हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 539  पटक पढिएको

राष्ट्रपति डोनल्ड ट्रम्प चार वर्षसम्म अमेरिकी राजनीतिमा छाइरहे । उनको अगाडि कोही टिक्न सकेन र उनी चर्चामा छाइरहे । तर बुधबार अमेरिकी हाउस अफ रेप्रिजेन्टेटिभ्सद्वारा महाभियोग लगाएपछि वासिङ्टनका पत्रकारले ह्वाइट हाउसमा एक अचम्मको सन्नाटा छाएको बताएका छन् ।

ट्वीटर उनलाई मनपर्ने सोसल मिडिया प्लेटफर्म थियो जसमार्फत् राष्ट्रपतिले आफ्ना करोडौं समर्थकसँग सम्पर्क गरिरहन्थे । तर उनलाई यो प्लेटफर्मबाट निकालिएको छ । फेसबुक, युट्युब र इन्स्टाग्रामजस्ता प्लेटफर्मले पनि उनको अकाउन्ट निलम्बित गरिदिएको छ । उनका थुप्रै साथीहरुले उनको साथ छोडिदिएका छन् । राष्ट्रपति पदको शीर्ष स्थानमा पुगेर पनि उनी एक्लो महसुस गरिरहेका होलान् । उनको विरासत ध्वस्त हुँदै गएको भान हुन्छ ।

के यो उनको राजनीतिक भविष्यको अन्त्य हो ? उनको पछाडि पूर्ण दृढ विश्वासका साथ उभिएको रिपब्लिकन पार्टीले उनीबाट आफ्नो सम्बन्ध तोड्ने स्थितीमा आइपुगेको छ ? के उनी रिपब्लिकन पार्टीका लागि घाँटीको पासो बनेका छन् ? र सबैभन्दा महत्वपूर्ण, के रिपब्लिकन पार्टी यो सकंटबाट चाँडै नै बाहिर निस्कन सक्ला वा ट्रम्प अर्को चुनावमा पनि पार्टीको तर्फबाट राष्ट्रपति चुनावमा पनि उम्मेद्वार होलान् ?

राष्ट्रपति ट्रम्प २० जनवरीमा अमेरिकाका एक साधारण नागरिक हुनेछन् । यदि उनलाई अमेरिकी सिनेटमा हिंसा भड्काएको आरोपमा दोषी ठहर गरे उनीविरुद्ध दुई–तिहाई भोट खसेको खण्डमा उनले सन् २०२४ सम्म न त चुनाव लड्न सक्छन् न नै कुनै सरकारी पद हासिल गर्न सक्छन् । पूर्व राष्ट्रपतिलाई दिइने विशेषाधिकारबाट पनि उनी वञ्चित हुनेछन् ।

अमेरिकामा यी प्रश्नमाथि मानिसहरुको धारणा बाझिएको छ । राजनीतिक विश्लेषक बी.जे. रुदेल भन्छन्, ‘ट्रम्पको राजनीतिक निधनको अफवाह निकै बढाई–चढाई गरी फैलाइँदै छ ।’

६ जनवरीमा ट्रम्पका समर्थकद्वारा अमेरिकी संसदमा हमलापछि केही रिपब्लिकन पार्टीका नेता उनीविरुद्ध उत्रिएका छन् । हाउसका कम्तीमा १० सदस्यले उनीविरुद्ध भोट हालेका छन् ।

तर बी. जे रुदेलका अनुसार राष्ट्रपतिको राजनीतिको मृत्यु भएको भन्दै लेख्नु मूर्खता हुनेछ ।

उनी भन्छन्, ‘उदाहरणको रुपमा अघिल्लो वर्ष पत्रकार बब वुडवर्डले कोरोना महामारी कति घातक हुनसक्छ भन्ने कुरामा ट्रम्पको पनि सहमति भएको भन्ने जानकारी दिएपछि राष्ट्रपतिले उनलाई भ्रामक समाचार फैलाउने व्यक्ति भनेका थिए । त्यसपछि उनको लोकप्रियता ९२ प्रतिशतबाट बढेर ९४ प्रतिशतले वृद्धि भयो ।’

यस्तै, मुम्बईस्थित विदेश नीतिका थिङ्क ट्याङ्क गेटवे हाउससँग जोडिएका भारतका पूर्व कूटनीतिज्ञ राजिव भाटियाका अनुसार राष्ट्रपति ट्रम्प र उनको पार्टीको विषयमा हाल अनिश्चितताको स्थिती छ ।

