हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 590  पटक पढिएको

जिल्लाको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १० को खण्ड (क) ७ बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भिडियो खिच्ने र मिडियासम्म पुर्याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको शुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । अनुसन्धानका क्रममा भिडियो एक वर्ष पहिला नै खिचेको पाइएको पनि उनले बताए ।

तास खेल्ने, भिडियो बनाउने र भिडियो मिडियासम्म पुर्याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथहवामै झिकाएर कारवाही गरिएको इलाका प्रहरी कार्यालय बरथहवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

प्रहरीले बर्दी लगाएर तास खेलेकोे भिडियो आफूलाई पुस २१ गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायब उपरीक्षक भाटले छानबिन समिति बनाएर छानबिन गरे । उक्त तास खेलेको तथा भिडियो खिचिएको समयमा आफू सर्लाहीमा नै नभएको बताउँदै आएका प्रहरी नायब उपरीक्षक भाटले अनुसन्धानपछि भिडियो एक वर्ष पहिला नै तयार पारिएको र आफू त्यो समयमा सर्लाहीमा नआएको बताएका छन् ।

भिडियो एक वर्ष पहिलाकै रहेको साथै तास खेल्ने, हेर्नेमध्येका धेरैजसो प्रहरी कर्माचारी पहिले नै सरुवा भएर अन्यन्त्र गइसकेका र उनीहरुलाई आफ्नो कार्यालयमा झिकाएर कारवाही गरिएको उनको भनाई छ।

कारवाही पर्नेमा प्रहरी जवान मोहन थापा, अर्जुनकुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोषकुमार यादवको खाइपाइ आएको शुरुको तलबमा घटुवा गरिएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अरु दुई प्रहरी जवान सञ्जयकुमार साह र तिलबहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यलय लालबन्दीमा कार्यरत प्रहरी हवल्दार पुष्पजङ्ग कार्की र अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीमा कार्यरत प्रहरी जवान नवराज खड्कालाई पनि कारवाही गरिएको छ । उनीहरुबीच सवारी साधनलाई कारवाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो । उनीहरु दुवैलाई सख्त चेतावनीसहित २ नम्बर प्रदेश दङ्गा नियन्त्रण ढल्केवरमा कारवाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!