करीब २५ वर्षपछि नेपाल गण्डक (मुल) नहरको बृहत सरसफाई थालनी गरिएको छ । गण्डक बाँध सम्झौता अनुसार नेपाली भूभाग सिंचाई गर्न बनाईएको ३२ किलोमिटर लामो नेपाल गण्डक ( मुल ) नहरको बृहत सरसफाईको काम अहिले भईरहेको छ । यसअघि २०५२ सालमा नेपाल गण्डक नहरको बृहत सरसफाई गरिएको थियो ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश अन्तरगत पर्ने अन्तरप्रदेशीय नेपाल गण्डक नहर नवलपरासी पूर्व ( नवलपुरको ) बिनयी त्रिवेणी गाउँपालिका हुँदै नवलपरासी पश्चिमको सुस्ता, प्रतापपुर , सरावल र पाल्ही नन्दन गाउपालिकासम्म पुगेको छ ।
गण्डक सम्झौता अनुसार २०२४ सालमा निर्माण सुरु गरि २०३५ सालमा निर्माण सम्पन्न भई २०३६ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको नेपाल गण्डक नहर नेपालतर्फको १० हजार तीन सय हेक्टर जमिनमा सिंचाई गर्नेगरि निर्माण गरिएको हो । तर विभिन्न कारणले गर्दा नेपाली भूमिमा सिंचाईमा समस्या हुँदै आएको छ ।
जसमध्ये प्रमुख कारण नहरको सरसफाई नहुनु हो । स्थानीयबाट पटकपटक नहरको उचित सरसफाई हुन नसक्दा सिंचाईमा समस्या हुँदै आएको गुनासो गर्दै आएपनि यसअघि नहरको सरसफाई गर्नतर्फ चासो दिईएको थिएन ।
बर्तमान सरकारले बृहत सरकारी सिंचाई आयोजनाको पुनस्थापना तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम संञ्चालन गरेर देशका ठूला नहरहरु जुन जिर्ण अवस्थामा छन् । सामान्य मर्मसम्भार गरेर सञ्चालन गर्न गाह्रो हुने खालका सिंचाईका आयोजनाहरु पुनस्थापना गर्ने उदेश्यले एक अर्व २४ करोड बजेट स्विकृत गरेर काम अगाडि बढाएको छ । जस अन्तरगत गण्डकमा पनि काम सञ्चालन गरिएको नेपाल गण्डक पश्चिमी नहर सिंचाई कार्यालय सेमरीका प्रमुख रन्धीर कुमार शाहले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख शाहका अनुसार गत आर्थिक वर्षबाट काम सुरु गरिएको भए पनि कोभिडका कारण काम सातआठ महिना रोकिएको थियो । त्यसपछि सरसफाईको काम चलिरहेको छ । अहिलेसम्म नहरको शुन्यदेखि सात किलोमिटरसम्म सरसफाईको काम भएको छ । (मुल ) नहरको ३२ किलोमिटर पुरै सरसफाई गरि नहरको आफ्नो वास्तविक आकारमा ल्याउने गरि काम भईरहेको छ । ‘लामो समयसम्म सरसफाई नहुँदा नारायणी नदीबाट वालुवामाटो नहरमा भरिएको थियो । माटोलाई निकालेर नहरको वास्तविक आकारमा ल्याउने काम अहिले भईरहेको छ । ’ शाहले भन्नुभयो – ‘मुल नहरबाट निस्केका अन्य नहरी (ब्राञ्च र माईनर) को काम पनि भईरहेको छ । नहरीका मुख थुनिदा खेतबारीसम्म पानी पुगेको थिएन । त्यसैले मुखमा तिनचार सय मिटरजति पक्की बनाएपछि मुखमा पानी थुनिने समस्या समाधान हुन्छ , त्यसपछि किसानले आफैँ व्यवस्थापन गर्नुहुन्छ । ’