बीबीसीसँगको कुराकानीमा उनले पार्टीले कस्तो निर्णय लिन्छ, त्यसमा नै ट्रम्पको भविष्य निर्भर हुने बताएका छन् ।

उनी भन्छन्, ‘रिपब्लिकन पार्टीका मानिसहरु के चाहन्छन्, यो कुराले उनको भविष्य निर्धारण गर्छ । यो अहिले नै स्पष्ट छैन । एकातिर दलले एकता बनाएर ट्रम्पसँग जोडिइहने बताइएको छ भने अर्कोतिर उनीविरुद्ध सिनेटको ट्रायलमा आवश्यक पर्ने दुई तिहाई बहुमत हासिल गर्न नसकिने बताइएको छ । अर्कोतिर रिपब्लिकन पार्टी पनि दुई खेमामा बाँडिएको बताइएको छ । एउटा खेमा ट्रम्पसँग छन् भने अर्को खेमा उनको साथमा छैनन् । अब भोलि के हुनेछ, यसका लागि हामीले प्रतिक्षा गर्नुपर्छ ।’

अमेरिकी सिनेटमा १०० सदस्य हुन्छन् जसमा ५१ सदस्य डेमोक्रेटिक पार्टीका छन् भने ४९ रिपब्लिकन पार्टीका । सिनेटमा हुने मुद्दामा रिपब्लिकन पार्टीका १७ सदस्यले ट्रम्पविरुद्ध भोट दिनेछन्, त्यसपछि मात्रै दुई तिहाई बहुमत हासिल हुन सक्नेछ । मुद्दा अब २० जनवरी पछि नै सुरु हुन सक्छ जब ट्रम्प राष्ट्रपति पदबाट हटिसकेका हुनेछन् । राजीव भाटियाका अनुसार रिपब्लिकन पार्टीको आन्तरिक राजनीतिले कस्तो मोड लिन्छ, त्यसपछि मात्रै पार्टीले ट्रम्पलाई लिएर अघि बढ्छ वा उनलाई छोडिदिन्छ भन्ने निश्चित हुन्छ ।’

राजीव भाटियाका अनुसार दुई घटना यस्ता भएका छन् जुन ट्रम्प र रिपब्लिकन पार्टी दुबैका लागि नकारात्मक साबित भएको छ ।

उनी भन्छन्, ‘एउटा त ट्रम्पले चुनावको वैधताको विषयमा प्रश्न तेर्साइरहेका छन्, त्यो हरेक स्टेजमा खारेज भइरहन्छ, चुनावी अधिकारीको स्तरमा, राज्य सरकारको स्तरमा र अदालतको स्तरमा खारेज भइरहन्छ । र दोस्रो ६ जनवरीमा संसद भवनमा भएको हिंसाले उनको पार्टीलाई धक्का लाग्यो र ट्रम्पलाई पनि । यी दुई घटनाले रिपब्लिकन पार्टी र ट्रम्पलाई धक्का लागेको छ । ट्रम्प कार्यकालको अन्तिम हप्तामा दुई पटक महाभियोगको प्रस्ताव पारित हुने पहिलो राष्ट्रपति भए, ट्रम्पका लागि योभन्दा ठूलो बेइज्जती के हुनसक्छ ?’

राजनीतिक विश्लेषक भन्छन्, ‘राष्ट्रपति ट्रम्पको स्थिती यस्ता मुक्केबाज जस्ता छन् जसको कदम डगमगाइहेको छ । एउटा जोडदार मुक्का लागे उनी नक आउट हुनसक्छन् । तर थुप्रै मुक्काबाज यसरी नरम्रोसँग पिटाई खाएपछि पनि प्रतिस्पर्धा जित्न सक्छन् ।

यदि सिनेटले उनलाई चुनावमा भाग लिन प्रतिबन्ध नलगाए पनि यो निश्चित छ कि पार्टीभित्र उनको असर कम भएको छ । तर याद राख्नुपर्ने कुरा के छ भने पार्टीमा ६ जनवरी अघि उनको लोकप्रियता ८७ प्रतिशत थियो । यसबाहेक उनका समर्थकको संख्या करोडौंमा छ जसले उनीहरुको साथ छोड्ने छैनन् । यहाँ याद राख्नुपर्ने कुरा के छ भने उनले चुनावमा करिब साढे सात करोड भोट पाएका छन् ।

बी जे रुदेल भन्छन् कि उनका समर्थक उनका सच्चा भक्त हुन् र उनलाई यो विश्वास थियो कि ट्रम्पले नै चुनाव जित्नेछन् । उनीहरुले भविष्यमा पनि ट्रम्पलाई साथ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!