बुधबार, माघ २२, २०७६ || 867  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२२ माघ :सत्तारुढ दल नेकपा (नेकपा) भित्रै बारम्बार उठ्दै आएको एउटा विषय हो, ‘झण्डै दुई तिहाइ बहुमतको सरकार बन्दा पनि सरकारले प्रभावकारी काम गर्न सकेन ।’ यो कुराको अनुभव सर्वसाधारण जनता र नेकपाका तल्ला तहका कार्यकर्ताले मात्रै होइन, शीर्ष नेताहरुले समेत महसुस गर्दै आएका हुन् ।

तर अब नेकपाले यो गुनासो चिर्न र तीनै तहका सरकारका कामकारबाही प्रभावकारी बनाउन तथा जनतासँगको सम्बन्ध विस्तार गर्न सिङ्गो पार्टीपङ्क्ति परिचालन गरेर राष्ट्रव्यापी अभियान नै चलाउने भएको छ । त्यसका लागि नेकपाले हालै सम्पन्न आफ्नो केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमार्फत कार्ययोजना नै पारित गरिसकेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा पेस गरेर पारित भइसकेको राजनीतिक प्रतिवेदनअनुसार अबको एक सातापछि नेकपा यस्तो अभियानमा होमिँदैछ ।

‘निश्चित उद्देश्यका लागि भने खासखास बेलामा पार्टीले राष्ट्रव्यापी अभियान सञ्चालन गर्छ, जसले पार्टीका तत्कालीन अभिभाराप्रति आम जनतामा जागरण ल्याउन, पार्टी पङ्क्तिमा नयाँ ऊर्जा र गतिशीलता सिर्जना गर्न र पार्टी र जनताबीचको सम्बन्धलाई थप घनिष्ट बनाउन मद्दत गर्दछन्’, नेकपाको विश्लेषण छ ।

किन आवश्यक छ अभियान ?

नेकपा गठन भएको २१ महिना भए पनि यसको संरचनागत आकारले पूर्णता पाउन सकेको छैन । जसले गर्दा सरकार र रपार्टीबीचको तालमेल समेत पूर्णतया नमिलेको अवस्थामा पार्टीका समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुको सङ्गठित एवं योजनाबद्ध परिचालनमार्फत पार्टी एकताको तात्कालीन एवं दीर्घकालीन महत्त्व जनतामा स्थापित गर्न हुन सकिरहेको छैन । साथै राजनीतिक स्थायित्व एवं सामाजिक–आर्थिक रूपान्तरणद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा कार्यान्वयन गर्न र सुदृढ सङ्गठन एवं फराकिलो जनाधार निर्माण गर्नुपर्ने नेकपामा चुनौती छ । यो कामसँगै सरकारले गरेका सकारात्मक कामहरुबारे जनतामाझ सन्देश सम्प्रेषण गर्न र पार्टी पङ्क्तिमा नयाँ गतिशीलता सिर्जना गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने भएको नेकपाको निष्कर्ष छ ।

समृद्धिका लागि राष्ट्रिय अभियान

नेकपाले पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानअन्तर्गत समस्त पार्टी पङ्क्तिको एकीकृत परिचालनका लागि तीन महिने योजना बनाएको छ ।

अभियानको मूल नारा समृद्ध नेपाल, सुखी नेपालीको आधार – सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार तय गरेको छ ।

के हो अभियानको उद्देश्य ?

नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा–एमाले र नेकपा–माओवादी केन्द्र बीचको ऐतिहासिक एकताको तात्कालीन एवं दीर्घकालीन महत्त्वलाई समस्त पार्टी पङ्क्ति र आम जनसमुदायका बीचमा स्थापित गर्नु यसको प्रमुख उद्देश्य रहेको छ ।

त्यस्तै एकीकृत पार्टीका सैद्धान्तिक, राजनीतिक एवम् नीतिगत निष्कर्षका आधारमा समस्त पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने र पार्टी एकताका ऐतिहासिक दस्तावेज र निर्णयहरुबाट पार्टी पङ्क्तिलाई दिशानिर्देश गर्ने उद्देश्य रहेको छ ।

