हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 676  पटक पढिएको

सेना समायोजन प्रक्रियाप्रति असन्तुष्ट रहेको बहिर्गमित जनमुक्ति सेना नेपालले माघ १० लाई कालो दिन भनेको छ। माओवादी लडाकूहरुको प्रमाणीकरण,हतियार र लडाकूको अनुगमन तथा विवाद सहजिकरणको जिम्मा पाएको राष्ट्रसंघीय मिसन अनमिनले चार हजार भन्दा बढी जनमुक्ति सेनाका छापामारहरुलाई २०६७ साल माघ १० गते अयोग्य प्रमाणित गरेको थियो । त्यसको विरोधमा बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले माघ १० लाई कालो दिनका रुपमा मनाएको हो ।

यही दिन पारेर हिजो बाल लडाकूको रुपमा जेनेभा र बिदेशतिर प्रचारबाजी गर्दै हिंड्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका लेनिन बिष्टको टिमलाई हिजो प्रधानमन्त्रीले बालुवाटारमा भेटी पार्टी प्रवेश गराउनुभएको थियो ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने नाममा १० वर्षअघि माघ १० गते आफूहरुलाई अयोग्यताको बिल्ला भिराएको भन्दै त्यसको विरोधस्वरूप कालो दिन मनाइएको संघर्ष समितिले बताएको छ ।

‘शान्ति प्रक्रियाको नाममा जनमुक्ति सेना विघटन र जनमुक्ति सेना प्रमाणीकरण भन्दै अनमिनको रोहबरमा तत्कालीन नेपाल सरकार र नेकपा माओवादीले कसैलाई योग्य र कसैलाई योग्यताको कित्ताकाट गरेको त्रुटिपूर्ण सहमतिविरुद्ध जनमुक्ति सेनाको पहिचान स्थापित गर्दै अयोग्य भनिएका जनमुक्ति सेनालाई न्याय दिलाउन माघ १० लाई कालो दिन मनाऊँ’, बहिर्गमित जनमुक्ति सेनाको केन्द्रीय संघर्ष समितिले भनेको छ।

संघर्ष समितिले तत्कालीन सात दल र माओवादीको सत्ता लिप्साका कारण जनमुक्ति सेनालाई अपमानजनक ढंगले बहिर्गमनमा पारिएको दावी गरेको छ। जनमुक्ति सेनालाई षड्यन्त्रपूर्ण ढंगले विघटन गरिएको उनीहरुको आरोप छ ।
‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने बहानामा जनमुक्ति सेनाको षड्यन्त्रपूर्ण विघटन प्रक्रिया भयो । तत्कालीन एमालेका महासचिव माधव कुमार नेपाल प्रधानमन्त्री रहँदा जुन आश्वासनका साथ हामीलाई शिविरबाट निकालिएको थियो,तर विडम्बना आजसम्म हाम्रा मुद्धा र मागका विषयमा किन सबै मौन छन् ?’, उनीहरुले प्रश्न गरेका छन्।

बहिर्गमित जनमुक्ति सेनाले आजैका दिनलाई साक्षी राखेर पुन: विद्रोह गर्न अवस्था नबनोस् भन्दै चेतावनी पनि दिएको छ। ‘न्यायको पक्षमा लड्न आ-आफ्नो ठाउँबाट आन्दोलित हुन र माघ १० लाई कालो दिनका रुपमा मनाउन हार्दिक अपिल गर्दछौँ’,संघर्ष समितिले भनेको छ।
युद्धविराम आचारसंहिता जारी भइसकेपछि लडाकूमा भर्ना भएका र उमेर कम रहेका कारण ४ हजार ८ जना तत्कालीन जनमुक्ति सेनाका लडाकुहरुलाई अनमिनले अयोग्य ठहर गरेको थियो। यीमध्ये २ हजार ९ सय ७३ जना १८ वर्षमुनिका थिए ।1

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!