शनिबार, माघ २५, २०७६ || 742  पटक पढिएको

समाचारको खोजीमा हुने मोरङ राजघाटका पत्रकार तेजन खड्काले समाचार लेखेकै भरमा धेरै विरामीका लागि हालसम्म करोड बढि उपचार खर्च जुटेको छ । उपचार खर्च मात्र हैन, समाजको बिकासका लागि आर्थिक स्रोत र सहयोगी हात पनि जुटाउँदै आउनु भएका खड्का अनलाइन समाचारको प्रभावले सामाजिक विकास सम्भव देख्नुहुन्छ । आफैंले कखरा सिकेको उर्लाबारी –९ को प्रभात आधारभुत विद्यालयमा खड्काले झण्डै ३ लाख बराबरको भौतिक निर्माणमा सहयोग पु¥याउनु भएको छ । विद्यालयको समस्या समाचारका माध्यमबाट उठान गरेपछि अहिले प्रभात स्कुल साञ्ची कै पूर्वाधार सम्पन्न भएको छ ।

समाचार प्रकाशित भएपछि सोही गाउँका सुन्दर श्रेष्ठले विद्यालयलाई मञ्च बनाइ दिनु भयो । रंगरोगन लगाइदिनुभयो । वृक्षारोपण गरिदिनुभयो । गाउँका समस्या टपक्क टिपेर समाचार बनाउने कौशल छ उहाँमा । खासगरी मानवीय सम्वेदनामा आधारित समाचारहरू अनलाइमिडिया मार्फत पस्कने खड्का समाचारकै कारण सहयोग जुटेको दाबी गर्नुहुन्छ । खुट्टाको मासु कुहिएर झर्न थालेपछि ओछ्यानमा थलिएका मोरङ साविक राजघाट—७ का देवान तामाङको पीडा अनलाइन पत्रिकाहरू प्रकाशित गरिदिएपछि हङकङमा रहेका राजघाटवाशीबाट ५० हजार रुपैयाँ उपचार खर्च जुटाइदिनु भएको हो ।यति मात्र होइन ,पत्रकार खड्काले राजघाट –९ की मुनाकुमारी धिमालको दुबै मिर्गौला फेल भएको बेला पनि ११ लाख रुपैयाँ जुटाउन सहयोग गर्नुभयो । तर मुनालाई बचाउन नसकेकोमा उहालाई दुख लागेको छ । भन्नुहुन्छ–हामी समाचारका माध्यमबाट समस्या उठान गरिदिने मात्र हौं । अनलाइन मिडिया सुरु भएपछि तेजनको पत्रकारिता ब्यावसायिक बन्दै गएको छ । खड्काले राजघाटकी ११वर्षिया एलिसा धिमाल क्यान्सरबाट पिडित भएको बेला पनि सहयोगको याचना सम्वन्धी समाचार लेख्नुभयो ।

बाबुले आफैंले कुदाउने गरेको रिक्सा बेचेर उपचार गरिरहेको समाचार छापिएपछि एलिसाको उपचार सहयोग गर्नेको बाढी नै लाग्यो । विदेशबाट मात्र हैन् । स्वदेशमा पनि थुप्रै सहयोगी हातहरू जुटे । ७ लाख रुपैयाँ जम्मा भएको थियो । जसमध्ये ३ लाख रुपैयाँ उपचारमा खर्च भयो । तर ,एलिसाको पनि प्राण पखेरु जोगिएन । संकलन भएको मध्ये केही पैसाले एलिसाका बुवालाई सिटी सफारी किनीदिएको र बाँकी पैसाले एलिसा फाउण्डेसन गठन गरिएको खड्काको भनाई छ ।खड्काले ओछ्यानमा थलिएका राजघाट कै मोतीप्रसाद खतिवडा उपचार नपाएर छटपटाइरहेको समाचार लेख्नुभयो ।

कमजोर आर्थिक अवस्थाका मात्रै होइन ,कान समेत नसुन्ने खतिवडाको समस्यालाई खड्काले गज्जवले उठाउनु भयो । समाचार आए लगत्तै ,राम्रै सहयोग जुट्यो । आफन्त नातेदार समेत उपचार र अस्पतालको बारेमा कम जानकार भएपछि खड्का आफैंले खतिवडालाई उपचारका लागि चितवनको क्यान्सर अस्पताल लग्नु भयो । तर खतिवडाको रोग छिप्पिसकेकोले उपचार हुन सकेन ।

उपचार खर्च जुटाउने मात्र होइन, मोरङको इटहरा –१ सोमवारेमा फेला परेकी ८४ वर्षीया वृद्धालाई समेत खड्काले विराटनगर स्थित वृद्धाश्रममा थन्क्याउने काम गर्नुभयो । जहिल्यै चौरस्तामा बसेर मागी खाने ब्राम्हण समूदायकी वृद्धाको विजोग भन्ने शीर्षकमा समाचार लेखेपछि वृद्धाश्रमले पुर्नस्थापनाका लागि ल्याईदिन अनुरोध ग¥यो । खड्काले आफैं भ्यानमा राखेर वृद्धालाई विराटनगर वृद्धाश्रम लगिदिनु भएको थियो । पत्रकारिताका माध्यमबाट समाज रुपान्तरण गर्ने अभियानमा लाग्नु भएका २३ वर्षीय खड्का कुनै पत्रिकाको वेतनभोगी पत्रकार होइनन् । कान्तिपुर साप्ताहिक लगायत केही अनलाइन पत्रिकामा समाचार लेख्ने खड्का उर्लाबारी पेज नामको अनलाइन सञ्चालन गर्नुहुन्छ ।

पत्रकारिता कमाउन भन्दा पनि सामाजिक प्रतिष्ठाको लागि गरिरहेको बताउने खड्का भन्नुहुन्छ–आफ्नो गोजीमा चिया खाने पैसा हुँदैन,फोनमा ब्यालेन्स हुँदैन । तर समाजले पत्याइ सकेकोले आफ्नो समस्या लुकाउँदै समाजको समस्या बोकेर हिडिरहेको खड्काको भनाई छ ।

भन्नुहुन्छ– आमाले एकल महिलाको भत्ता थापेको पैसा मागेर धेरै सामाजिक काम गर्न हिडेको छु । आमा मालती खड्का भन्नुहुन्छ–पैसा सबै कुरा होइन् ।खान लगाउन उसलाई दुख छैन् । नाम र सामाजिक प्रतिष्ठा कमायो र उसको बुवाको नाम राख्यो भने पुग्यो । खुसी प्रकट गर्दै आमा मालती खड्काले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!