हिपमत डटकम
काठमाडौं, २३ माघ:२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा उजुरी परेको छ।

ती युवतीले बुधबार ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा पूर्वडिएसपी खिउजूविरूद्ध निवेदन दिएकी हुन्।

एक वर्षअघि चापागाउँस्थित प्रहरी कार्यालयमा प्रहरी रिपोर्ट बनाउन जाँदा आफूलाई खिउजूले बलात्कार गरेको निवेदनमा उल्लेख छ। त्यसपछि ६ महिनासम्म निरन्तर खिउजूबाट बलात्कारमा परेको पनि ती युवतीले निवेदनमा लेखेकी छन्।

दुई महिनाअघि खिउजूविरूद्ध उजुरी दिन प्रहरीकोमा उनी पुगेकी थिइन्। ती युवतीले त्यतिबेला काठमाडौं प्रहरी परिसरले आफ्नो कुरा सुनेरमात्र फर्काइदिएको बताइन्।

यसरी परेकी थिइन् युवती बलात्कारमा

थुप्रै चाहना, पढ्ने र कमाउने रहरले भर्खरै गाउँबाट ती युवती ललितपुरको एक गाउँबाट सहर आएकी थिइन्। परिवारबाट टाढा बसेर सहर आउन त आइन् तर काम पाइहालेकी थिइनन्।

उनले कतैबाट महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डको लागि मान्छे मागेको छ भन्ने कुरा सुनिन्। सोध्दै खोज्दै त्यहाँ पुग्दा ‘प्रहरी रिपोर्ट लिएर आउन’ भन्यो।

२०७५ साल मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन उनी पुगेकी थिइन्।

त्यहाँ उनको भेट डिएसपी राजकुमार खिउजूसँग भयो। डिएसपी खिउजूले उनलाई चिया खाएर जान प्रस्ताव राखे। उनी एकछिन अलमलिइन्।

एक प्रहरीले चिया लिएर आएपछि खिउजू पनि सँगसँगै आइपुगे। बर्दीमै रहेका डिएसपी खिउजूले ढोकाको चुकुल लगाए। उनलाई निकै डर लाग्यो।

उनले किन ढोका लगाएको भन्न नपाउँदै खिउजू युवतीमाथि जाइलागे।

‘म चिच्याउन सुरू के गरेकी थिएँ उसले मेरो मुख थुनिदियो। म चल्मलाउन सकिनँ,’ उनले भनिन्, ‘चिया खान भनेको थियो तर प्रहरीको बर्दीमै उसले मलाई बलात्कार गर्‍यो।’

बलात्कार गरेपछि खिउजूले आफूलाई धम्क्याएको युवतीले बताइन्। आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिए।

त्यसपछि खिउजू आफैंले गाडीमा राखेर उनी बस्ने घरसम्म पुर्‍याए।

‘मलाई बिरामी भएको भन्दै खिउजूले गाडीमा बस्न भन्यो। गाडी अर्कैले चलाएको थियो। ऊ मेरो छेउमा बसेर पनि मलाई धम्क्याइरहेको थियो,’ उनले भनिन्, ‘उसैले म बस्ने ठाउँसम्म पुर्‍याइदियो। मलाइ निकै डर लाग्यो।’

खिउजू त्यतिमै रोकिएनन्। त्यस दिनदेखि उनी बिहान बेलुकै ती युवतीको कोठामा पुग्न थाले।

‘त्यसपछि पनि झण्डै छ महिनासम्म ऊ मेरै कोठामा आएर मलाई धम्क्याउँदै बलात्कार गर्‍यो,’ उनले भनिन्, ‘यो कुरा मैले कसैलाई भन्नै सकिनँ न परिवारलाई न त साथी भाइलाई नै।’

प्रहरीले सुनेन कुरा

खिउजूले ती युवतीलाई फोन गरेरसमेत कुरा गर्न खोज्थे। एकदिनको कुरा हो, युवतीले डिएसपी खिउजूलाई ‘मेरो जिन्दगी किन यस्तो बिगारिस्,’ भन्दै मेसेज पठाइन्।

आफूले खिउजूलाई गाली गर्ने गरेको पनि युवती बताउँछिन्। खिउजूले दिएको पीडा एक्लै झेलिरहेकी ती युवतीसँग गाली गर्ने बाहेक कुनै उपाय थिएन।

उनका मेसेज पढेर खिउजूकी श्रीमती एकदिन रिसाउँदै उनी भएको ठाउँमा आइन् र कुटपिट गरिन्। उनी कुटपिटमा परेको भन्दा एकदिन अघिमात्र खिउजूले युवतीलाई बलात्कार गरेका थिए।

