जसपाको ‘दोधारे’ निर्णय ! कसले देला ओलीलाई भोट ?

उपेन्द्र–बाबुराम ओलीको विपक्षमा, महन्थ ठाकुर तटस्थ

हिपमत डटकम

आइतबार, बैशाख २६, २०७८ || 575  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभामा हुने मतदानमा ह्विप नलगाउने र आफ्ना सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा कतिपयले यसलाई दोधारे एवं ‘दहीचिउरे’ निर्णय भनेका छन् । कसैले चाहिँ ‘केपी ओलीलाई बहुमत पु¥याउन बाटो खुलेको’ टिप्पणी गरेका छन् ।

आखिर जसपाले गरेको यो निर्णयको अन्तर्य के हो ? के पार्टीले आफ्ना सांसदहरुलाई जता पनि मतदान गर्न छुट दिएकै हो त ? केपी ओलीलाई पनि मतदान गर्न पाइने हो ?

आइतबार अपरान्ह आफ्नै निवासमा बसेको जसपा पदाधिकारी बैठकको निर्णयको व्याख्या गर्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भनेका छन्, ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ । सबैले आ–आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं ।’

डा. भट्टराईको भनाइअनुसार जसपा बैठकले तय गरेको कार्यनीति भनेको केपी ओलीको बहिर्गमनलाई सुनिश्चित गर्ने हो । यसको अर्थ उनको विपक्षमा मतदान गर्ने वा तटस्थ बस्ने हो तर, ओलीलाई भोट हाल्ने होइन ।

पदाधिकारी बैठकले ह्विप नलगाउने निर्णय गरेपछि अब जसपा बैशाख २७ को मतदानकै कारण फुट्ने स्थितिबाट जोगिएको छ । संसदमा प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा उपेन्द्र–बाबुराम यादव पक्षका सांसदले विपक्षमा मतदान गर्नेछन् भने ठाकुर पक्ष तटस्थ बस्ने छ । तर, ओलीको पक्षमा मतदान गर्ने सांसदहरु चाहिँ जसपामा अहिलेसम्म देखा परेका छैनन् ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफूहरुले विश्वास मतको विपक्षमा मतदान गर्ने बताए । पदाधिकारी बैठकमा सहभागी रहेका नेता श्रेष्ठले विश्वासको मतमा मतदान नगर्ने निर्णय भएको बताए । तर पार्टीका सांसदले आफ्नो स्वविवेक प्रयोग गर्ने छुट दिएको उनले बताए । श्रेष्ठले भने, ‘मतदानमा तटस्थ पनि बस्न सक्छन्, विपक्ष अथवा पक्षमा पनि मतदान गर्छन्, तीनवटा बाटा छन्, तीनमध्ये कुनै रोज्न सक्छन् ।’

 

नेता श्रेष्ठको कुरालाई आधारमा मान्ने हो भने जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर आ–आफ्नै अडानमा छन् । श्रेष्ठले भने, विपक्षमा मतदान गर्ने थुप्रै कारणहरु छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले थुप्रै असंवैधानिक कामहरु गर्नुभएको छ, संसद विघटनदेखि लिएर संसदमा अनुपस्थिति जथाभावी अध्यादेशहरू ल्याएर देशको सिस्टम नै बिगार्नुभएको छ, त्यसैले उहाँको विकल्प खोज्नका लागि हामीले विपक्षमा मतदान गर्छौं ।’

अध्यक्ष ठाकुरले आइतबार नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई पनि भेटेका थिए । सो भेटमा अध्यक्ष ठाकुरले आफूहरु तटस्थमै बस्ने जानकारी गराएका थिए । बालुवाटारको भेटमा राजेन्द्र महतो पनि थिए । उनले ओलीलाई तपाईको पक्षमा मतदान नगर्ने भइयो भनेर जानकारी गराएको मिडियामा बताएका छन् ।

बूढानीलकण्ठ र बालुवाटारको सो भेटपछि टोखास्थित बाबुराम निवासमा जसपाको पदाधिकारी बैठक बसेको थियो । त्यो बैठकले सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने र कुनै ह्वीप नलगाउने निर्णय गरेको हो ।

केही दिन पहिले दुवै पक्षले ओलीको पक्ष र विपक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए । हस्ताक्षर अभियानमा हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको सो पक्षमा नेताहरु बताउँछन् । कार्यकारिणी समिति तथा संसदीय दलमा पनि उपेन्द्र यादव बहुमतमा देखिएको सो पक्षका नेताहरुको दाबी छ । महन्थ ठाकुरले हस्ताक्षर अभियान सुरु गरे पनि उनको पक्षका कतिपय नेता तथा सांसदले हस्ताक्षर गरेनन् ।

जसपामा ३२ जना सांसद छन् । तीमध्ये १८ जना सांसद उपेन्द्र यादवको पक्षमा रहेको दाबी गरिएको छ । उपेन्द्र यादव पक्षले आफूहरुको पक्षमा २० जना बढी सांसद रहेको दाबी गरिरहेका छन् ।

कसले देला केपी ओलीलाई भोट ?

यसअघि जसपा भित्र केपी ओलीको पक्षमा मतदान गर्ने कि विपक्षमा भन्ने बहस थियो । तर, अब सो पार्टीको बहस केही साँघुरो बनेको छ । अब ओलीको विपक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्ने ठाउँमा बहस आइपुगेको छ ।

केपी ओलीको पक्षमा हस्ताक्षर अभियान चलाउँदै हिँडेका महन्थ ठाकुरले नै तटस्थ बस्ने भनिसकेपछि अब जसपाको कुन चाँहि सांसदले केपी ओलीलाई मतदान गर्ला ? योचाहिँ हेर्न लायक विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!