गण्डक सम्झौता अनुसार नारायणी (गण्डक) नदीदेखि पश्चिमी क्षेत्रको नेपाली भूमि सिंचाई गर्न एउटा नेपाल गण्डक (मुल) नहर र भारततर्फ लगिएको भारतीय गण्डक नहरबाट पिपरपाती – प्रसौनीमा अर्को नहर गरि दुई वटा नहर निर्माण गरिएको थियो । पिपरपाती – प्रसौनीमा पनि नहरको सरसफाई गर्ने काम भईरहेको छ । भने , ट्याक्टर , थ्रेसर मेसिन, कम्बाईन लगायतका कृषिका सामाग्री खेतबारीमा लैजान असहज भईरहेको हुँदा त्यस्ता ठाउँहरुमा साना पुल निर्माण गर्ने , बाटो मर्मत् गर्ने काम समेत भईरहेको कार्यालय प्रमुख शाहले बताउनुभयो ।
‘मुल नहरको नीन वटा गेटमध्ये एउटा गेट सुरुदेखि नै बन्द रहेको छ । उक्त गेट खोल्नका लागि पनि ठेक्का लगाएका छौँ । ठेकेदारहरु मोभिलाईज भएका छन् । अब त्यो काम पनि छिट्टै सुरु हुन्छ । ’ शाहले भन्नुभयो – ‘नारायणी नदीबाट नहरमा पानी सिधै प्रवेश गराउँदा वालुवामाटोले नहर पुरिने समस्या भईरहेने हुँदा वालुवा थिगार्ने संरचना पनि प्रस्ताव गरिएको छ । उक्त संरचनाको प्रस्ताव पास भई काम भयो भने , पोखरी जस्तो बनाएर वालुवामाटो थिगार्ने काम हुन्छ , जसले गर्दा नहरमा वालुवामाटो बगेर आउन पाउदैन् । ’ पाँच वर्षभित्र काम सम्पन्न गर्नेगरि सरकारले कार्यक्रम लागु गरेको शाहले जानकारी दिनुभयो ।
काम चलिरहँदा स्थानीयबाट केहि समस्या सृजना भएको शाहको भनाई छ । नहरको सरसफाई गर्दा सडकको पानी नहरमा गएर नहर नबिगारोस् भनि सडकको छेउछेउमा माटोले बाँध जस्तै ड्याम बनाईएको छ तर , ड्यामबाट स्थानीय रातिको समयमा ट्याक्टरमा नै माटो लोड गरि चोरेर लैजाने गरेको उहाँले बताउनुभयो । जसका कारण वर्षाको वेलामा समस्या सृजना हुने उहाँको भनाई छ ।
नेपाल गण्डक नहर लामो समयसम्म सरसफाई हुन नसक्दा किसानले नेपाली भूमिमा सिंचाई गर्न समस्या भोग्दै आएका थिए । माटोले नहरीका मुख थुनिदा खेतबारीमा पानी नै नजाने , वालुवामाटोले नहरको पानी सोस्ने लगायतका समस्याले किसान मर्कामा परेका थिए । अब भने यी समस्याबाट छुटकारा पाउनेमा यहाँका किसान आशावादी बनेको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो ।
नेपाल र भारत सरकार बिच बि. सं. २०१६ सालमा भएको २१ बुंदे गण्डक सम्झौता अन्र्तगत त्रिवेणी र भारत विहारको भैसालोटन बजार जोडने गरी ३६ ढोकाको ब्यारेज निर्माण गरियो । बिहार राज्यका लागि १४ हजार क्युसेक र उत्तरप्रदेश राज्यका लागि १८ हजार क्युसेक क्षमताको दुईवटा पक्कि नहर निर्माण गरि भारतको २७.३२ लाख एकड जमिन उक्त पानीबाट सिंचाई गर्ने गरि दुईपक्षिय सम्झौता भएको थियो भने, नेपालतर्फ नारायणी पश्चिम क्षेत्रको लागि ३ सय ६६ क्युसेक र पूर्वी क्षेत्रको लागि ८५० क्युसेक क्षमताको २ वटा कच्ची नहर निर्माण गर्ने सम्झौता भएको थियो ।