हिपमत डटकम

शनिबार, माघ १७, २०७७ || 584  पटक पढिएको

शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी लिएको नेपाल प्रहरीबाट अवकाशप्राप्त धेरैजसो हाकिमले सुरक्षा प्रमुखको नाममा धनी मारवाडी, व्यापारी र केही व्यवसायीको पीएसओको भूमिका निभाएको देखिएको छ । अवकाशप्राप्त त्यस्ता हाकिमलाई प्रहरी संगठनले मासिक पेन्सन, सवारी साधन, सहयोगीलगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । सेवामा छँदा महत्वपूर्ण पदीय जिम्मेवारी पूरा गरेकाले गोपनीयतासमेत राख्नुपर्ने हुँदा ती सुविधा उपलब्ध गराइएको बताइन्छ । तर, एसपी, एसएसपी, डिआईजी र एआईजीसम्मका हाकिमहरूले लाजै नमानी ठूला व्यापारी र व्यवसायीको कम्पनीमा कार्यरत देखाउँदै मासिक तनखा बुझ्ने गरेको पाइएको छ । कोही त युएनको जागिरमा पनि छन् ।

जनआस्थालाई प्राप्त विवरणअनुसार भूतपूर्व एआईजी किरण गौतम, मोरङ्ग अटो वक्र्सको जागिरे हुन् । विष्णु अग्रवालको समस्या समाधान गर्ने ‘ट्रबल सुटर’ को रूपमा कार्यरत छन् । त्यसैगरी, डलर अर्बपति विनोद चौधरीको निम्ति एआईजी रमेशशेखर बज्राचार्य खटिएका थिए भने चौधरी ग्रुपबाट मासिक तलब बुझ्ने गरी डिआईजी भुवनचन्द्र भट्ट सेवारत छन् । राजेन्द्रबहादुर सिंह भने नर्भिक हस्पिटलको सिइओ छन् ।

उता, विशाल ग्रुपको सुरक्षा जिम्मेवारी एआईजी वीरेन्द्रबाबु श्रेष्ठले बोकेका छन् । केही समयअघि नक्कली स्टिकरको लफडामा लेबल (रेड, ब्ल्याक, गोल्ड, ब्लु) वाला विशाल ग्रुप मुछिएपछि साहुजीहरूलाई उपत्यका प्रहरीमा गरिएको केरकारबाट उम्काउन उनै श्रेष्ठ त्यहाँ पुगेका थिए । अवकाशपछि अन्यत्र जागिर खान जाने वरिष्ठ अधिकृतहरू नेपाल प्रहरीमा मात्र होइन, सशस्त्रका पनि थुप्रै रहेको बताइन्छ । स्रोतका अनुसार सशस्त्रका रिटायर्ड डिआईजी महेन्द्र भट्टचन एनसेलमा सेक्युरिटी डाइरेक्टरको रुपमा कार्यरत थिए, केही समयअघि त्यहाँबाट हटेका छन् । सशस्त्रकै एआईजी रोहित थापा क्यासिनो महाजोङ्गमा सुरक्षा प्रमुख थिए, उनले पनि अहिले त्यो जागिर छाडेका छन् । एआईजी खडानन्द चौधरीले भने पञ्चकन्या ग्रुप समातेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त एकजना डिआईजी भन्छन् ‘सिंह र भट्टबाहेक पदमा छँदा सबैजसो एउटा न एउटा काण्डमा आरोपित थिए । ती आरोप मूलतः ठूला व्यापारिक घराना र बिग हाउससँग जोडिएको थियो, ’ उनी भन्छन् ‘पदमा छँदा तिनै व्यापारीसँग मिलेर बदनाम भए, तर अवकाशपछि सबैलाई थाहा हुनेगरी उनैसँग घाँटी जोडेका छन् ।’

राज्यले पदीय मर्यादा राख्दै अवकाशप्राप्त जीवन व्यतित गर्न पेन्सनलगायतका सुविधा प्रदान गरेपनि केही पूर्ववरिष्ठ प्रहरी अधिकृतहरूको गतिविधिले संगठनको गोपनीयता र विश्वसनीयतामाथि नै आँच आएको धेरैले स्वीकारेका छन् । ती डीआईजीले पनि स्वीकार्दै भनेका छन् ‘मर्नैपर्ने अवस्था आएको खण्डमासमेत चुहाउन नहुने गोप्य कुरा त्यसरी गरिने साँठगाँठमा छताछुल्ल हुँदैन भन्ने ग्यारेण्टी कसले दिने ?’ तर, विभिन्न घराना, दूतावास र कर्पोरेट हाउसले लाखौंको तलब भत्तासहित पटक पटक ‘अफर’ गर्दा पनि घरमै गमलाको फूल गोडमेल गरेर आफ्नो र संगठनको शीर ठाडो पारिरहेका केही सेवा निवृत्त वरिष्ठ प्रहरी अधिकृतहरू पनि समाजमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!