खिउजूपत्नीको कुटपिटमा परेको भोलिपल्ट महानगरीय अपराध महाशाखाबाट फोन आयो। उनी त्यहाँ ‍पुगेपछि प्रहरीको केरकारमा परिन्। खिउजूकी पत्नीले उनलाई आत्महत्या गर्ने धम्की दिएको र सामाजिक सञ्जालमा अनावश्यक कुराहरू लेखेको भन्दै उजुरी दिएकी रहिछन्।

‘म प्रहरीकोमा गएँ तर प्रहरीले उल्टै मलाई हप्काए। डिएसपीले मलाई अपशब्द र अश्लिल बोलेका रेकर्डहरू त्यसमा थिए ती सबै डिलिट गरिदिए,’उनले भनिन्,’मैले किन उसलाई एसएमएस गरेको भनेर सोधेनन्। मलाई आफैं भन्न त डर लाग्यो। डिएसपीले पनि मलाई केही नभन्नू भनेर थर्काएको थियो।’

अपराध महाशाखाले पनि युवतीविरूद्ध खिउजूपत्नीले मौखिक उजुरी दिएको र आफूहरूले युवतीलाई सम्झाएर पठाएको बताएको छ।

त्यस दिनदेखि खिउजू युवतीको नजिक परेका छैनन्। तर धम्क्याउन भने छोडेनन्। खासमा खिउजूको सरूवा पनि भइसकेको थियो।

महाशाखाका प्रहरीले थर्काएकाले उनलाई त्यहाँ जान डर लागेको थियो। त्यसैले उनी मिडिया खोज्दै आफ्नो कुरा सुनाउन गइन्। एक पत्रकारले दुई महिनाअघि उनलाई महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीकोमा लगिदिए।

‘म एक पत्रकारसँग टेकुको प्रहरी कार्यालय गएँ। त्यहाँ डिएसपी होविन्द्र बोगटीकोमा गएको थिएँ। उनलाई सबै कुरा सुनाएँ तर उजुरी लिएनन्,’ ती युवतीले भनिन्,’बरु उल्टै खिउजूलाई फोन गरे।’

डिएसपी बोगटीले भने आफू समक्ष आएको र खिउजूसँग कुराकानी भएको स्वीकारेका छन्।

‘हो खिउजूविरूद्ध उजुरी लिएर एक युवती यहाँ आउनुभएको थियो। मैले जाहेरी दिन सम्झाएँ। भोलिपल्ट आउँछु भन्नुभएको थियो,आउनुभएन,’बोगटीले भने,’ललितपुरको घटना जावलाखेलमा दिँदा राम्रो हुने सुझाव समेत दिएको थिएँ। त्यतै गए पनि हुन्छ तर यहाँ आए पनि मुद्दा दर्ता गरेर पठाइदिन्छौं भनेको थिएँ। मैले उनैअघि खिउजूलाई फोन गरेर के हो यस्तो भनेर सोधेको भने हुँ।’

त्यसपछि खिउजूले उनलाई फोन गरेर फेरि धम्क्याए – तेरो कुरा कसैले पत्याउँदैन जे गरे नि गर।

‘त्यति ठूलो पदको प्रहरी भएकाले मलाई निकै डर लागेको थियो। प्रहरीकहाँ जाँदा पनि मेरो कुरा सुनेनन्,’ उनले भनिन्,’त्यसमाथि उसले विभिन्न मान्छे पठाएर मलाई धम्की दिन छोड्दैनथ्यो।’

निरन्तरको बलात्कार र धम्कीका कारण आफूलाई राम्रो निद्रा नपर्ने डर लाग्ने गरेको उनी बताउँछिन्। तर पनि कतैबाट न्यायको ढोका खुल्छ कि भन्ने आश भने उनले मारेकी थिइनन्।

सहयोग खोज्दै राष्ट्रिय महिला अधिकार संघमा पुगिन्। त्यो संस्थाले वकिलकहाँ लगिदियो। उक्त संस्था र वकिलहरूको सहयोग कै कारण बुधबार उनले प्रहरीमा उजुरी दिन सकिन्।

‘सुरूमा त प्रहरीले उजुरी लिन मानेको थिएन,’ उनले भनिन्, ‘पछि भने लिएको छ। अझै पनि दर्ता नम्बर र कागज भने मलाई दिएको छैन। त्यो चाहिन्छ रे।’

ललितपुर परिसरका एसएसपी टेक राईले स्वास्थ्य जाँचपछि मात्रै जाहेरी निवेदन दर्ता गरिने बताए।

‘डिएसपी राजकुमार खिउजूले बलात्कार गरेको भन्ने उजुरी परेको छ। हामीले तत्कालै पीडितलाई मेडिकल गरायौं,’ एसएसपी राईले भने,’अब कानुन अनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ।’

खिउजूले भने केही समयअघि राजीनामा दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!