हिपमत डटकम

बिहिबार, फाल्गुण १३, २०७७ || 650  पटक पढिएको

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि राजनीतिक दलहरु नयाँ सरकार निर्माणको कसरतमा जुटेका छन् । प्रतिनिधिसभा विघटनको निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःस्थापित संसदबाट बिदाइ गर्ने रणनीति बनिरहेको छ । यसका लागि नेकपाको प्रचण्ड–नेपाल समूह, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक छलफल जारी छ ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले अन्तरपार्टी छलफलमा पनि तीव्रता दिइरहेका छन् । मङ्गलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणका लागि उनीहरुको दौडधुप चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय लिएपछि नेकपाका सांसद ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । सिंगो नेकपासँग सभामुखसहित १ सय ७३ सांसद थिए । त्यसमा सांसद सानु शिवाको निधन भइसकेको छ ।

यतिबेला नेकपाका १७२ सांसद मध्ये प्रचण्ड–नेपल समूहतिर ९१ र ओली समूहतिर ८१ जना भएको बुझिएको छ । यसमा वामदेव गौतमकी श्रीमती तुलसा गौतम तटस्थ छन् भने स्वतन्त्र सांसद छक्क बहादुर लामा प्रचण्ड–माधवमा खुलेका छन् ।

यद्यपि संसदीय दलमा आफूसँग बहुमत रहेको ओली समूहले दाबी गरिरहेको छ । नेकपाको यही अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल १ सय ३८ सांसद पुर्याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य जस्तै देखिएको छ । जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् ।

प्रतिनिधिसभामा ३४ सांसद रहेको जसपा पनि सत्ता समीकरणको मैदानमै छ । यही परिदृश्यका बीच बुधबार नेकपा अध्यक्ष प्रचण्ड र नेपाल काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने प्रचण्ड–नेपालसँग बताएका थिए । विहीबार प्रचण्ड–नेपालले जसपालाई पनि आगामी सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार बिहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्षद्वय प्रचण्ड र नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका थिए ।

प्रचण्ड–माधवको प्रस्तावमा सकारात्मक रहेका जसपा नेताहरूले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।

बुधबार सोही जवाफ दिएका काँग्रेस सभापति देउवाले पार्टीभित्र आन्तरिक छलफल अगाडि बढाएका छन् । बिहीबार विहान देउवाले पार्टीका आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । आजै सभापति देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक छ ।

केही नेताहरु काँग्रेस सरकारमा जान नहुने तर्क गरिरहेका छन् भने केही नेताहरु सरकारको नेतृत्व गर्नेपर्ने अवस्था आए पछाडि हट्न नहुने पक्षमा छन् । तर भावी प्रधानमन्त्री को भन्ने प्रश्न खडा भएको छ । प्रचण्ड–नेपाल पक्षले सार्वजनिक रुपमा देउवालाई प्रधानमन्त्री स्वीकारिने उद्घोष गरेका बेला काँग्रेसभित्र भने देउवाको विकल्प खोज्नुपर्ने चर्चा चल्न थालेको छ ।

काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देउवाले सरकारको नेतृत्व गर्ने नैतिक धरातल गुमाएको टिप्पणी गरेका छन् । कोइरालाले बुधबार सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री बन्दिनँ भनेर देउवाले घोषणा गर्नुपर्ने बताएका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध दृढतापूर्वक नउभिएका कारण देउवा जनताका बीच आशंकाको घेरामा रहेको उनको भनाइ थियो ।

तर, काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले कोइरालाको उक्त अभिव्यक्ति असान्दर्भिक भएको बताए । उनले भने, ‘ओलीको विकल्प नेकपाबाटै हुन्छ कि बाहिरबाट हुन्छ संसदीय अंकगणितले गर्छ । अहिले एक आपसमा लफडा गरेर हुन्छ ? सरकार निर्माणका विषयमा पार्टीमा आन्तरिक छलफलमा जानुपर्ने अवस्था नै आएको छैन । काँग्रेसले कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा असान्दर्भिक हुन्छ ।’

सरकारको नेतृत्व लिनु पर्ने अवस्था आए काँग्रेसले संस्थागत निर्णय गर्ने उनको भनाइ छ । ‘आज विहान सभापतिजीले आगामी रणनीति र संसदीय अंकगणितीय कस्तो होला भन्ने विषयमा छलफल गर्नु भएको हो । नेकपाको दुवै पक्षले सहकार्यका लागि भनिरहेका छन् । कसरी अगाडि बढ्ने हो भन्नेबारे राय लिन खोज्नु भएको हो,’ साउदले भने, ‘मान्छेहरु आ–आफ्नो धारणा राख्छ । काँग्रेस सत्तामा जान हतारिएको छैन । सरकार नै बन्न सकेन भने मात्र काँग्रेस सरकारमा जान्छ ।’

यस्तै काँग्रेस नेता प्रकाशमान सिंहले देउवाको विकल्प खोज्नबारे नेताहरुको भाषणा मात्र भएको बताए । ‘म ठीक समयमा ठीक निर्णय लिन्छु । म अरु जस्तो भाषण गर्दिनँ । भाषण गर्दैमा के हुने हो र ? लोकप्रिय हुन आवश्यकताभन्दा बढी म बोल्दिनँ । म स्थापित मान्छे हुँ । जसलाई स्थापित हुनुछ उसैले हो हाइपोथेटिकल भाषण गर्ने ।’

