हिपमत डटकम

आइतबार, चैत्र ०८, २०७७ || 1067  पटक पढिएको

४० वर्षसम्म भारतको कलकतास्थित दमदम जेलभित्र रहेर छुटेका दिपक जोशी जेलबाट बाहिर निस्किएपछि बोल्नै सकेनन् ।

जेलबाट छुटेपछि उनको स्वागतमा जेलबाहिर सञ्चारकर्मीहरुको उपस्थिती बाक्लो थियो । सञ्चारकर्मीहरुले उनलाई थुप्रै प्रश्नहरु गरे । तर उनको मुखबाट कुनै शब्द नै निस्किएन ।

नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिमसिना कोलकाता पुगेपछि शुक्रबारबाट उनको रिहाईको प्रक्रिया सुरु भएको थियो । उनको मानसिक स्थितीका कारण उनलाई बुधबार रिहाई गरिएको हो ।

उनी १९ वर्षको हुँदा ०३७ सालमा इलाम जिल्लाको एकातप्पा गाउँपालिका (तत्कालीन) बाट तोरी बेच्नका लागि मंगलबारे गएका थिए । तर, उनी कहिल्यै फर्केनन् । गाउँघरमा नै स–साना घरायसी काममा नै व्यस्त रहने दीपक ज्यातिषशास्त्रमा रुची राख्थे ।

उनका भाई प्रकाश चन्द्र तिमसिनाले बीबीसीलाई टेलिफोन कुराकानीमा भने, ‘हामीले दाईको मृत्यु भइसकेको भन्ने ठानेका थियौँ । नेपालका हरेक ठाउँमा खोजिसकेका थियौँ तर उहाँको केही अत्तोपत्तो थिएन ।’

उनले भने, ‘उक्त समयमा दार्जिलिङमा गोरखाल्याण्ड आन्दोलन चलिरहेको थियो । हामीले सोही आन्दोलमा परेर दाईको मृत्यु भएको अनुमान लगाएका थियौँ । यति धेरै वर्षपछि दाईको बारेमा समाचार सुन्न पाइएला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।’

विचाराधीन मुद्दामा जेलमा रहेका दीपकलाई पश्चिम बंगालस्थित जेलमा राखियो । चार दशकसम्म पनि उनको विरुद्धमा सुनुवाई हुन सकेको थिएन । बुधबार उनको मुद्दामा उच्च अदालत कलकत्ताले उनलाई रिहा गर्ने आदेश दियो ।

यसरी रिहा भए दीपक…
४० वर्षसम्म दीपक जोशीको जीवन जेलमा बिताएपछि अघिल्लो महिना उनको जीवनमा अर्को मोड आयो । माओवादी संगठनसँग आवद्ध रहेको आरोपमा १० वर्ष पहिले जेल परेका राधेश्याम दास नन्दीग्रामबाट दमदम केन्द्रीय कारागार सारियो ।

उनी सन् २०१६ मा केही दिन दमदम जेलमा बसेका थिए । राधेश्याम दासले बीबीसीलाई भने, ‘अघिल्लो वर्ष फेब्रअरीमा मलाई दमदम कारागार लगिएको थियो । त्यही समयमा मैले दीपकलाई भेटेको थिएँ । पछिल्लो पटक भेट्दा दीपक मानसिक रुपमा अस्वस्थ थिए । उनको बारेमा बुझ्दै जाँदा उनी ४० वर्षदेखि जेलमा रहेको थाहा भयो । तर उनको मुद्दामा कुनै पनि सुनुवाई नभएको पत्ता लाग्यो ।’

जेलबाट जमानत पाएपछि राधेश्यामले पश्चिम बंगालमा रहेको एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे ।

रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वासले भने, ‘राधेश्यामले एक व्यक्ति बिनासुनुवाई ४० वर्षदेखि जेलमा बसेको बताए । हामीले जेलमा सम्पर्क गर्यौँ । जेलमा जाँचबुझ गरेपछि दिपक तिमसिना नामका एक कैदी १९८१ देखि विनासुनुवाई जेलमा रहेको खुल्यो ।’

अम्बरीश नाग विश्वास र उनका क्लबका अन्य व्यक्तिहरु मिलेर दिपक जोशीसँग भेट्ने अनुमति मागे । उनका परिवारका सदस्य नभएको कारण उनलाई भेट्न उच्च अदालत कोलकताका वकिलको साहारा लिइयो । वकिल हिरक सिन्हालाई भेटे । र, उनको मुद्दामा कारबाही अगाडि बढाइयो ।

हिरक सिन्हाले भने, ‘उनको मुद्दामा सम्बन्धित कागजपत्रहरुलाई चेकजाँच गर्दा उनी मानसिक रुपमा अस्वस्थ भन्ने जानकारी दिइएको थियो । तर, मैले उनीसँग कुराकानी गर्दा मानसिक रुपमा कुनै गडबढी रहेको आभाष गरिनँ । तर, उनी बिछिप्त भने थिए । मलाई राम्रोसँग नेपाली भाषा आउँदैन थियो । थोरै बातचितको क्रममा मैले उनको परिवार, आमाबुवा र अन्य ठेगानाहरु पत्ता लगाएँ ’

हत्याको आरोपमा पक्राउ परेका थिए दिपक
सन् १९८१ मा दार्जिलिङबाट हत्याको आरोपमा दिपकलाई पक्राउ गरिएको थियो । बीबीसीका अनुसार नेपालबाट गएपछि उनले दार्जिलिङको चिया बगानमा काम गरेका थिए । उनलाई एक व्यक्तिले जागिर मिलाइदिएको बदलामा एक व्यक्तिको हत्या गर्न लगाइएको थियो । पक्राउ परेपछि उनी ४० वर्षसम्म भारतका विभिन्न जेलहरु बहरमपुर जेल, अलीपुर जेल र मनोरोग चिकित्शालयमा व्यतित गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!