शुक्रबार, माघ १०, २०७६ || 965  पटक पढिएको

हिपमत डटकम , विराटनगर, १० माघ उद्योगी र सरोकारवालाबीच औद्योगिक उत्पादन लागत घटाउने विषयमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ र वातावरण तथा आर्थिक विकास समाज (सिड) नेपालले बिहीबार आयोजना गरेको कार्यक्रममा उद्योगी र सरोकारवालाबीच औद्योगिक उत्पादन लागत घटाउनेसँगै जोखिम न्यूनीकरणका विषयमा छलफल भएको हो । कार्यक्षेत्रमा सुरक्षा, इन्धन–ऊर्जाको मितव्ययिता, वातावरणमा कम असर पार्ने खालका गतिविधि अपनाउँदा औद्योगिक उत्पादनको लागत घट्ने र जोखिम न्यूनीकरण हुने उनीहरूको जोड थियो ।
कार्यक्रममा महासंघका प्रदेश–१ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउतले वातावरणमा हुने असर कम गर्दै कामदारको सुरक्षामा पनि सुधार हुने बताए । राउतले भवन तथा निर्माणमा प्रयोग गरिने धातुका सामान उत्पादन गर्ने उद्योगहरूमा उपयुक्त साधन, दक्ष जनशक्ति र स्वच्छ उत्पादनमा जोड दिन कार्यक्रम सञ्चालनमा जानकारी गराए । यो कार्यक्रम मोरङ र सुनसरीका चारवटा उद्योगहरूमा लागू भएको राउतले बताए । उनका अनुसार हुलास वायर, मैनावती स्टिल, पायोनियर इलेक्ट्रो केबल र पशुपति आइरनमा लागू भएको छ । सम्बन्धित उद्योगहरूले परियोजनाअन्तर्गतको कार्यक्रम लागू गर्दा उपलब्धिमूलक भएको अनुभव गरेको उनको भनाइ थियो । उद्योगहरूमा उत्पादनका क्रममा निस्कने सबै किसिमका खेर जाने वस्तुहरूको व्यवस्थापन, प्रदूषण नियन्त्रण र कार्यस्थलमा हुनसक्ने दुर्घटना कम गर्दै उत्पादकत्व वृद्धि गर्ने उपायहरू अपनाउनुपर्ने पक्षमा परियोजनाले सघाएको राउतले बताए । सिड नेपालका कार्यकारी निर्देशक अमरबहादुर मानन्धरले सबै पक्षको सहयोगका कारण कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे । यसैगरी परियोजनाका तर्फबाट स्टेफन मेलनिज्कीले विभिन्न उदाहरण दिँदै औद्योगिक क्षेत्रमा जोखिम कम गरी वातावरणमा नकारात्मक असर पर्न नदिन विभिन्न उपाय अपनाउन सकिने बताइन् ।
धातुजन्य उद्योगहरूमा कामदारको सुरक्षा एवं जोखिम कम गर्ने उपायबारे छलफल गरिएको थियो । यस्ता उद्योगहरूले औद्यौगिक सुरक्षामा जोड दिँदै वातावरणमा कम असर गर्ने खालका प्रविधि अपनाउनुपर्ने सहभागीले बताएका थिए । प्रदेश सरकारका वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले औद्योगिक उत्पादन गर्दा वातावरणमा कम असर गर्ने खालका प्रविधि अपनाउनपर्नेमा जोड दिए । उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै विश्वासले त्यस्तो फोहोर उपयोग गरेर आर्जन गर्न सकिनेसमेत बताए ।
हुलास वायरका तर्फबाट बोल्दै सञ्जीव झाले परियोजनाको कार्यक्रममा आवद्ध भएपछि उद्योगलाई फाइदा भएको प्रस्ट पारे । चार वर्षयता कार्यक्रमअनुसारका विभिन्न उपाय अपनाएर उद्योगमा सुरक्षाको वातावरण बनाइएको साथै लागत कम हुने खालका प्रविधि उपयोग गरिएको उनको भनाइ थियो । यसैगरी पशुपति आइरनका दिनेश खड्गीले इन्धन बचत र ऊर्जा कम खपत गरी मितव्ययी रूपमा काम गर्ने उपाय अपनाउँदा उत्पादन लागत कम हुने गरेको अनुभव सुनाए । कार्यक्रम उपयोगी रहेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । यस्तै मैनावती स्टिल इन्डष्ट्रिजका टिसी गुप्ताले उद्योगमा जोखिम धेरै कम गर्न सकिन्छ भन्ने परियोजनाको उद्देश्यअनुसार व्यवहारमा लागू गर्दा फाइदाजनक भएको बताए । परियोजनाका अधिकृत दुर्गाबहादुर कारञ्जितले सरोकारवालाहरूसित सहकार्य गर्न आफूहरू उत्साही भएको उल्लेख गरे । साभार कारोबार दैनिक अनलाईन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!