पार्टीभित्र देउवाको विकल्पका लागि परिस्थितिले माग गरेको अवस्थामा आफू पछि पनि नहट्ने सिंहको भनाइ छ । गत निर्वाचनपछि संसदीय दलमा देउवाविरुद्ध खडा भएका सिंहले भने, ‘परिस्थितिले माग गरेको अवस्थामा म कहिले पनि पछि हटेको छैन । अब पनि हट्दिनँ ।’

काँग्रेसले पनि संसदको अवस्था अनुसार आवश्यक निर्णय लिने उनले बताए । ‘संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी हो । संसदको अवस्था अनुसार आवश्यक निर्णय लिनुपर्छ । पुनःस्थापित संसदलाई जनहितमा थप केन्द्रित बनाउन काँग्रेसको जोड रहन्छ,’ सिंहले भने ।

नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भए अवस्था हेरेर निर्णय लिने उनको भनाइ छ । सिंहले भने, ‘अहिले पिक्चर क्लियर भएको छैन । नेकपा विभाजित भएको छैन । नेकपाको संसदीय दल छ । संसदले त्यो दललाई चिन्छ । यो समूह–समूह भनेको आन्तरिक कुरा भयो । वैधानिक रुपमा प्रक्रिया अगाडि बढेको छैन । वैधानिक बाटोबाट अगाडि नबढेसम्म जनताको म्यान्डेट नेकपालाई नै छ । नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भए अवस्था हेरेर निर्णय हुन्छ ।’

 

काँग्रेसमा देउवाको विकल्प कति सम्भव ?

काँग्रेसले सरकारको नेतृत्व गर्न अवस्था आए र देउवाको विकल्पमा काँग्रेसमा दुई जनाको अनुहार देखिन्छ । ०७४ को चुनावमा अधिकांश शीर्ष नेता पराजित भएकाले महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई देउवाको विकल्पमा रुपमा हेरिने गरेको छ । सांसद रहेका शीर्ष नेतामध्ये विजय गच्छदार ललिता निवास प्रकरणमा मुछिएकाले रिङभन्दा बाहिर छन् । सिंह यसअघि नै देउवासँग पराजित भएका थिए ।

यतिबेला संस्थापन इतरबाट देउवाविरुद्ध खडा नेताहरुका रुपमा कोइराला र सिंहलाई लिइन्छ । तर पाँचौं पटक प्रधानमन्त्री हुने सपना बुनिरहेका देउवालाई अहिलेको अवस्थामा उनीहरुले विस्थापित गर्नु फलामको चिउरा चपाउन सरह देखिन्छ । किनभने केन्द्रीय कार्यसमिति र संसदीय दलमा देउवाको पल्लाभारी छ । केन्द्रीय समितिमा १०४ जना केन्द्रीय सदस्य र २३ जना आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् । काँग्रेस केन्द्रीय समितिको आकार १२७ सदस्यीय छ ।

१३ औं महाधिवेशनबाट आएका ८५ र योबीचमा विभिन्न पार्टीबाट काँग्रेस प्रवेश गरेका १९ जना गरी १०४ जना केन्द्रीय समितिमा छन् । त्यसमध्ये वरिष्ठ नेता राचन्द्र पौडेल पक्षमा २७ जना रहेका छन् भने नेता कृष्णप्रसाद सिटौलाको पक्षमा ५ जना छन् । नवप्रवेशी उपसभापति विजयकुमार गच्छदार र सह–महामन्त्री सुनिल थापा समूहका केन्द्रीय सदस्यहरु देउवाप्रति नै बफादार देखिएका छन् । अन्य केन्द्रीय सदस्यहरु पनि देउवाप्रति नै लोयल देखिएका छन् । देउवाविरुद्ध मोर्चाबन्दीमा अहिलेसम्म खुलेको पाइँदैन । यसरी हेर्दा केन्द्रीय समितिमा देउवाको विपक्षमा ३२ जना मात्र रहेको अवस्था छ । यसबाट बुझ्न सकिन्छ केन्द्रीय समितिबाट देउवाविरुद्ध निर्णय हुने सम्भावना छैन ।

संसदीय दलमा पनि देउवालाई काउन्टर दिन संस्थापन इतरसँग सामर्थ्य छैन । ६३ सदस्यीय संसदीय दलमा यसअघि देउवाले ४४ भोट पाएका थिए । यतिबेला सांसद विजय गच्छदार र अफ्ताव आलमको संसद पद निलम्बनमा छ । उनीहरु दुई जनामध्ये गच्छेदारले देउवा र आलमले सिंहलाई मत दिएका थिए । ६१ जनामा पहिले पाएको मतलाई हेर्दा देउवा ४३ र सिंहको १८ को अवस्था छ । तर ०७४ मा महामन्त्री शशांक कोइरालाबाट असहयोग भएको सिंहको भनाइ छ । इतर पक्षले सिंहको प्रस्तावमा शशांक र समर्थकमा गगन थापालाई बस्न भनेको थियो । शशांकले अरुचि देखाएपछि गगन पनि पछि हटेका थिए ।

सिंहलाई सिटौला समूहको सबै मत आएको थियो । सांसद उमाकान्त चौधरी र भीमसेनदास प्रधानले देउवालाई नै भोट दिएका थिए । सिंहको ठाउँमा शशांक खडा भए केही भोट बढाए पनि संसदीय दलको नेतामा पराजित गर्न कठिन देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!