सोमबार, माघ २७, २०७६ || 699  पटक पढिएको

प्रदेश नम्बर २ सरकारद्वारा छोरी सुरक्षालाई लिएर विभिन्न अभियान चलिरहेकै बेला तराई मधेसका जिल्लामा छोरीहरू असुरक्षित भइरहेको र ज्युँदै जलाइएका घटना एकपछि अर्को गरी बाहिरिएका छन्।

धनुषा, सिरहापछि हालै सप्तरीमा ज्युँदै जलाएर हत्या प्रयासको घटना बाहिरिएको छ। यसले सरकारको योजनामाथि प्रश्न चिन्हका साथै चुनौती समेत थपेको छ। घरायसी विवादमा सप्तरीको राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा उनका ससुरा ५५ वर्षीय परशुराम शर्मा पक्राउ परेका छन्। परशुरामलाई पक्राउ गरी आगो लगाइ ज्यान मार्ने उद्योगमा कारवाही भइरहेको डीएसपी तिलक भारतीले जानकारी दिए। पीडितका अनुसार ससुरासहित सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेवी शर्मासमेत योजनामा संलग्न छन्। रेखा आगोमा जलिरहँदा श्रीमान् रवीन्द्रबाहेक आरोपित सबै घरमै थिए। आरोपितले आगो सल्काएर हत्या गर्ने योजनाअनुरूप आफूले लगाउने सारीमा पेट्रोल छर्केर राखिदिएको उनको आरोप छ। पीडितले भनिन्, ‘आँगनमा हिँडिरहेका बेला टाढा रहेको चुलोको आगो एक्कासि सारीमा सल्कियो, गुहार माग्दा घरमै रहेका आरोपित जोगाउनसमेत आएनन्।’

काखमा रहेको शिशु बालिकालाई जोगाउन मिल्काएको र आँगनमै थुपारेको धानमा मडारिएर आगो निभाइ ज्यान जोगाएको उनले बताइन्। सामाजिक परम्पराअनुसार २०७५ फागुन २४ गते विवाहिता पीडितको साढे एक महिनाकी छोरी छन्। रेखा सुत्केरी हुनुभन्दा साढे एक महिनाअघि जानकारी नदिइ रवीन्द्र घर छाडेर हिँडे। घरपरिवारले गर्भवती अवस्थामा पनि काम नगरेको भन्दै यातना दिन थालेपछि उनी सुत्केरी हुन माइत आइन्। छोरीको जन्मपछि रेखा १९ दिनअघि घर पुगिन्। घरपरिवारले रेखालाई घरभित्र बास दिएनन्, गोठमा राखे। माघ १७ गते गाउँमा भोज भएकाले घरमा खाना पनि पाकेको थिएन। चुल्होमा दुध बसाइएको थियो। घाइते रेखा भन्छिन्, ‘बाहिर सुकाएको सारी लगाएर आँगनमा हिँड्दा टाढै रहेको चुल्होको आगो सल्किएर सारीमा समात्यो।’ आगोले रेखाको दायाँ खुट्टाको पूर्ण भाग जलेको छ भने शरीरको अन्य भागमा समेत जलेर घाउ भएको छ। हिँडडुल गर्न असमर्थ उनको अवस्था गम्भीर रहे पनि तीन दिनसम्म घरमै बन्धक बनाएर राखिएको थियो। असह्य पीडाको आवाज सुनेका छिमेकीले माइतमा खबर गरेपछि थाहा पाएर तीन दिनपछि गत आइतबार राजविराज ल्याई उपचार गराइरहेको पीडितकी आमा सरस्वती शर्माले बताइन्।

राजविराज नगरपालिका–६ स्थित माइतमा आ श्रय लिएकी घाइतेको उपचार गजेन्द्रनारायण सिंह अस्पतालमा आधारित ओसिएमसीले नगरेपछि माइतिले गरिरहेको छ। घरपरिवारले समेत उपचारमा बेवास्ता गरेको र प्रहरीले परशुराम शर्माविरुद्ध मात्र उजुरी दर्ता गरेको शर्माले बताइन्। घटना सुनेर घर फर्किएका रवीन्द्र थुनामा रहेका बुबालाई भेटन गए पनि घाइते श्रीमतीलाई फोनसमेत गरेका छैनन्। छोरीको उपचार गरिरहेका बुबा रंगनाथ शर्माका अनुसार केही महिनादेखि श्रीमान्सहित घरपरिवारले रेखालाई नराख्ने, सम्बन्ध बिच्छेद गर्ने भनेर यातना दिँदै आएका थिए।
(अन्नपूर्ण पोष्ट्बाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!