता र संयमता पनि त्यत्तिकै जरूरी हुन्छ । समर्पण र प्रार्थनाको लागि त्यसैले यो गुण स्त्री जातिमा हुन्छ । अस्तित्वले गुणवत्ताको आधारमा स्त्री, पुरुषको स्वभावलाई छुट्टयाएको छ । स्वभावका आधारमा महिला पुरुषजस्तो र पुरुष महिलाजस्तो भएको पाएकै छौँ हामीले समाजमा ।
समर्पण र आक्रमण

पूर्वीय सभ्यता, धर्म, शास्त्र र मान्यतामा परमात्मा प्रतिको आस्था र भक्ति अनि प्रार्थनाबाट शुरू हुन्छ । यो संस्कार केवल औपचारिकता मात्र होइन, केवल एक परम्परा र रीति मात्र पनि होइन । यो मार्ग समर्पणको हो र जसमा धैर्यता र विनम्रता छ, समर्पणमा उपलब्ध हुन सक्दछ ।

जो आक्रामक छ, अहंकारले भरिपूर्ण छ–सत्यता पनि प्रमाणको आधारमा तुरुन्तै देख्न चाहन्छ । अझ भनौं सत्यतामा पनि आफ्नो हैकम जमाउन चाहन्छ । ऊ अस्तित्वको द्वारमा साधक भएर होइन, एक सैनिकको रूपमा प्रस्तुत हुन पुग्छ । विजय प्राप्त गर्ने अभिलाषा हुनेले हार खान पनि तयार रहनुपर्दछ ।

त्यसैले विज्ञान या तर्कले व्यर्थको खोजमा सार्थक तत्वलाई गुमाएको हुन सक्छ । संसार बुझाउने र चिनाउने चिजले पदार्थको जानकारी त देला । तर, परमात्मा अर्थात् परम चेतनाको अनुभूतिलाई पछाडि नै छोडेको हुन्छ ।
दृश्यभन्दा भित्र द्रष्टा पनि हुन्छ, विश्लेषण भन्दा गहिराइमा अनुभूति पनि हुन्छ । प्रकृतिले जोड्ने काम गर्छ, अनि विश्लेषणले तोड्ने काम । त्यसो हो भने हाम्रो जीवनशैली प्राकृतिक स्वभावमा चलेको छ या विश्लेषणात्मक रूपमा ?
एउटा वैज्ञानिकले फूलको सौन्दर्यता बुझाउनुप¥यो भने त्यसलाई तोडेर फोडेर जाँच परीक्षण गरेर मात्र बताउन सक्दछ । फूलभित्र छिपेको रसायन, पदार्थ र खनिज के के तत्वको व्याख्या गर्नुपर्ने हो त्यसबाट मात्र उसले जानकारी दिन सक्दछ । तर, एउटा ध्यानी र आध्यात्मिक व्यक्ति या सहज र सरल व्यक्तिले फूलको सौन्दर्यलाई केवल महसुस र अनुभूतिले आफ्नो हृदयमा बसाउन सक्दछ ।

एउटा सूत्रलाई बुझे पुग्दैछ । तर, एउटा कविताको मर्म बुझ्न २–४ पटक हृदयबाट पढ्नुपर्दछ । त्यसैले भन्न सकिन्छ–गणित छिट्टै समाप्त हुन्छ । अनि कविता कहिल्यै समाप्त हुँदैन । यो हृदयमा बसेपछि बस्यो । यहि नै हो समर्पण र आक्रमणको स्वभाव । यहि स्वभावबाट जीवनका कर्म निर्धारित भएका हुन्छन् अनि परिणाम पनि ।
जीवनमा सत्यताको दिशा खोज्ने क्रममा हाम्रो भाव दशा र मनोदशाको पनि त्यत्तिकै महत्व रहन्छ । रोगलाई थाहा पाउन स्वास्थ्य अनुभूति गरेको हुनुपर्दछ । प्रेमको अनुभूति गर्न काम, क्रोध, लोभ, मोह, ईर्ष्या र द्वेषबाट मुक्त हुनै पर्दछ ।
धर्म उद्दार हो या व्यवसाय ?

