लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता ३० जुनमा सकिदैंछ । अर्थात्, सम्झौता सकिन ६ महिनाभन्दा कम समय बाँकी छ । अन्य क्लबका पदाधिकारीहरुसँग सम्झौताका लागि वैधानिक रुपमै वार्ताको गर्नेे मौका अब उनलाई मिलेको छ ।

आगामी सिजन बार्सिलोनासँगको मेस्सीको सम्झौता समाप्त भइसक्ने भएकाले अन्य क्लबले उनलाई आबद्ध गर्दा बार्सिलोनालाई कुनै रकम पनि बुझाउनुपर्ने छैन । म्यानचेस्टर सिटी, इन्टर मिलान र पेरिस सेन्ट जर्माइनले लामो समयदेखि मेस्सीलाई क्लबमा भित्र्याउन चाहेका थिए । यद्यपि, बार्सिलोनासँग सम्झौतामा बाँधिएकाले उनीहरुले खुलेर मेस्सीसँग प्रत्यक्ष रुपमा छलफल र बार्गेनिङ गर्न पाउने अवस्था थिएन ।

हुनत गत वर्षको सिजन समाप्त भएपछि क्लब छाड्न पाउने एउटा प्रावधान पनि मेस्सी र बार्सिलोनाबीचको सम्झौतापत्रमा उल्लेख थियो । तर, कोरोना भाइरसका कारण सिजन लम्बियो र मेस्सीले सिजनका सबै खेल समाप्त भएपछि क्लब छाड्न चाहेको विषय जानकारी गराए । यस विषयलाई क्लबले स्विकारेन । मेस्सीसँग या त क्लबमै बस्ने या कानूनी लडाइँमा जाने विकल्प थियो । तर, आफ्नो बाल्यकालदेखिको क्लबविरुद्ध कानूनी लडाइँ नलड्ने भन्दै उनले बार्सिलोनामा बस्ने निर्णय लिए ।

त्यसपछि मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौता भएको छैन । पुरानो सम्झौताअनुसार ३० जुनमा सकिने भएकाले अब उनी नयाँ क्लबका प्रतिनिधिसँग भेट्न र स्थानान्तरणबारे छलफल गर्न स्वतन्त्र भएका हुन् । ३३ वर्षीय मेस्सीले ६ पटक बेलोन डि ओरको उपाधि जितिसकेका छन् ।

सन् २००१ मा बार्सिलोनाको युवा टोलीमा आबद्ध भएका मेस्सीले २००५ मा सिनियर टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले च्याम्पियन्स लिग, ला–लिगा, कोपा डेल रे, क्लब विश्वकपलगायत प्रमुख प्रतियोगितासहित ३० भन्दा धेरै उपाधि जितिसकेका छन् ।

अझै अनिर्णित

नियमअनुसार अब अन्य क्लबसँग छलफल अघि बढाउन पाउने भएपनि मेस्सी अझै चुप रहने देखिएको छ । २४ जनवरीमा बार्सिलोनाको अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ र उम्मेदवारहरुले मेस्सीलाई क्लबमा राख्ने विषयलाई नै प्रमुख मुद्दा बनाएका छन् । त्यसैले, त्यतिबेलासम्म मेस्सी चुप रहने देखिएको छ । यद्यपी, बार्सिलोनाको अहिलेको प्रदर्शनलाई लिएर भने मेस्सी सन्तुष्ट छैनन् ।

गत सिजन बार्सिलोनाले कुनै उपाधि जित्न सकेन । यस सिजन ला–लिगामा शीर्ष स्थानको एथलेटिको म्याड्रिडभन्दा बार्सिलोना १० अंकले पछि छ । बार्सिलोना छैटौं स्थानमै सिमित छ । मेस्सीले क्लबमा डेब्यु गरेदेखि नै बार्सिलोनाले ला–लिगा उपाधिका लागि चुनौती पेश गरिरह्यो र धेरैपटक उपाधि जित्यो । तर, यसपटक च्याम्पियन्स लिगमा छनोट हुनका लागि शीर्ष चारभित्र पर्न बार्सिलोनाले चुनौती पेश गर्नुपरेको छ ।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबलाई राम्रो नतिजा दिलाउन सकेका छैनन् । त्यसैले पक्कै पनि मेस्सी खुसी छैनन् । त्यस्तै, एकातर्फ बार्सिलोना आफ्ना खेलाडीहरुको तलब कम गर्नुपर्ने दबाबमा छ भने अर्कोतर्फ मेस्सीलाई अन्य क्लबहरुबाट मोटो रकमको आकर्षक प्रस्ताव आइरहेको छ । तत्कालका लागि चुप लागेपनि मेस्सीले चाहेमा कानूनी रुपमा अन्य क्लबका पदाधिकारीहरुसँग सम्झौताका वार्ताको टेबुलमा बस्न उनलाई कसैले रोक्नेछैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!