यसो गर्दा पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुका बीचमा वैचारिक, सङ्गठनात्मक एवं भावनात्मक एकताको विकास हुने नेकपाको विश्वास छ ।

यसैक्रममा नेकपाले केन्द्रीय निकाय एवं विभागहरुको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय सङ्गठनहरुको एकीकरण, पार्टी सदस्यको एकीकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिहरुको अभिलेख एकीकरण लगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजीकरणको वातावरण बन्ने उसको निष्कर्ष छ ।

सम्मान र सहभागिताको विकास

नेकपाभित्र उठ्दै आएको अर्को विषय हो पार्टीका काम पारदर्शी भएन भन्ने । तर अब यसलाई पनि नेकपाले सम्बोधन गर्ने नीति लिएको छ । ‘पारदर्शी, सादा एवं जवाफदेही जीवनशैली, श्रमप्रतिको सम्मान र सहभागिताको विकास गर्ने जनशैली र कमरेड्ली भावनाको विकास गर्ने । नेता, कार्यकर्ता र सदस्यमा पार्टी, आन्दोलन तथा नेतृत्वप्रतिको भरोसा र विश्वास विकसित गर्ने’, माघ १९ गते पारित भएको नेकपाको राजनीतिक प्रतिवेदमा उल्लेख छ ।

गुटबन्दी निरुत्साहित गर्दै राम्रा कामको प्रचार

नेकपाभित्र रहेको रोग हो गुटबन्दी । तर अबदेखि नेकपाले सबै प्रकारका समूहबन्दी वा गुटबन्दीपूर्ण क्रियाकलालाई निरुत्साहित गर्ने र पार्टीमा वैधानिक व्यवस्था, सङ्गठनात्मक पद्धति र अनुशासनको विकास गर्ने प्रतिबद्धता जनाएको छ । यसले पार्टी एकतालाई सुदृढ र सबल तुल्याउने उसको विश्वास छ ।

साथै नेकपाले जनता र राष्ट्रको पक्षमा सरकारले गरेका राम्रा काम, महत्त्वपूर्ण उपलब्धि र भावी योजनाका सम्बन्धमा समस्त पार्टी पङ्क्ति र आम जनतलाई प्रशिक्षित गर्ने भएको छ । सरकारका सकारात्मक कामको पक्षमा जनमत सिर्जना गर्ने र आम जनतामा सरकारले चुनावी घोषणा पत्र कार्यान्वयन गर्ने मात्र होइन थप उपलब्धिका साथ जनअनुमोदनका लागि प्रस्तुत हुन्छ भन्ने सन्देश प्रवाह गर्ने उसको योजना छ । त्यसक्रममा नेकपाको नेतृत्वमा विकास, समृद्धि र सामाजिक न्याय सम्भव छ र जनताको जनवादको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने विश्वास जगाउन सकिने नेकपाको विश्वास छ । सोहीअनुसार प्रदेश तथा स्थानीय तहका सरकार तथा जनप्रतिनिधि संस्थाहरुलाई पार्टीको घोषणा पत्र र नीति अनुरूप परिचालित हुन निर्देशित गर्ने योजना अघि सारेको छ ।

पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध घनिष्ट बनाउने

सम्बन्धित तहको पार्टी र जनप्रतिनिधिहरुका बीचको सम्बन्ध र सहकार्यलाई घनिष्ट र सजीव बनाउने । आआफ्नो कार्यक्षेत्रको विशेषता अनुरूप विकास, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा उपलब्धिपूर्ण कार्य गर्न सहयोग र सहजीकरण गर्ने । सुशासन, सदाचार र जनशैली अवलम्बन गर्न, जनतासँगको सम्बन्धलाई जीवन्त तुल्याउन र जनताको सरोकारप्रति संवेदनशील हुन, कानुनसम्मत, लोकतान्त्रिक, पारदर्शी, जवाफदेही र परिणाममुखी आचरण र कार्यशैली अवलम्बन गर्न प्रशिक्षित गर्ने ।