एक चिकित्सकले धेरै मेहनत गरेर आफ्नो छोरालाई पनि चिकित्सक नै बनाएका थिए । जब, छोराको पढाई सकियो तब बुबाले भने, ‘बाबु, अब तिमीले ३ महिना मेरो व्यवसाय सम्हाल । जीवनभर परिश्रम गरेँ, कमाएँ, तिमीहरूलाई पढाएँ, तर कहिल्यै विश्राम पाइन । अब तिम्री आमा र म ३ महिना छुट्टी लिएर घुमघाम गरेर आउछौँ ।’
बाआमा छुट्टीमा निस्के र ३ महिनापछि घर फर्के । छोरालाई सोधे, ‘बाबु ! व्यवसाय सबै ठीकसँग चलायौ नि, कुनै कठिनाइ त आएन ?’

छोराले भने, ‘सबै ठीक छ बुबा ! अरु त अरु तपाईंले वर्षौं ठिक पार्न नसक्नु भएको एक बिरामीलाई मैले ३ महिनामा पूरा ठिक बनाएँ । तपाईंले ठिक औषधि नै प्रयोग गर्नु भएको रहेनछ बुबा ! बुबा टाउको ठोकेर रून थाले–छोरा तैंले सत्यानाश पारिस् । मैले सहि औषधि दिन नजानेर होइन यो बिरामी त हाम्रो व्यवसाय हो । यो बिरामी ठिक भएको भए तेरो पढाइको फी कहांबाट ल्याउथे मैले ? तेरा भाइबहिनी कसरी पढाउथें मैले ?

जो आक्रामक छ, अहंकारले भरिपूर्ण छ–सत्यता पनि प्रमाणको आधारमा तुरुन्तै देख्न चाहन्छ । अझ भनौं सत्यतामा पनि आफ्नो हैकम जमाउन चाहन्छ । ऊ अस्तित्वको द्वारमा साधक भएर होइन एक सैनिकको रूपमा प्रस्तुत हुन पुग्छ । विजय प्राप्त गर्ने अभिलाषा हुनेले हार खान पनि तयार रहनुपर्दछ ।
धर्म र परम्पराले वास्तवमै धार्मिकताको विकास गरेको छ या परम्परा धानेको हो ? मन्दिरमा बालेको दियोले मन्दिरमात्र उज्यालो भयो या हाम्रो मन पनि ? हाम्रा कर्मकाण्ड र मान्यताले जीवन रूपान्तरणमा कस्तो प्रभाव पा¥यो ? यी सबैको परिणाम हाम्रो संस्कार र व्यवहारले उजागर गर्ने तथ्य हुन् ।

सत्य बोध गर्ने तरिका
ओशो भन्नुहुन्छ–सत्य त प्रत्येक व्यक्तिको स्वयं भित्र विराजमान छ । यो न बाहिर खोजेर मिल्छ, न कसैसँग मागेर पाइन्छ न त बजारमा किन्न नै पाइन्छ । बाहिरबाट सिकेका र जानेका अध्ययन र ज्ञानले पनि सत्यको उजागर हुँदैन । जीवनमा जे चिज श्रेष्ठ छ, त्यो नै सत्य हो । जुन कर्म गर्दा आफूलाई सन्तोष मिल्छ, आनन्दको अनुभूति हुन्छ–त्यो कर्म नै सत्य कर्म हो ।
मंगल भावना र मंगल आचरण व्यवहारमा सफलीभूत हुनु सत्यताको लक्षण हो । सन्तुलनको जीवनशैली सत्यताको परिचय हो । भावनात्मक स्थिरता विकास, रचनात्मकता वृद्धि, स्वयंमा प्रसन्नता र समृद्धि अनि सहज बोधको विकास हुनु जीवन सत्यताको मार्गमा छ जान्ने मापन हो ।
सत्यताको यात्रामा रहेको व्यक्तिमा मानसिक शान्ति एवम् स्पष्टता झल्किन्छ, चिन्ता होइन चिन्तनमा मस्त हुन्छ । व्यक्ति सधैँ जागृत अवस्थामा रहन्छ र मनोवृत्ति प्रसन्न र प्रफुल्ल रहन्छ ।
जबसम्म आफैँभित्रको परम चैतन्य, चेतनाको स्तरबाट बोध गर्न सकिन्न तबसम्म सत्य भेटिन्न । ध्यानको नियमित अभ्यास र अनुभूतिबाट मात्र यसलाई बोध गर्न सकिन्छ ।

डा. नम्रता पाण्डे

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!