‘सुखी नेपाली, समृद्ध नेपालको अभियानबाट नै जनताको जनवाद कार्यान्वयन हुन्छ र समाजवादको आधार तयार हुन्छ भन्ने पार्टीको मान्यतालाई स्थापित गर्ने । तदनुरूप सिङ्गो पार्टी पङ्क्ति र सबै तहका जननिर्वाचित प्रतिनिधिहरुलाई एकतावद्ध रूपमा परिचालित हुने बलियो आधार तयार गर्ने’, नेकपाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

सरकारलाई कमजोर एवं असफल बनाउन प्रतिक्रियावादी खेमाबाट भइरहेका सबै प्रकारका गतिविधि, षड्यन्त्र र दुष्प्रचारको प्रतिवाद गर्न सहज हुने र पुनरुत्थानवादी, अतिवादी र यथास्थितिवादी प्रवृत्ति र पात्रहरुका दुस्प्रयासका विरुद्ध जनमत सिर्जना गर्न सकिने नेकपाको योजना छ ।

यो समग्र पार्टी एकता र समृद्धिको पक्षमा राष्ट्रिय अभियानको समयावधि ५ महिनाको हुनेछ र उक्त अभियान फागुन १ गते सुरु भई असार मसान्तमा सम्पन्न हुनेछ । २०७७ सालको साउन महिनामा अभियानको समीक्षा गरिनेछ । अभियानको सहजकर्ता र नेतृत्वकर्ता केन्द्रीय सचिवालयले गर्नेछ । प्रदेशमा प्रदेश कमिटीले, जिल्लामा जिल्ला कमिटीले र पालिकामा सोही स्तरको कमिटीले गर्नेछ ।

यस्तो छ अभियानको कार्यक्रम र कार्यतालिका

–२०७६ फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय कमिटीहरुले आआफ्ना बैठक बसी अभियानको कार्ययोजना बनाउने ।

–फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय सङ्गठनहरु केन्द्र, जिल्ला र पालिका तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।

–चैत र वैशाख महिनामा केन्द्रीय सङ्गठन विभागको योजना र निर्देशन अनुरूप सङ्गठित सदस्यता नवीकरण सम्पन्न गर्ने । अभियानका रूपमा पार्टी सदस्यता वितरण गर्ने ।

–२०७७ जेठ मसान्तसम्ममा घरदैलो–पदयात्रा, टोल भेला र टोलसभाको आयोजना गर्ने । असार महिनाको अन्त्यसम्ममा पालिका स्तरमा जन¥याली सहित जनसभाहरुको आयोजना गर्ने ।

–विशेष पार्टी कमिटी, सम्पर्क मञ्च र जनवर्गीय सङ्गठनहरुले पनि उपरोक्त योजना अनुरूप आआफ्नो कार्यक्षेत्रमा अभियानको योजना बनाई कार्यान्वयन गर्ने । भूगोल सम्बद्ध पार्टी कमिटीद्वारा आयोजित जनसभामा सहभागी हुने ।

–प्रवासमा आआफ्नो विशेषतामा आधारित अभियान अघि बढाउने ।

अभियानका क्रममा सम्पन्न गर्नुपर्ने थप कामहरु

–पार्टी प्रवेश ।

–राजनीतिक दल र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुका बीचमा विकास र समृद्धिको कार्यसूचीमा छलफल तथा अन्तरक्रिया ।

–जनप्रतिनिधिमूलक निकायसँगको अन्तरक्रिया ।

–पार्टी तथा सरकारले गर्ने कामका सन्दर्भमा सुझाव सङ्कलन ।

–जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम र राष्ट्रको समृद्धिका निमित्त अनुकूल हुने आयोजनाहरुको पहिचान ।

–स्थानीय स्तरमा देखिएका अन्तरविरोधहरुको समाधान ।

तीन नारा

नेकपाले अभियानका लागि तीनवटा नारा तय गरेको छ । जसमा समृद्ध नेपाल, सुखी नेपाली, नेकपाको सङ्कल्प, नेपाली पहिचान– राष्ट्रको स्वाभिमान र नेकपाको नेतृत्वमा– बन्दैछ देश, बनाउँछौ देश रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकसमक्ष प्रस्तुत

राजनीतिक प्रतिवेदन

–जनताको जनवाद – जिन्दावाद ।

–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) – जिन्दावाद ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!